गठबन्धनको दूषित राजनीति गर्दैनौं, विगतका त्रुटिलाई सच्याउँछौं :  सभापति थापा  

सभापति गगन थापाले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने घोषणा गरेका छन् ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

We will not engage in corrupt coalition politics, we will correct past mistakes: Speaker Thapa

काठमाडौं — कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् । प्रतिज्ञापत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने वेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए ।

‘बदलिएर आएको कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ,’  उनले भने,  ‘हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।’

सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उनको प्रतिज्ञा छ । 

‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन हुन दिदैनौँ । यो बदलिएको कांग्रेसको संकल्प हो,’ सभापति थापाले भने । 

उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाएका छन् ।

कान्तिपुर

Link copied successfully