उम्मेदवार मगरको चुनावी घोषणापत्रमा के छ ?

उनले कर्णाली क्षेत्रमा सुरक्षित यातायात, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र रोजगारीका योजना सार्वजनिक गरेका छन्।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

What is in candidate Magar's election manifesto?

What you should know

सुर्खेत — गतिशील लोकतान्त्रिक पार्टीबाट सुर्खेत-२ का प्रतिनिधिसभा उम्मेदवार पवन थापा मगरले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै यातायात सुधार, आधारभूत सेवा विस्तार, शिक्षा–स्वास्थ्य सुदृढीकरण र स्थानीय रोजगारी सिर्जनालाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। 

घोषणापत्रमा उनले आफू सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय रहँदै आएको उल्लेख गर्दै कर्णाली क्षेत्रमा भएका विभेद र अन्यायविरुद्ध आवाज उठाउँदै आएको दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको अनुभव, सामाजिक आन्दोलनमा संलग्नता तथा नागरिक अधिकारका मुद्दाहरूलाई निरन्तर उठाउँदै आएको पनि उनले उल्लेख गरेका छन् ।

घोषणापत्र अनुसार सुर्खेत तथा कर्णाली प्रदेशमा सुरक्षित, सस्तो र व्यवस्थित सार्वजनिक यातायात सञ्चालनका लागि वैज्ञानिक अध्ययनका आधारमा भाडादर लागू गरिने उल्लेख छ। स्थानीय तहसँग सहकार्य गरी साझा यातायातको ढाँचामा सार्वजनिक सवारी सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ। साथै दुर्गम जिल्लाहरू जोड्ने उद्देश्यसहित ‘कर्णाली एयर’ स्थापना पहल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ। 

विद्युत्, खानेपानी र सञ्चारजस्ता आधारभूत सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्ने योजना घोषणापत्रमा छ। 

बालबालिकामैत्री शिक्षा, प्रविधि र सीपमूलक शिक्षालाई प्रोत्साहन गर्दै उच्च शिक्षामा पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको छ। स्वास्थ्य क्षेत्रमा सरकारको लगानी बढाई समावेशी स्वास्थ्य सेवा, प्राथमिक स्वास्थ्य प्रणाली सुदृढीकरण र आधुनिक अस्पताल व्यवस्थापनमा जोड दिने उल्लेख गरिएको छ। 

घोषणापत्रले सुर्खेत विमानस्थललाई व्यवस्थित गरी कर्णालीको प्रवेशद्वारका रूपमा विकास गर्ने तथा काँक्रेविहार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने योजना अघि सारेको छ। कृषि क्षेत्रमा स्थानीय बाली, पशुपालन, जडीबुटी र फलफूलको उत्पादन वृद्धि गर्दै बजारसँग जोड्ने रणनीति पनि समावेश गरिएको छ। 

पर्यटन, यातायात र कृषिलाई जोडेर वडा–वडामै रोजगारी सिर्जना गर्ने लक्ष्य घोषणापत्रमा उल्लेख गरिएको छ। युवामा बढ्दो लागूपदार्थ दुर्व्यसन रोक्न पुनर्स्थापना केन्द्र स्थापना तथा कला र खेलकुदमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना पनि समेटिएको छ। 

घोषणापत्रमार्फत उम्मेदवार मगरले नागरिकका आधारभूत सेवामा पहुँच, सामाजिक न्याय र क्षेत्रीय विकासलाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी अघि सारेको बताएका छन्।

कान्तिपुर

Link copied successfully