रास्वपाको भैरहवामा शनिबार तयारी गरिएको चुनावी सभा अचानक स्थगित

संगठनात्मक प्राथमिकता निर्धारण रणनैतिक व्यवस्थापनलगायतका कारण सभा स्थगित गरिएको दाबी

फाल्गुन ८, २०८२

घनश्याम गौतम

Rashtriya Swayamsevak Sangh (RSS) election rally planned for Saturday in Bhairahawa has been abruptly postponed.

What you should know

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार रूपन्देहीको भैरहवामा गर्ने भनेको चुनावी सभा अचानक स्थगित गरेको छ । तर, दाङमा शुक्रबारको भेला भने जारी छ ।

रास्वपाले बिहीबार पत्रकार सम्मेलन गर्दै शनिबार भैरहवाको अञ्चलपुरमा रहेको प्रदर्शनी स्थलमा गरिने परिवर्तन उद्घोष सभामा साविकको लुम्बिनी अञ्चलको ६ जिल्लाका नेता कार्यकर्तासहित १ लाख जनाको उपस्थिती रहने जनाएको थियो । भेलामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र ६ वटै जिल्लाका रास्वपाका ऊमेदवारले सम्बोधन गर्ने कार्यक्रमको तयारी थियो । 

शुत्रबार केन्द्रीय समितिका उपसभापति डोलप्रसाद अर्यालले परिवर्तन उद्घोष कार्यक्रम स्थगित गरिएको जानकारी गराएको रास्वाप केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरेले बताए । केन्द्रबाट पठाइएको पत्रमा ‘संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापनलगायतका विशेष कारण ऊक्त कार्यत्रम हालका लागि स्थगित गर्ने निर्णय गरिएको’ उल्लेख छ । ‘सम्भवत भैरहवामा कुनै ठूला सभा हुँदैनन्,’ घिमिरेले भने, ‘अब स्थानीय स्तरबाटै चुनावी सभा र घरदैलो अभियानमै केन्द्रीत हुन्छौं ।’

रास्वपाको शुक्रबार दाङमा चुनावी सभा जारी छ । त्यसमा सहभागी हुन बिहीबार सुर्खेतबाट सभापति लामिछाने र वरिष्ठ नेता शाह आउने कार्यक्रम थियो । दुवै नेताको स्वागतका लागि बसेका रास्वपा कार्यकर्ताले बिहीबार राति दाङमा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएका थिए । एमालेले त्यसको केन्द्रदेखि जिल्लासम्म कडा प्रतिवाद गरिरहेको छ । त्यसको असर रूपन्देही सभामा देखिनसक्ने जोखिम भएकाले केन्द्रदेखि नै सभा स्थगितको निर्णय भएको स्थानीय एक नेताले बताए ।  

रास्वपाले लुम्बिनी प्रदेशको दाङको सभालाई शुक्रबार सम्बोधन गरेर रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता शाह भैरहवाको सभालाई सम्बोधन गर्न आइपुग्ने तालिका बनाएको थियो । तर, वरिष्ठ नेता शाह अस्वस्थ भएको भन्दै बिहीबार सुर्खेतको सभाबाटै काठमाडौं फर्किएका छन् ।   

५ निर्वाचन क्षेत्र रहेको रूपन्देहीका ३ निर्वाचन क्षेत्रमा वरिष्ठ नेता शाहनिकट उम्मेदवार छन् । त्यसैले यसअघि पनि शाह र लामिछाने दुवै जनाले यस क्षेत्रमा ग्रामीण क्षेत्रको भ्रमण गरेका थिए । दुवै नेताले आफ्ना उमेदवार बिजयी गराउने आन्तरिक प्रयाससँगै सामूहिक सन्देश दिनका लागि पनि भैरहवामा सभा आयोजना गरिएको भए पनि अन्तिम समयमा अस्वभाविक तरिकाले सभा स्थगित गरिएको रास्वपाले जनाएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully