रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बनेको, सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको, प्रधानमन्त्रीको उम्मेदवार बनाइएका बालेन्द्र शाहको नागरिकता प्रकरण बाहिर आएको उल्लेख गर्दै आफैभित्रको विकृति सच्याउन नसक्ने पार्टीबाट सुशासनको आश गर्न नसकिने पनि बताएका छन् ।
काभ्रे — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् ।बिहीबार पार्टीका महामन्त्रीलाई सम्बोधन गर्दै उनले राजीनामाको औपचारिक घोषणा गरेका हुन् ।
उनी यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको आकांक्षी थिए । तर टिकट नपाएपछि असन्तुष्ट हुमागाईंले निर्वाचन आउन दुई साता बाँकी छँदा पार्टी परित्याग गरेका हुन् ।
हुमागाईंसहित पार्टी जिल्ला सभापति प्रवीण ढकाल र अर्का नेता ताराबहादुर कुँवर उम्मेदवारको दौडमा रहेका थिए । अन्तिम समयमा बदन भण्डारीले टिकट पाएपछि रास्वपा काभ्रेमा चर्को असन्तुष्टि देखिएको थियो ।
हुमागाईंले पैसामा टिकट बेचिएको भन्दै सामाजिक सञ्जालमार्फत पनि आफ्नो असन्तुष्टि पोख्दै आएका थिए । राजीनामा पत्रमा पनि उनले पार्टी बनाउन लागि परेकालाई उम्मेदवार नबनाइएको, वर्षाैंदेखि पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, 'विशेष रूपमा, दुई-चार दिन अगाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ।'
हुमागाईंले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बनेको, पार्टीकै सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको, प्रधानमन्त्रीको उम्मेदवार बनाइएका बालेन्द्र शाहको नागरिकता प्रकरण बाहिर आएको उल्लेख गर्दै आफैभित्रको विकृति सच्याउन नसक्ने पार्टीबाट सुशासनको आश गर्न नसकिने पनि बताएका छन् । पार्टीको नियमित महाधिवेशन हुन नसकेको, आम कार्यकर्ताको भावनाको सम्मान हुन नसकेको पनि हुमागाईंको भनाई छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रेको क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेका हुमागाईंले त्यसबेला १० हजार ५ सय ७३ मत पाएका थिए ।
