झण्डा जलाउने काममा संलग्न रास्वपा कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न एमाले दाङले माग गरेको छ ।
What you should know
दाङ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वागत गर्न बसेका व्यक्तिहरुले बिहीबार बेलुका तुलसीपुरमा एमालेको झण्डा जलाएको विषयमा आलोचना भएको छ ।
शुक्रबार रास्वपाले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न लामिछाने बिहीबार सुर्खेतबाट घोराही आउने क्रममा तुलसीपुरमा स्वागतका लागि बसेका कार्यकर्ताले एमालेकाे झण्डा जलाएका थिए ।
केपी ओलीविरुद्ध नाराबाजी गर्दै उनीहरुले एमालेको सूर्य अंकित झण्डा जलाएका हुन् । झण्डा जलाउने काममा संलग्न रास्वपा कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न एमाले दाङले मागगरेको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यले शुक्रबार विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
यसैगरी एमाले निकट युवा संघका लुम्बिनी प्रदेश संयोजक सन्तोष वलीले निकालेको विज्ञप्तीमा घटनाका दोषीलाई तत्काल कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अन्य राजनीतिक दलका नेताहरुले पनि झण्डा जलाउनेकार्यको भर्त्सना गरेका छन् । बहुदलीय प्रतिस्पर्धामा अर्को पार्टीको झण्डा जलाउने, चुनावी अभियानमा अवरोध गर्ने कार्य आपत्तिजनक भएको उनीहरुले बताएका छन् ।
युवा संघले शुक्रबार झण्डा जलाउने कार्यको बिरोधमा घोराहीमा प्रदर्शन गरेको छ । उनीहरुले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कार्वाही गर्न उनीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विनय घिमिरेले भने झण्डा जलाउने काममा गलत व्यक्तिहरुको घुसपैठ भएको दाबी गरेका छन् । शुक्रबार विज्ञप्ती जारी गर्दै उनले अनावश्यक व्यक्तिहरुले पार्टीको बद्नाम गराउन झण्डा जलाएको बताएका छन् ।
