उनी मन्त्रालय र सांसदको संख्या घटाउने तर नेपाली श्रमिक रहेका देशमा राज्यको उपस्थितिलाई पाँच गुणासम्म बढाउने योजना रहेको बताए।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले ५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन्। उनले कुन–कुन सेक्टरमा कस्ता जनशक्तिले काम पाउने भन्ने विषयमा पार्टीले स्पष्ट योजना बनाएको बताए।
सभापति थापाले भने, ‘युवा साथीहरूले बिना धितो ऋण कसरी पाउने र त्यसको प्रयोग सुनिश्चित कसरी हुने भन्ने बिषय पनि घोषणापत्रमा विस्तृत रूपमा समेटेका छौं।’ काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सभापति थापाले निर्माण क्षेत्रमा काम गर्ने र स्वरोजगार गर्ने सबैलाई योजना अन्तर्गत समेटिने बताए। साथै सबै प्रकारको रोजगारीमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा जोड्ने पनि उनले जानकारी दिए। वैदेशिक रोजगारी तत्काल मुक्त गर्न सकिने विषय नभएको तर यस क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको उनले बताए। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने हरेक नेपालीको अभिभावक राज्य हो।’
उनी मन्त्रालय र सांसदको संख्या घटाउने तर नेपाली श्रमिक रहेका देशमा राज्यको उपस्थितिलाई पाँच गुणासम्म बढाउने योजना रहेको पनि बताए। उनले भने, ‘विदेशमा नेपाली ठगिए वा बिरामी परे त्यो हेर्ने जिम्मा राज्यको हो।’
