ओलीले भने, ‘हामीले तिनलाई चिन्न ढिला गर्नु हुँदैन ।’
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को घटनालाई ‘महाविनाश’ भन्दै त्यो महाअपराध भएको बताएका छन् । उनले त्यो अप्रत्याशित घटना नभएको बताउँदै उक्त घटना नेपालको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण भएको दाबी गरे । काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले राष्ट्रका विरुद्ध भएको त्यो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वले नयाँ शक्तिको मुकुन्डो लगाएको पनि बताए । उनले भने, ‘हामीले तिनलाई चिन्न ढिला गर्नु हुँदैन ।’
उनले विचारहीन र दिशाहीन स्टन्टबाट एमाले टाढा रहेको बताउँदै आफूहरूको गन्तव्य सुखी नेपाल र समृद्ध नेपाल भएको बताए ।
उनले भदौ २३ र २४ को विध्वंसपछि अनिश्चयको बादल मडारिएको बताउँदै त्यो दिन सम्पूर्ण व्यवस्थामाथि धावा बोलिएको बताए । उनले भने, ‘यतिबेला देश यस्तो दोबाटोमा उभिएको छ । एकातिर रीस, आवेग र आक्रोश छ । अर्कोतिर विवेक र जिम्मेवारी छ ।’ उनले भत्काउने र बनाउनेबीचको द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको पनि बताए ।
