६ लाख ६७ हजार संगठित सदस्यलाई घरघर खटाउने एमालेको निर्णय

जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिको आरोप खेपिरहेको एमालेले २०७९ को जनादेश जोगाउने रणनीति अघि सारेको हो ।

फाल्गुन ७, २०८२

गंगा बीसी

UML decides to deploy 667,000 organized members to their homes

What you should know

काठमाडौँ — एमाले र नेकपाले ‘२०७९ को जनादेश जोगाएर अघि बढ्ने’ रणनीति लिएका छन् । २०७९ को निर्वाचनमा एमाले दोस्रो र तत्कालीन माओवादी तेस्रो भएका थिए । अघिल्लो जनादेश जोगाउन यी दुई पार्टीले अन्तिम रणनीति तयार गर्नेदेखि घरदैलो कार्यक्रममा संगठित सदस्य खटाउने र सभाभन्दा मतदातालाई प्रत्यक्ष भेट्न जोड दिएका हुन् ।

जेन–जी आन्दोलनअघि सरकारको नेतृत्व गरेको एमाले आसन्न निर्वाचनप्रति असहमत हुँदाहुँदै प्रतिस्पर्धामा उत्रिएको छ । जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिको आरोप खेपिरहेको एमालेले २०७९ को जनादेश जोगाउने रणनीति अघि सारेको हो । प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ को घरदैलो कार्यक्रम छाडेर बिहीबार काठमाडौं फर्कंदै छन् । बिहीबार पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक गरेपछि उनी फेरि आफ्नै निर्वाचन क्षेत्रमा फर्कनेछन् । काठमाडौं फर्केको बेला उनले केन्द्रीय सचिवालयको बैठक गरी निर्वाचनको अन्तिम रणनीति बनाउन लागेका हुन् ।

सत्ताको खेलमा दायाँबायाँ फर्कने नीति लिँदै आएको नेकपा पनि यो निर्वाचनमा पछिल्लो जनादेश जोगाउने लक्ष्यसहित निर्वाचन अभियानमा लागेको छ । नेकपा संयोजक पुष्पकमल दाहाल आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वका दुर्गमबस्तीका घरदैलो एकसरो सकेर बिहीबार काठमाडौं फर्कंदै छन् । निर्वाचन केन्द्रीय परिचालन समितिको संयोजकसमेत रहेका उनी पार्टीको अन्तिम रणनीति तय गर्न काठमाडौं फर्कन लागेका हुन् । 

प्रतिनिधिसभाको यो निर्वाचनमा नयाँ दलको लहर देखिएका कारण पुराना दललाई कडा चुनौती छ । त्यो चुनौती चिर्न एमाले र नेकपा अन्तिम रणनीतिमा लागेका छन् । विगतमा सहजै जित्दै आएका एमाले अध्यक्ष ओलीलाई चुनौती दिन रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ पुगेका छन् । त्यसकारण ओली आफ्नो निर्वाचन क्षेत्रमा बढी केन्द्रित भएका छन् । 

एमालेका केन्द्रीय पदाधिकारीसहित अन्य उम्मेदवार चुनाव जित्न संघर्ष गरिरहेका छन् । सोही कारण एमालेले वडा र टोलहरूमा संगठित सदस्य परिचालन गरी कम्तीमा पुरानो जनादेश जोगाउने आन्तरिक अभियान सुरु गरेको हो । ‘आफ्ना मतदाताको घरघर गएर सूर्यमै मतदान गर्न आग्रह गर्ने’ अभियान लिएर संगठित सदस्यहरू खटिरहेको एमालेले जनाएको छ । 

२०७९ को निर्वाचनमा एमालेलाई मत हालेका परिवार पहिचान गरी यस पटक आफ्नो मत सुरक्षित गर्ने अभियानमा संगठित सदस्यलाई खटाएको छ । संगठित सदस्यले एमालेलाई चौतर्फी घेराबन्दी भइरहेकाले मत जोगाउन मतदातालाई ‘कन्भिन्स’ गरिरहेको एमालेको भनाइ छ । मंसिर तेस्रो साता भएको एमालेको ११औं महाधिवेशनमा ६ लाख ६७ हजार १ सय १४ ले सदस्यता नवीकरण गरेका थिए । हरेक संगठित सदस्यले एमालेलाई मत दिएका कम्तीमा ५० मतदाता भेटेर दायाँबायाँ नगर्न आग्रह गरिरहेको एमालेको भनाइ छ ।

‘हामी आफ्नो जनमतलाई सुरक्षित गर्ने अभियानमा छौं,’ प्रचार विभाग संयोजक मीनबहादुर शाहीले बताए, ‘एमालेलाई चौतर्फी घेराबन्दी भए पनि हामी दृढ संकल्पका साथ निर्वाचन अभियानमा छौं ।’ २०७९ को निर्वाचनमा एमालेले सबैभन्दा धेरै समानुपातिक मत पाएको थियो । प्रत्यक्षमा भने दोस्रो भएको थियो । एमालेले समानुपातिकमा २७ लाख ९१ हजार सात सय ३४ ल्याएको थियो । यो कांग्रेसको भन्दा धेरै हो । 

कांग्रेस प्रत्यक्षमा पहिलो भए पनि समानुपातिकमा दोस्रो भएको थियो । कांग्रेसले समानुपातिकतर्फ २६ लाख ६६ हजार दुई सय ६२ मत पाएको थियो । प्रत्यक्षमा ५७ सिट जितेको थियो । २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा नेपालबीच गठबन्धन भएको थियो । एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट ल्याएको थियो । २०५९ मा एमालेले राप्रपा र केही स्वतन्त्र उम्मेदवारसँग गठबन्धन गरेको थियो । प्रत्यक्षमा १४१ उम्मेदवार उठाएको थियो । यस पटक भने १६५ क्षेत्रमै उम्मेदवार उठाएको छ ।

तत्कालीन माओवादीले कांग्रेस, एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला माओवादीले कुल ३२ र एकीकृत समाजवादीले १० सिट जितेका थिए । ‘करिब दुई दर्जन पार्टी मिलेर नेकपा निर्माण भएको, कांग्रेस–एमाले गठबन्धन सरकारका कारण मुलुक संकटमा फसेको र नेकपाले सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दा अघि सारेको हुनाले हामी पहिलेभन्दा सिट बढाउँछौं,’ नेकपा नेता वर्षमान पुनले भने ।

नेकपा नेता अग्नि सापकोटाले देशभरबाट उत्साहजनक रिपोर्ट पाइरहेको उल्लेख गर्दै पहिलेभन्दा ठूलो पार्टी बन्ने दाबी गरे । ‘हाम्रा मुद्दा, हाम्रो प्रतिबद्धताका कारण देशभरबाट उत्साहजनक रिपोर्ट पाइरहेका छौं,’ उनले भने, ‘यस पटक हामी निर्णायक शक्ति बन्छौं ।’

२०७९ को निर्वाचनमा माओवादीले प्रत्यक्षमा १८ सिट र समानुपातिकतर्फ १४ सिट ल्याएको थियो । समानुपातिकतर्फ ११ लाख ६१ हजार नौ सय ३१ मत ल्याएको थियो । एकीकृत समाजवादीले १० सिट जिते पनि तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । समानुपातिकतर्फ एकीकृत समाजवादीले दुई लाख ९१ हजार एक सय ४४ मत ल्याएको थियो । 

यस पटक नेकपाले समानुपातिकतर्फ १७ लाख मत ल्याउने दाबी गरेको छ । निर्वाचनमा सम्भावित ५६ निर्वाचन क्षेत्रमा विशेष जोड दिएर नेकपाले निर्वाचन अभियान चलाउने निर्णय गरिसकेको छ । नेकपाले यसपालि बागलुङ–१ बाहेक १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनताका माओवादीले प्रत्यक्षमा ४७ क्षेत्रमा मात्र उम्मेदवार उठाएको थियो ।

गंगा बीसी

Link copied successfully