करिब ६० परिवार मुसहर बस्ने करैयामा कालोपत्र सडक त बन्यो । तर, चर्पी बन्न सकेको छैन । भव्य मन्दिर पनि छ टोलमै । तर, सिंगो टोलले एउटा ट्युबेलको भर पर्नु परेको छ ।
What you should know
विराटनगर — विराटनगर महानगरसँगै साँधसीमाना जोडिने बूढीगंगा गाउँपालिका मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । बूढीगंगा–१ करैयाको मुसहर टोलका दिलचरण ऋषिदेव आरीको सहयोगमा हरियो बाँस कुट्याउँदै थिए ।
उनीसँगै काम गरिरहेका सुरेश ऋषिदेव आफ्नै लयमा बोले,‘के गर्नु हजुर काम नगरी खान पाइदैन । हामी गरिब–मजदुरलाई कसले पो हेर्छ र ।’ यो टोललाई अघिल्लो वर्षसम्म हिउँदमा धुलोले ड्याम्मै ढाक्थ्यो । वर्षायाममा हिलोले । वरपर सबैतिर पहिल्यै कालोपत्र भइसकेको थियो । तर, यो टोलको पालो बल्ल यसपाली आयो ।
घर अगाडि सडक कालोपत्र बनेर के फाइदा भो भन्ने कान्तिपुरको प्रश्न भूँइमा खस्न नपाउँदै काखमा बच्चा च्यापेर मुडामा टुसुक्क बसेकी शम्भाकुमारी ऋषिदेव हाँस्दै बोलिन्,‘पहिला हावाले धुलो उडाउँथ्यो अहिले गाडीले ।’
कालोपत्र बन्नुअघि यो बाटो हुँदै खासै सवारी गुड्दैनथे । जब कालोपत्र बन्यो सवारी बाक्लो गुड्न थाले । चिल्ला कारदेखि मोटरसाइकलसम्म । कहिलेकाँही त लामा–लामा भारतीय लहरी पनि यो टोल धुलाम्ये पार्दै कारखानातिर गुड्छन् । यो बाटो पूर्व–राजमार्गसम्मै जोडिन्छ । यहाँबाट सुन्दर हरैंचा नगरपालिकामा पर्ने गछियासम्म नै कालोपत्र सडकले छुन्छ ।
करिब ६० परिवार मुसहर बस्ने करैयामा कालोपत्र सडक त बन्यो । तर, चर्पी बन्न सकेको छैन । भव्य मन्दिर पनि छ टोलमै । तर, सिंगो टोलले एउटा ट्युबेलको भर पर्नु परेको छ ।
मुसहरहरु दिना–भद्रीलाई कुल देवता मान्छन् । उनीहरुको आस्थालाई कदर गर्दै एउटा राजनीतिक दलले भव्य पक्की मन्दिर बनाइदिएको छ । तर, चर्पी र खानेपानीको अभाव यहाँ कुनै नेताले अहिलेसम्म देखेको छैन। ‘हामीलाई बरु चर्पी र खानेपानीको धारा भए हुन्थ्यो’, हेमन्तीदेवी ऋषिदेवले भनिन्,‘मन्दिर भन्दा ठूलो कुरा त चर्पी र पानी थियो ।’
मुसहरहरु बस्ने यो टोलको जमीन उनीहरुको आफ्नो हैन । उनीहरु यो जमीन जंगल फँडानी गरेर आफ्ना पितापुर्खाले अर्जेको दाबी गर्छन् । तर, विराटनगरका मोहन कोइरालालगायतका जमीनदारले यो जमीन आफ्नो दाबी गर्दै आएका छन् । ‘मालिक आएर हामीलाई जमीन आजै छाड भोली नै छाड भनेर धम्क्याइरहनु हुन्छ’, पत्री ऋषिदेवले गुनासो पोखिन्,‘यो जमीन छाडेर हामी कता जाने ?’
उनीहरुलाई तुरुन्त जमीन छाडेर भारततिर जान पनि भनिन्छ । तर, उनीहरु अटेर गरेर बसिरहेका छन् । ‘वर्षौंदेखि बस्दै आएको जमीन छाडेर कहाँ जानु, के खानु ?’, ६० वर्षीय विसुन्या ऋषिदेवले भने,‘हामीलाई यहाँबाट उठीबास नगरियोस् सरकार ।’
जमीन नै उनीहरुको नाममा नभएपछि पूर्जा त हुने कुरै भएन । पूर्जा त छैन । अधिकांशको नागरिकता पनि छैन । केहीले चाहीँ पैसा तिरेर नागरिकता बनाएको सुनाए । ‘हाम्रा बावुबाजे यही जन्मिए, मरेर गए हामीलाई नेपाली भनेर पत्याइदैन’, विसुन्या जंगिए,‘हामी कहिलेसम्म अनागरिक भएर बाँच्नु हौ ? कहिलेसम्म भूमिहीन भएर बस्नु ?’
यो टोलमा दलका उम्मेदारहरु भोट माग्दै आउने क्रम सुरु भएको छ । यसपटक उम्मेदारलाई उनीहरुको साझा माग छ ‘जसले उठीबास गर्नबाट रोक्छ त्यसलाई भोट ।’
बूढीगंगा–४ गोकुवाका मुसहरहरुको हविगत पनि उस्तै छ । १६ घरधुरी गछिया सडकको ऐलानी जमीनमा वर्षौंदेखि बसोबास गरिरहेका छन् । तर, धनीपूर्जा पाएका छैनन् । स्थानीय ६० वर्षीय दर्शन ऋषिदेव भन्छन्,‘पूर्जा पनि छैन, नागरिकता पनि छैन ।’
पालिकाले गरिब तथा विपन्न परिवारका लागि पक्की घर बनाइदियो । तर, उनीहरुले पाएनन् । किनकि उनीहरुको आफ्नै नाममा जमीन थिएन । ‘जमीन भएको भए हामीले पनि पक्की घर पाउने थियौं,’ ५८ वर्षकी रीता ऋषिदेवले सुनाइन्,‘किस्ताबाट ऋण लिएर छाप्रो बनाएका छौं ।’
वडा नम्बर ४ की वडासदस्य चानुदेवी ऋषिदेवका अनुसार मुसहर परिवारको आफ्नो नाममा जमीन नहुँदा पक्की घरबाट बन्चित हुनु परेको सुनाइन् । ‘विपन्न र दलितका लागि दुई कोठे पक्की घर आएको थियो’, उनी भन्छिन्,‘हामीसँग जमीन थिएन, घर पाएनौं ।’
पालिकाले बन्द गर्यो मुसहर पढ्ने स्कुल
विराटनगरकै विकट मानिने बूढीगंगा गाउँपालिका १ खजराको मुसहर बस्तीमा समुदायमा आधारित दुई वटा बालविकास केन्द्र थिए । सिंघिया खोलाको किनारमा मनोकामना र वडा कार्यालय नजिकै थियो, दिपज्योति बालविकास केन्द्र । यहाँ तीन वर्ष माथि र पाँच वर्षमूनिका करिब ५० जना मुसहर बालबालिका पढ्थे । तर, विपन्न मुसहर पढ्ने केन्द्र गाउँपालिकाले बन्द गरेको छ ।
केन्द्र संचालनका लागि गाउँपालिकाले वार्षिक १० हजार रुपैयाँ मसलन्द खर्चको रुपमा उपलव्ध गराउँदै आएको थियो । शिक्षकको तलब शिक्षा विभागले नै उपलव्ध गर्थो । केन्द्र हटेपछि स्थानीय मुसहर समुदाय सबैभन्दा बढी बेखुसी देखिएका छन् । मनोकामना बालविकास केन्द्रकी अध्यक्ष विमला ऋषिदेवले केन्द्र नहुँदा साना नानीहरु प्रारम्भिक शिक्षाबाट बन्चित भएको बताइन् । उनी भन्छिन्,‘केन्द्र हटाइएपछि हाम्रा लालाबालाको सिक्ने हक नै खोसिएको छ ।’
यो बस्तीमा करिब ३० घरधुरी छन् । जनसंख्या एक सय हाराहारी छ । अभिभावक अधिकांश निरक्षर छन् । उनीहरुको चाहना आफ्ना लालाबालाले घर छेउमै पढ्न, लेख्न पाउन भन्ने छ । तत्कालीन गाविसले जिल्ला शिक्षा कार्यालय मोरङलाई अनुरोध गरेपछि २०६५ पुसदेखि समुदायमा आधारित शिक्षा अर्न्तगत बालविकास केन्द्र संचालन गरिएको थियो ।
खासगरी अति विपन्न र सीमान्तकृत मुसहर समुदायका बालबालिकामा शिक्षाको पहुँच बढाउने उद्देश्य राखेर संचालित दुवै केन्द्र लामो समयदेखि सरकारी बेवास्ताबाट गुज्रिएका थिए। विगतमा सिघिंया खोला छेउको खापटोल मुसहर बस्तीस्थित केन्द्रको आफ्नै भवन थिएन । निमको फेदमा बालवालिकालाई पढाइन्थ्यो ।
मुसहर बालबालिकाले पढ्न नपाएको दुःख थाहा पाएपछि माइती नेपालले २०७३ मा एक कोठे जस्ताको छानो भएको भवन निर्माण गरिदियो । सँगै पंखा, दराज, कुर्सीलगायत जिन्सी सामान पनि सहयोग गर्यो । त्यसले विद्यार्थीको सिकाइमा सहजता थपेको थियो । बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले बालविकास केन्द्रका धेरैजसो बच्चा स्कुल नै जान थालिसकेको भन्ने शिक्षा शाखाको रिपोर्टका आधारमा अघिल्लो शैक्षिक सत्रदेखि केन्द्र बन्द गराइएको जनाए ।
