'जान्नेलाई छान्ने नारा लगाउनेले दागैदाग भएकाहरूलाई छान्ने, चाङका चाङ मुद्दा लागेकाहरूलाई छान्ने काम भयो ।'
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा कांग्रेस प्रवेश गरेकी छन् । उनले बुधबार मात्रै रास्वपाको साधारण सदस्यबाट राजीनामा गरेकी थिइन् ।
कांग्रेसले बुधबार जनकपुरमा आयोजना गरेको प्रतिज्ञा सभामा शर्माले पार्टी प्रवेश गरेकी हुन् । शर्मालगायतलाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाललगायतका नेताले पार्टी प्रवेश गराएका हुन् ।
रास्वपा पार्टीमा निरन्तर काम गर्दा पनि न्याय नभएको शर्माको भनाइ थियो । केही वर्षअघि मात्रै गठन भएको रास्वपा पुरानो कांग्रेसजस्तो बनेको शर्माले बताइन् । उनले भनिन्, '८० वर्षको बिरासत बोकेको नेपाली कांग्रेस आज नयाँ रास्वपा भएर आइसकेको छ र भर्खरे जन्म लिएको रास्वपा आजको मितिमा पुरानो नेपाली कांग्रेस भइसकेको छ ।'
जान्नेलाई छान्ने र अब पालो युवा तथा नयाँको भन्ने नारा लगाएको रास्वपाले व्यवहारमा भने त्यस्तो नदेखिएको शर्माले बताइन् । 'दागैदाग भएकाहरूलाई छान्ने, चाङका चाङ मुद्दा लागेकाहरूलाई छान्ने, समाजले काँचुली फेरेर त्यो काँचुलीले फालिसकेकाहरूलाई उठाएर छान्ने काम भयो त्यसैले मैले रास्वपा छोडेको हो,' शर्माले भनिन् ।
कांग्रेस सभापति गगन थापाले पार्टीलाई परिवर्तन गरेर आएको र संघीयता तथा मधेसका मुद्दामा गम्भीर रहेकाले पार्टी प्रवेश गरेको शर्माले बताइन् ।
