रास्वपामा उम्मेदवार चयनमा चरम चलखेल भएको भन्दै बाग्मती उपसभापतिको राजीनामा 

'उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत संचालन गरिएको देखिन्छ । विशेष रुपमा दुई-चार दिन अगाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ ।'

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Bagmati Vice President resigns, alleging extreme manipulation in candidate selection in RSP

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश समिति उपसभापति दिनेश हुमागाईंले पार्टीबाट राजीनामा गरेका छन् । उनले पार्टीमा उम्मेदवार चयनदेखि नेतृत्वमाथि प्रश्न उठाउँदै पार्टीबाट राजीनामा दिएका हुन् ।

 २०७९ को निर्वाचनमा 'जान्नेलाई छान्ने' नारा लगाएको रास्वपाले अहिले भने त्यसो गर्न नसकेको हुमागाईंको भनाइ छ । 'पार्टीले सुरुमा २०७९ को निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो । तर व्यवहारमा तिनै जान्ने, सीमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरी घुम्ने (गणेश प्रवृति) पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको छ,' उनको राजीनामापत्रमा लेखिएको छ । 

हुमागाईंले पार्टी केन्द्रीय संरचना विस्तार गर्दा पनि मापदण्ड, प्रक्रिया नअपनाएको र पारदर्शी नभएको बताएका छन् । पार्टीको सदस्यता तथा आर्थिक व्यवस्थापनमा पनि उनले प्रश्न उठाएका छन् । 'सदस्यता शुल्क तथा उम्मेदवार आवेदन शुल्क (समानुपातिक र प्रत्यक्ष दुवै) व्यापक रुपमा संकलन गरिए पनि त्यसको पारदर्शी लेखाजोखा सार्वजनिक गरिएको छैन,' उनले राजीनामापत्रमा लेखेका छन्, 'प्रदेश तथा पालिका तहमा बाँडफाँड हुने भनिएको रकमसमेत स्पष्ट रुपमा उपलब्ध नगराइनु गम्भीर विषय हो ।'

पार्टी संचालनमा विधान उलंघन र आन्तरिक लोकतन्त्र समाप्त गरिएको तथा प्रदेश र तल्लो समितिका आवाज बेवास्ता गरिएको पनि उनले भनेका छन् । 

हुमागाईंले पार्टी नेतृत्वमाथि नैतिक प्रश्न उठेको लेखेका छन् । 'पार्टी नेतृत्वसँग सम्बन्धित विभिन्न विवाद र न्यायिक प्रक्रियामा रहेका विषयहरूको संगठनको नैतिक आधारमाथि गम्भीर प्रश्न खडा गरेको छ,' उनले लेखेका छन्, 'पार्टी सभापति रवि लामिछानेसम्बन्धी सहकारी प्रकरणहरू हाल न्यायिक प्रक्रियामा रहेका छन् ।'

हुमागाईं २०७९ को चुनावमा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उनले त्यो निर्वाचनमा १० हजार ५७३ मत प्राप्त गरेर तेस्रो भएका थिए । यसपटक भने उनले टिकट पाएनन् ।

कान्तिपुर

Link copied successfully