कसैलाई घोक्र्याएर समयमा सडक बन्दैन, ४१ कानुन संशोधन गर्नुपर्छ : थापा

सडक निर्माणका लागि संस्थागत सुधार र कानुन संशोधन आवश्यक रहेको सभापति थापाले बताए ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Roads cannot be built on time by blaming someone, 41 laws should be amended: Thapa

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले सडक पूर्वाधार निर्माण गर्नका लागि तत्काल ४१ वटा कानुन संशोधन गर्नुपर्ने बताएका छन् ।

'समयमा सडक बनाउनलाई मात्रै हामीले काम (अध्ययन) गरेर हेरेको, कम्तीमा पनि ४१ वटा कानुन चलायो भने मात्रै समयमा सडक बन्न सक्ने हुँदो रहेछ । सडक समयमा नबनाउनेलाई 'ठोकिदिन्छु, घोक्र्याइदिन्छु' भनेको मैले हिजो सुनेको थिएँ । मैले कसैलाई लगेर घोक्र्याएर सडक समयमा बन्दैन,' थापाले भने, 'सडक समयमा बनाउनका निम्ति ४१ कानुन हामीले तत्काल बदल्नुपर्ने रहेछ । त्यो कानुन हिजोको बेलामा त्यै कानुनले काम गर्छ भनेर संसद्ले बनायो ।'

रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका बालेन्द्र शाहले बुधबार धनगढीमा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले कसैलाई घोक्र्याएर सडक निर्माण समयमा सम्पन्न नहुने बताए । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित कार्यक्रममा शाहले सडक समयमा नबनाउने व्यक्तिलाई कारबाही गरेर भए पनि निर्माण गर्न लगाउने अभिव्यक्ति दिएका थिए । 

कांग्रेसको चुनावी प्रतिज्ञापत्र सार्वजनिक तथा प्रश्नोत्तर कार्यक्रममा बिहीबार थापाले सडक निर्माणका लागि संस्थागत सुधार र कानुन संशोधन आवश्यक रहेकामा जोड दिएका छन् । नीतिगत सुधार गरेर संस्थागत व्यवस्था गर्नुपर्ने थापाको भनाइ छ ।

कान्तिपुर

Link copied successfully