स्थानीय जनताको स्वागत र मायाले आफूलाई जनताको सेवा गर्न थप प्रेरित गरेको उम्मेदवार तामाङको भनाइ छ ।
What you should know
नुवाकोट — नेपाली कम्युनिस्ट पार्टीबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकास र समृद्धिको सारथि बन्ने चाहना रहेको बताएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा शुक्रबार जिल्लाको सूर्यगढी गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार तामाङले उक्त धारणा राखेका हुन् । पूर्वमन्त्री तामाङले नुवाकोटको अधुरा विकासका योजनाहरु पूरा गराउनका लागि आफूलाई मत दिन जनतालाई आग्रह गरे । उनले भने, 'नुवाकोटको अधुरा विकासका योजनाहरू पूरा गर्न र यहाँको कृषि, पर्यटन तथा पूर्वाधारको विकासका लागि म सधैं कटिबद्ध रहनेछु । तपाईँहरूले मत दिनु होला ।'
स्थानीय जनताको स्वागत र मायाले आफूलाई जनताको सेवा गर्न थप प्रेरित गरेको उनको भनाइ छ । 'तपाईँहरूको यो अपार माया र भरोसा नै मेरो राजनीतिक जीवनको मुख्य पुँजी हो,' उनले भने, 'आम मतदाता, अग्रज र युवा साथीहरूले देखाउनुभएको यो साथले मलाई अझ दृढ र ऊर्जावान बनेर जनताको सेवामा लाग्न प्रेरित गरेको छ । म यो विश्वासलाई कहिल्यै टुट्न दिने छैन ।'
शुक्रबार बिहान सूर्यगढीको धोवीखोलाबाट सुरु भएको घरदैलो अभियान सलिनडाँडा, सेमराङ, काउले, बुलबुले र सोलामाने हुँदै लच्याङ छापसम्म पुगेको प्रचारप्रसार समितिका संयोजक सुशील सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार उम्मेदवार तामाङले सूर्यगढी–२ को बेहोरे भन्ज्याङ, सूर्यगढी–१ को डिठास्वाँरा, सानुभोर्ले र सूर्यगढी–२ कै कुवापानीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन् ।
भेटघाटका क्रममा स्थानीय बासिन्दाले मुख्यगरी सडकको स्तरोन्नति, सिंचाइ सुविधा र युवा स्वरोजगारका मुद्दाहरू उठाएका थिए । उम्मेदवार तामाङले ती समस्यालाई आफ्नो प्राथमिकताको सूचीमा राख्ने प्रतिबद्धता जनाएका संयोजक ठकुरीले बताए । तामाङ नुवाकोट-१ बाटै यसअघि दुई पटक लगातार निर्वाचित भएका थिए ।
