'आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने बेला यही हो, त्यसको लाभ मैले लिनुपर्छ भन्ने प्रवृतिलाई कांग्रेसले अस्वीकार गर्छ ।'
What you should know
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका घटनालाई अस्वीकार गर्ने र त्यसको लाभ खाने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको बताएका छन् ।
भदौ २३ र २४ का घटना केही होइन भनेर अस्वीकार गर्ने र त्यसको लाभ लिन खोज्ने दुवै प्रवृतिलाई कांग्रेसले अस्वीकार गर्ने सभापति थापाको भनाइ थियो ।
काठमाडौंमा बिहीबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक र प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ र २४ को घटनाको सम्बन्धमा पार्टीका धारणा राखेका हुन् । 'भाद्र २३ र २४ गते दुईदिन उथलपुथलकारी दिनहरू भए । थुप्रै नौजवानहरू माथिए । म ती नौजवानहरूलाई सम्झन चाहन्छु । ती नौजवानहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्छु ।'
'भाद्र २३ र २४ को घटनाका सन्दर्भमा दुईवटा अप्रोच हामी देख्छौं । एउटा, डिनायलको अप्रोच अर्थात् केही पनि भएको होइन वा त्यो बेलामा जे थियो ठिक थियो त्यो बेलामा ती घटनाहरू जे कारणले गर्दा भए ती आवश्यक थिएनन् । सडकमा जो नौजवान आए ती आउन आवश्यक थिएन । अथवा सबै ठिकठाक थियो । एउटा यसलाई अस्वीकार गर्ने अप्रोच देख्छौं,' थापाले भने, 'अर्को पनि एउटा अप्रोच छ, त्यो भनेको डिभिडेन्ट खाने अप्रोच । सडकमा नौजवानहरू आए, आफ्नो आक्रोश व्यक्त गरे र आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने बेला यही हो, त्यसको लाभ मैले लिनुपर्छ, त्यसको लाभ मैले उठाउनुपर्छ, यो डिभिडेन्ट खानेहरूको प्रवृति । कांग्रेस यो दुवै प्रवृतिलाई अस्वीकार गर्छ । हामीले डिभिडेन्ट लिनु पनि हुन्न, हामीले अस्वीकार गर्नु पनि हुन्न ।'
थापाले भदौ २३ मा राज्यबाट गल्ती भएको बताए । 'हामीले स्वीकार गर्नुपर्छ भाद्र २३ गते राज्यबाट गल्ती भएकै हो । हामी पनि त्यसमा सहभागी थियौं । हामीले त्यसका लागि सिंगो देशसँग क्षमतायाचना गर्नुपर्छ गर्छौं । हामी माफी चाहन्छौं ती अभिभावकसँग जसले आफ्नो नौजवान छोराछोरीलाई गुमाउनुपरेको छ,' थापाले भने ।
भदौ २४ मा ठूलो विध्वंश भएको पनि थापाले बताए । त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो । त्यसमा कांग्रेसकै नेता दोषी देखिए पनि कारबाही गर्नुपर्ने पार्टीको धारणा रहेको उनले बताए । पार्टीले युवाका आवाज सुन्ने र बुझ्ने उनको भनाइ थियो ।
