के छ कांग्रेसको प्रतिज्ञापत्रमा ?

बजार र मूल्य सुनिश्चित गर्ने र नेपालको उत्पादनलाई विश्व बजारमा ब्राण्ड बनाउने कृषि उद्यमीलाई राज्यले हरेक पाइलामा साथ दिने नीति बनाउने कांग्रेसको प्रतिबद्धता छ ।

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

What is in the Congress's manifesto?

What you should know

काठमाडौँ — कांग्रेसले आज १० बुँदे संक्षिप्त प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । जसमा सम्मानित भएर बाँच्ने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वभाविमानी नेपाल र समुन्नतिमा लम्कने नेपाल बुँदा समावेश छन् । 

जात, धर्म, वर्ण, लिंग, वर्ग वा भूगोलको आधारमा सृजना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउने संकल्प कांग्रेसले गरेको छ । यस्तै, विदेशिएका नेपालीलाई फर्कन रहर लाग्ने र स्वदेशमा रहेकालाई यहीँ सुनौलो भविष्य देखिने जीवन्त देश बनाउने, राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्ने तर अवैध तरिकाले सम्पति थुपार्ने र उपभोग गर्ने प्रवृतिलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने संकल्प गरेको छ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृति कै रुपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ । 

राज्यले सिंचाई र रासायनिक मलको अभाव अन्त्य गर्दै, बिमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्ने र नेपालको  उत्पादनलाई विश्व बजारमा ब्राण्ड बनाउने कृषि उद्यमीलाई राज्यले हरेक पाइलामा साथ दिने नीति बनाउने कांग्रेसको प्रतिबद्धता छ । 

त्यस्तै, स्वास्थ्य क्षेत्रमा राज्यले परोपकार नभएर उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यतालाई स्थापित गर्ने उद्घोष गरेको छ । ‘नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ, विकसित देशको उन्नत स्तरको उन्नत स्वास्थ्य बिमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ,’ कांग्रेसको सार्वजनिक प्रतिज्ञापत्रमा भनिएको छ । 

आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट बन्चित नहुने, निमुखालाई ऐन र ठुलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य गर्ने, अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालयलगायतका राज्यका सब संस्थाहरूमा दलीयकरण अन्त्य गर्ने, राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटिल नेपालको अवधारणा साकार पार्ने, नेपालका सबै विविधिता र विशिष्टताहरूको सम्मान गर्ने कांग्रेसको संकल्प छ । 

छिमिकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुने र यस्तो सम्मानलाई पारस्परिक हित र आर्थिक साझेदारीको आधारमा अगाडि बढाउने कांग्रेसको प्रतिज्ञा छ । खुला अर्थतन्त्र, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री विकासबाट हिमाल, नदी, वनजंगल र जस्ता अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित राख्ने र देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता गराउने प्रतिज्ञा कांग्रेसको छ ।

कान्तिपुर

Link copied successfully