विगत चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर जनसभा गर्दै आफूलाई केन्द्रीय पात्रका रूपमा प्रस्तुत गरी मतदाता आकर्षित गर्ने काम गरेका थिए। चार पटक प्रधानमन्त्री भइसकेका ओली यसपटक भने आफ्नै क्षेत्र झापा–५ मा केन्द्रित छन्।
What you should know
काठमाडौँ — पार्टी अध्यक्षका हैसियतले देशव्यापी चुनावी सभामा जानुपर्ने केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्र झापा-५ मा केन्द्रित भएका छन् । २०७० यता निरन्तर जित्दै आएका उनी यसपटक भने अरु जिल्ला जान पाएका छैनन् ।
विगत चुनावहरुमा एमाले अध्यक्ष केपी ओलीले देशका विभिन्न क्षेत्रमा पुगेर जनसभाहरुलाई सम्बोधन गरेका थिए । उनले आफूलाई केन्द्रीय पात्रका रुपमा प्रस्तुत गरेर देशभर मतदाता आकर्षित गर्ने काम गरेका थिए ।
चार पटक प्रधानमन्त्री भइसकेका ओली यसपटक आफ्नै निर्वाचन क्षेत्र झापा-५ मा केन्द्रित छन् ।
बालेन्द्र शाहले काठमाडौंको मेयरबाट राजीनामा दिएर ओलीसँग झापा-५ मा प्रतिस्पर्धा गर्दैछन् । त्यसपछि ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका हुन् । उनले आफ्ना कमरेडहरुसँग मत माग्नका लागि अन्य जिल्लामा जाने फुर्सद कमै मात्र पाएका छन् ।
अहिले ओली मतदाताको घरदैलो अभियानमा छन् । उनीहरुका गुनासा सुनिरहेका छन् । मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् । उनी देशव्यापी अभियानको नेतृत्व गर्नभन्दा पनि आफ्नै क्षेत्रमा चुनावी रणनीति बनाउन व्यस्त छन् ।
ओली आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहँदा एमालेका अन्य उम्मेदवारहरु भने चिन्तित देखिएका छन् । शनिबार पार्टीको झापा-५ निर्वाचन कमिटीले ३५ बुँदे अपिल जारी गर्यो । यसमा ओली निर्वाचित हुन किन जरुरी छ भनेर कारणहरु खुलाइएको थियो । सर्वभौमसत्ताको रक्षा गर्न, लोकतन्त्र सुदृढ बनाउन र वैदेशिक हस्तक्षेप अन्त्य गर्न देशलाई ओलीको खाँचो रहेको दाबी यसमा गरिएको छ ।
मंगलबार ओलीले झापा-५ को आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् । सन् २०७१ मा नवौं महाधिवेशनयता ओली लगातार पार्टीको अध्यक्ष चयन हुँदै आएका छन् । देशका एक लोकप्रिय नेताका रुपमा विगतमा उनी राष्ट्रव्यापी रुपमा निर्वाचन अभियानहरुमा सरिक हुने गरका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट संसदीय चुनावको लागि झापा-५ बाटै उम्मेदवारी दिएका बालेन्द्र शाहले पूर्वदेखि पश्चिमसम्म यात्रा गरिसकेका छन् । उनलाई पार्टीले भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरेको छ । जबकि उनका प्रतिस्पर्धी तथा एमालेबाट भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका ओली धेरै हदसम्म झापामा सीमित छन् ।
दमक बहुमुखी क्याम्पसमा अंग्रेजी पढाउने व्यञ्जना शर्माले चुनाव नजिकिँदै जाँदा ओलीका चुनौतीहरू बढ्दै गइरहेको बताइन् ।‘अघिल्ला चुनावहरूमा ओली मुस्किलले यहाँ आउँथे,’ उनले भनिन्, ‘यस पटक निर्वाचन क्षेत्रमा ध्यान केन्द्रित हुनुले उनी दबाबमा रहेको देखाउँछ ।’
विगतका दुई चुनावमा, एमालेको यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन थियो । तर, यसपटक गठबन्धन बिना नै चुनाव लडिरहेको छ । यसले ओलीको चुनौती थपेको छ । एमाले नेताहरूले कडा प्रतिस्पर्धाको बाबजुद पनि उनीहरू ओलीको जित्ने विश्वास प्रकट गरेका छन् । चुनावी अभियान सोमबारदेखि मात्र आधिकारिक रूपमा सुरु भएकोले ओलीले अब अन्य निर्वाचन क्षेत्रहरूमा यात्रा गर्ने उनीहरुले बताए ।
‘उहाँ भोलिपल्ट पार्टीको घोषणापत्र सार्वजनिक गर्न बुधबार काठमाडौं जाँदै हुनुहुन्छ,’ कोशी प्रदेशका मुख्यमन्त्री तथा पार्टी नेता हिक्मत कार्कीले भने, ‘त्यसपछि उहाँ अन्य निर्वाचन क्षेत्रहरूमा जानुहुनेछ ।’
कार्कीले आफ्नो लामो राजनीतिक अनुभव, संगठनात्मक सञ्जाल र पार्टीभित्रको प्रभावका कारण चुनावमा ओलीलाई बलियो फाइदा हुने बताए । ओलीको कार्यकालमा निर्माण गरिएका पूर्वाधार परियोजनाहरू र नीतिगत निर्णयहरूले उनलाई मतदाताको समर्थन प्राप्त हुने समर्थकहरु बताउँछन् । ‘उनी ठूलो अन्तरले विजयी हुनेछन् । पार्टीले ओलीको निर्वाचन क्षेत्रमा दबाब महसुस गरेको छैन,’ कार्कीले भने ।
राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक कृष्ण पोखरेल यो तर्कलाई स्वीकार गर्न तयार छैनन् । उनले ओली दबाबमा रहेको बताए । ‘जेन-जी आन्दोलनको भावनाको विरोध गर्ने व्यक्तिको रूपमा ओलीको छवि कलंकित भएको छ । यही विद्रोहको अनौपचारिक नेता मानिएका बालेनसँग उनको प्रतिस्पर्धा छ,’पोखरेलले भने, ‘यसरी झापा-५ मा संशोधनवादी र प्रगतिशीलबीच प्रतिस्पर्धा भएकाले ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा ध्यान केन्द्रित गर्ने दबाब छ ।’
स्थानीय मतदाताले पनि ओलीलाई दबाब रहेको बताउँछन् । झापा-५ मा पार्टी कार्यकर्ताहरू ठूलो संख्यामा परिचालित छन् । जबकि ओली आफैं साना जमघटहरूमा भाग लिइरहेका छन्, मतदाताहरूको गुनासा सुनिरहेका छन् र आफ्नो नेतृत्वसँग सम्बन्धित विगतका विकास पहलहरूबारे मतदातालाई बुझाइरहेका छन् । यी सबै गतिविधिहरूले कडा प्रतिस्पर्धालाई औंल्याउँछन् ।
विपक्षी उम्मेदवारहरू, विशेषगरी शाहले ठूला सार्वजनिक र्यालीहरूमा मात्र भर पर्नुको सट्टा घर–घरमा प्रचारप्रसार र साना सामुदायिक अन्तरक्रियाहरू आयोजना गर्दै आएका छन् । उनले तल्लो तहको प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
जेन-जी प्रदर्शनपछिको राजनीतिक वातावरण र सामाजिक सञ्जालको बढ्दो प्रभावले ओलीलगायत स्थापित नेताहरुलाई दबाब परेको विश्लेषकहरु बताउँछन् । यस चुनावमा मतदाताहरुले नयाँ अनुहार नयाँ राजनीतिक दलप्रति देखाएको रुझानले पनि ओलीको चिन्ता थपिएको छ ।
राजनीतिक विश्लेषक मुमाराम खनालले निर्वाचत क्षेत्र केन्द्रित ओलीको रणनीतिले सबै राम्रो नरहेको संकेत गरेको बताए । ‘उनको छवि जेन-जी प्रदर्शनपछि खस्कँदो छ । यसलाई हेर्दा उनले अन्य निर्वाचन क्षेत्रमा गएर उम्मेदवारलाई समर्थन गरे पनि त्यसले सकारात्मक प्रभाव पार्छ भन्ने मलाई लाग्दैन । अर्कोतर्फ, शाहलाई झापा–५ मा हराउनेमा उनी आफैं विश्वस्त भएजस्तो मलाई लाग्दैन ।’
ओली एमाले–कांग्रेस गठबन्धनको प्रधानमन्त्री छँदा सेप्टेम्बरमा जेन-जी आन्दोलन भएको थियो । यस आन्दोलनमा ७७ जनाले ज्यान गुमाएका थिए ।
