ओलीले भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध भनेर प्रश्न उठाए।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले देश भत्काउने र बनाउनेबीचको द्वन्द्वमा परेको र देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको बताएका छन्।
काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। उनले भदौ २३ र २४ को विध्वंसपछि अनिश्चयको बादल मडारिएको बताउँदै ती दिन सम्पूर्ण व्यवस्थामाथि धावा बोलिएको बताए। उनले भने, 'यतिबेला देश यस्तो दोबाटोमा उभिएको छ। एकातिर रीस, आवेग र आक्रोश छ, अर्कोतिर विवेक र जिम्मेवारी छ।' उनले भत्काउने र बनाउनेबीचको द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको पनि बताए।
अध्यक्ष ओलीले यतिबेला आफूसँग केही प्रश्नहरू रहेको भन्दै ती प्रश्नहरू सार्वजनिक गरे। उनले भदौ २३ र २४ का घटनाहरू स्वतःस्फूर्त थिए कि योजनाबद्ध भनेर प्रश्न उठाए। उनले जेन–जी प्रदर्शनकारीहरूको हुँदै नभएको माग भन्दै संसद् विघटन किन गरिएको थियो भन्ने प्रश्न पनि गरे। उनले यस्ता प्रश्नहरूको जवाफ खोजिनुपर्ने बताए।
२०७९ को चुनावमा देश राजनीतिक दुष्चक्रमा फसेको बताउँदै अध्यक्ष ओलीले त्यतिबेला एमालेले राजनीतिक स्थायित्वका पक्षमा मत मागेको स्मरण गरे।
