विश्वप्रकाशको प्रश्नः ‘६४ को गल्ती दोहोर्‍याउने कि ७० को विवेक प्रयोग गर्ने ?'

देश अहिले ‘फेवातालमा आँधी चलेको’ अवस्थाजस्तो भएको उल्लेख गर्दै उनले अनुभवी नाविक (माझी) जस्तै कांग्रेसले मात्रै नाउ (डुंगा) तार्न सक्ने दाबी गरे ।

फाल्गुन ४, २०८२

आश गुरुङ

Bishwaprakash's question: 'Should we repeat the mistakes of 1964 or use the wisdom of 1970?'

What you should know

लमजुङ — कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले २०६४ सालझैं आवेगमा निर्णय गर्दा मुलुकले निकास नपाएको स्मरण गराउँदै आगामी निर्वाचनमा २०७० सालजस्तो विवेक प्रयोग गर्न मतदातासँग आग्रह गरेका छन् ।

देश अहिले ‘फेवातालमा आँधी चलेको’ अवस्थाजस्तो भएको उल्लेख गर्दै उनले अनुभवी नाविक (माझी) जस्तै कांग्रेसले मात्रै नाउ (डुंगा) तार्न सक्ने दाबी गरे ।

सोमबार लमजुङको बेंसीसहरमा कांग्रेस लमजुङको चुनावी कार्यक्रमको उद्घाटन गर्दै शर्माले २०६४ सालमा माओवादीलाई दिएको जनमत आवेगको परिणाम भएको टिप्पणी गरे । ‘६४ मा भावनामा बगेर मत दिइयो, परिणामस्वरुप संविधान बनेन, चार वर्ष खेर गयो, अर्बौं रुपैयाँ खर्च भयो,’ उनले भने, ‘तर ७० सालमा विवेक पुर्‍याइयो, कांग्रेस पहिलो दल बन्यो र दुई वर्षमै संविधान बन्यो ।’

उनले २०७० पछि कांग्रेस नेतृत्वमा संविधान निर्माण सम्भव भएको उल्लेख गर्दै तत्कालीन सभापति सुशील कोइरालाको भूमिका स्मरण गरे । ‘नेताहरू उही, दलहरु उही । नेतृत्व संयमित र भीष्मपिताजस्तो भएपछि संविधान बन्यो,’ उनले भने । उनले संविधान निर्माण प्रक्रियामा पुष्पकमल दाहाल, केपी शर्मा ओली र माधवकुमार नेपाललगायत शीर्ष नेताहरुसँग सहकार्य गरिएको उल्लेख गरे ।

शर्माले शान्ति प्रक्रियाको श्रेय पनि कांग्रेसलाई दिँदै हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर बन्दुक क्यान्टोन्मेन्टमा राख्ने वातावरण कांग्रेसले बनाएको दाबी गरे । ‘बाँच्न पाउने अधिकारको समन्वय कांग्रेसले गर्‍यो’ उनले भने ।

उनले मतदातालाई आवेग, रिस, डर वा लहैलहैमा नलाग्न आग्रह गर्दै प्रश्न गरे, ‘देशले ६४ को गल्ती दोहोर्‍याउने कि ७० को विवेक पुर्‍याउने ?’

देशको वर्तमान अवस्थालाई उनले फेवातालमा आएको आँधीसाग तुलना गरे । ‘शान्त पानीमा सिकारुले पनि नाउ चलाउन सक्छ, तर आँधीमा अनुभवी नाविक चाहिन्छ,’ उनले भने, ‘अहिले देश आँधीमा छ, यो बेला जान्ने नाविकले मात्र डुंगा पार लगाउन सक्छ ।’

उनले २००७, २०१५ र २०४६ सालका राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया र संविधान निर्माणका उदाहरण प्रस्तुत गर्दै कांग्रेसलाई पुनः नेतृत्व दिनुपर्नेमा जोड दिए । ‘नेपाली कांग्रेसले डुंगा तार्न सक्छ । अब निर्णय जनताकै हातमा छ,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully