मधेशमा ३२ प्रत्यक्ष सिटमध्ये रास्वपाका २१ उम्मेदवारहरूले अघिल्लो पटक विभिन्न दलहरूबाट निर्वाचन लडेका थिए ।
What you should know
काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ चर्चामा छ । दुई हेविवेट नेता बालेन शाह र केपी शर्मा ओली यहाँ भिड्दैछन् । झापा-५ मा प्रतिस्पर्धा चर्को भएपनि प्रदेशमा धेरै सिट भएकाले बालेनको रास्वपासहित धेरै दलले मधेशलाई ठूलो र निर्णायक मैदानका रूपमा हेरिरहेका छन् ।
रास्वपा मात्रै हैन, मधेश प्रदेशमा उपलब्ध ३२ प्रतिनिधिसभा सिटमध्ये धेरैभन्दा धेरै सिट जित्न सबै प्रमुख राजनीतिक दलहरू लागीपरेका छन् । कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार छन् । मधेशलाई आफ्नो परम्परागत गढ मान्ने कांग्रेसले यसलाई महत्व दिनेगरी बुधबार जनकपुरमा आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसको पूर्वयोजना सोमबार सानेपास्थित पार्टी मुख्यालयमा घोषणापत्र सार्वजनिक गर्ने थियो । तर अहिले उसले मधेशलाई प्राथमिकता दिइरहेको छ ।
१ सय ६५ प्रत्यक्ष प्रतिनिधिसभा सिटमध्ये मधेश प्रदेश सिट संख्याका आधारमा बागमती प्रदेश (३३ सिट) पछि दोस्रो छ । मतदाता संख्या धेरै भएकाले समानुपातिक मतका लागि पनि यो क्षेत्र महत्वपूर्ण मानिएको छ ।
काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएलगत्तै शाहले जनकपुरमा जनवरी १९ मा रास्वपाको र्यालीमा सम्बोधन गरेका थिए । रास्वपाले यस निर्वाचनबाट देशकै ठूलो पार्टी बन्ने लक्ष्य राखेको छ ।
आफ्नो अभियानलाई गति दिनका लागि रास्वपाले महोत्तरी जिल्लामा जन्मेका र काठमाडौंमा हुर्केका बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।यसअघि काठमाडौं महानगरको मेयरको रूपमा तीन वर्ष ६ महिना रहँदा शाहले आफूलाई मधेशीका रूपमा चिनाउने काम खासै गरेका थिएनन् । तर यो पटकको निर्वाचनमा कांग्रेस सभापति गगनदेखि रास्वपाका वरिष्ठ नेता बालेन, अन्य दलहरू पनि मधेशकेन्द्रित देखिने प्रयत्नमा लागिरहेका छन् भनेर बुझ्न जरुरी देखिन्छ ।
पत्रकार तथा मधेश राजनीतिक विश्लेषक रोशन जनकपुरियाका अनुसार पहिलो मधेश आन्दोलन (पहिलो संविधानसभाको निर्वाचनअघि) र दोस्रो मधेश आन्दोलन (संविधान जारी भइसकेपछि) मा मधेशकेन्द्रित दलहरूसँग स्पष्ट राजनीतिक एजेन्डाहरू थिए । त्यसबेला अन्य दलहरूभन्दा मधेशमा उनीहरूका लागि राजनीति सजिलो थियो । तर, जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा र सत्ता केन्द्रित बन्दै जाँदा अहिले मधेसी दलहरू कठिन अवस्थामा रहेको जनकपुरियाले बताए ।क्षेत्रीय दलहरूका एजेन्डा बिलाउँदै गर्दा राष्ट्रिय दलहरूले मधेशलाई प्राथमिकता दिन थालेको जनकपुरियाले बताए । उनीहरू पहिलो संविधानसभाताका गुमाएको प्रभाव फिर्ता गर्न चाहन्छन् ।
निर्वाचन १८ दिनमात्र बाँकी हुँदा शाहको प्रवेशका कारण मधेशमा रास्वपाको सम्भावनालाई लिएर मानिसहरूमा चासो छ । तर, मधेश मामिला विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘यो जिज्ञासा पार्टीप्रतिको गहिरो विश्वास होइन । अहिले चलिरहेको लहरको उत्साह मात्र हो ।’ तर मधेशले परिवर्तन खोजिरहेको चन्द्रकिशोरले स्वीकारे ।
मधेशका मानिसहरूले शाहका निर्वाचन र्यालीहरूबारे दुई फरक मत राखेको चन्द्रकिशोरले बताए । चन्द्रकिशोर भन्छन्, ‘अभियानका क्रममा मधेश र अन्य क्षेत्रका मतदाताहरूसँग अन्तरक्रिया गर्न उनी असफल भए । यसलाई मानिसहरूले सकारात्मक लिएनन् ।’
‘प्रतिनिधिसभाका ३२ सिटहरूले मात्रै मधेशलाई राजनीतिक रूपमा महत्वपूर्ण बनाएको होइन,’ जनकपुरिया भने, ‘क्षेत्रीय दलहरू कमजोर हुँदै गएपछि अन्य राजनीतिक शक्तिहरूले आगामी निर्वाचनका लागि मधेशतर्फ ध्यान दिएका छन् ।’
‘मधेशमा रास्वपाका पक्षमा अहिले समर्थनको लहर चलेको भए पनि चुनावमा धेरै कारकहरूले भूमिका खेल्नेछन् । दलहरू मतदातासमक्ष पुग्न जरूरी छ, विशेषगरी मतदाता शिक्षाबाट वञ्चितहरू भएकामाझ पुग्न महत्वपूर्ण छ,’ उनले भने ।
बलियो संगठनात्मक आधार नभएको रास्वपालाई कांग्रेस, एमाले र मधेशकेन्द्रित दलजस्ता संगठित दलहरूसँग प्रतिस्पर्धा हुने उनले बताए । मधेशका घटनाक्रमलाई नजिकबाट नियालेकाहरू रास्वपाका केही उम्मेदवारहरू बालेनले आफ्नो निर्वाचन क्षेत्र भ्रमण गर्ने प्रतीक्षामा रहेको बताउँछन् । उनको उपस्थितिलाई ती उम्मेदवारले महत्वपूर्ण मानेका छन् ।
मधेश प्रदेशको योजना आयोगका पूर्व उपाध्यक्ष एवं अनुसन्धानकर्मी सोहन शाहले जनकपुरको र्यालीमा रास्वपाको पक्षमा देखिएको जनलहर त्यसपछिका दिनमा कायम नरहेको बताए । उनले रास्वपाले धेरै प्रत्यक्ष सिट नजिते पनि समानुपातिक निर्वाचनमा अन्य दलहरूभन्दा राम्रो गर्न सक्ने शाहले बताए ।‘रास्वपाले अहिले मधेशमा 'हल्लाको राजनीति' गरिरहेको छ । जबकि कांग्रेसले आफूलाई परिपक्व रूपमा प्रस्तुत गरिरहेको छ,’ शाहले भने, ‘यसैगरी, यदि एमालेले अघिल्लो निर्वाचनजस्तै क्लस्टर भोट जुटाउन सक्यो भने, यसको स्थिति पनि धेरै कमजोर हुने छैन ।’ शाहले मधेशमा कांग्रेस, एमाले, रास्वपा र मधेशकेन्द्रित दलहरूबीच चौतर्फी प्रतिस्पर्धा हुने आँकलन सुनाए ।
चन्द्रकिशोरझैं शाहले पनि कमजोर संगठनात्मक संरचनाका कारण मधेशमा प्रतिनिधिसभामा रास्वपालाई सोचेजस्तो नतिजा ल्याउन कठिन हुने बताए । शाहका अनुसार मधेशमा ३२ प्रत्यक्ष सिटमध्ये रास्वपाका २१ उम्मेदवारहरूले अघिल्लो पटक विभिन्न दलहरूबाट निर्वाचन लडेका थिए । जसकारण, रास्वपालाई पूर्ण रूपमा ‘नयाँ’ राजनीतिक शक्तिका रूपमा प्रचार गर्न पनि कठिन छ ।
