गैरआवासीय नेपालीको पुँजीलाई ठूला पूर्वाधार र नवप्रवर्तनमा लगानी गर्न विशेष कानुनी सुरक्षा, 'डलर खाता' को सहजता र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधान बनाउने वाचापत्रमा उल्लेख छ ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी दोहोरो नागरिकताको पक्षमा उभिएको छ । कर्णालीको राजधानी सुर्खेतबाट बिहीबार सार्वजनिक आगामी प्रतिनिधिसभा चुनावी वाचापत्रमा रास्वपा दोहोरो नागरिकताको पक्षमा उभिने लेखिएको छ ।
रास्वपाको वाचापत्रको बुँदा नम्बर ९९ मा लेखिएको छ, 'रास्वपाले प्रवासका नेपालीहरूलाई देशको आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भको रूपमा हेर्दछ । विदेशमा रहेका नेपालीहरूका लागि मतदानको अधिकार प्रदान गर्नुको साथै गैरआवासीय नेपालीहरूको 'एक पटकको नेपाली, सधैंको नेपाली' भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्नेछौं ।'
रास्वपाले गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि सहज वातावरण बनाउने वाचा पनि गरेको छ । 'गैरआवासीय नेपालीहरूको पुँजीलाई नेपालका ठूला पूर्वाधार र नवप्रवर्तनमा लगानी गर्नका लागि विशेष कानुनी सुरक्षा, 'डलर खाता' को सहजता, र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधान बनाउनेछौं । प्रवासमा रहेको उच्च तहको ज्ञान, सीप र प्रविधिलाई स्वदेशको शिक्षा, स्वास्थ्य र उद्योगसँग प्रत्यक्ष जोड्ने 'राष्ट्रिय ज्ञान 'बैंक' स्थापना गर्नेछौं,' रास्वपाको वाचापत्रमा लेखिएको छ, 'संसारको जुनसुकै कुनामा रहेका नेपालीहरूले नेपालको पर्यटन, संस्कृति र लगानीको प्रवर्द्धन गर्ने 'स्वयंसेवी दूत' को रूपमा काम गर्ने वातावरण र संयन्त्र बनाउनेछौं । प्रवास मार्फत नेपाली भाषा, कला र मौलिक पहिचानलाई विश्वका प्रमुख सहरहरूमा जीवन्त रूपमा फैलाइएको हुनेछ, जसले नेपालको 'सफ्ट पावर' लाई मजबुत बनाएको हुनेछ ।'
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेलगायत नेताहरूले वाचापत्र सार्वजनिक गरेका हुन् । रास्वपाको वाचापत्र लेखनका लागि उपसभापति वाग्लेको नेतृत्वमा समिति गठन गरिएको थियो ।
रास्वपाको वाचापत्रमा के छ ?
![RSP pledges to stand in favor of dual citizenship [Full text]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/rsp-1922026104508-1000x0.png&w=1001&h=0)