चितवन-१ मा उत्पीडन भोगेका दुई कान्छा उम्मेदवार अर्जुन चेपाङ र विकास कामी

चितवन–१ मा प्रलोपाका उम्मेदवार २५ वर्षका विकास कामी र नेमकिपाबाट उठेका २९ वर्षका अर्जुन चेपाङ प्रजा युवा हुनुका साथै यी दुईले सामाजिक उत्पीडन देखेका मात्रै छैनन् भोगेका नै छन् । भदाै २३ को जेनजी आन्दोलनपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोलाई कसरी जनमुखी बनाउने भनेर पर्याप्त बहस नभएको बताउँछन् ।

फाल्गुन ३, २०८२

रमेशकुमार पौडेल

Two younger candidates, Arjun Chepang and Bikash Kami, faced harassment in Chitwan-1

What you should know

चितवन — तीन निर्वाचन क्षेत्र रहेको चितवनमा स्वतन्त्र र राजनीतिक दलका गरी ६४ जना उम्मेदवार चुनावी मैदानमा छन्।चितवन–१ मा प्रगातिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार विकास कामी यी सबैमध्ये कान्छा हुन् । यही क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट उठेका अर्जुन चेपाङ प्रजा अति सिमान्तकृत आदिवासी चेपाङ समुदायबाट जिल्लाका एक्ला उम्मेदवार हुन् ।

दुवैको उमेरमा खासै फरक पनि छैन । विकास २५ वर्ष र अर्जुन २९ वर्षका भए । युवा हुनुका साथै यी दुईले सामाजिक उत्पीडन देखेका मात्रै छैनन् भोगेका नै छन् । गाउँमा कुकुर भुके केटाकेटीहरु त डराउँछन् नै पाका उमेर भएकाहरुको अनुहारमा पनि भय त्रास झल्कन्थ्यो । यसो किन हुन्थ्यो ? ‘हामी त कुकुर भुके पनि डराउनु पर्ने हुन्थ्यो कुनै बेला,’ अर्जुन भन्छन्, ‘कुकुर भुक्यो कि गाउँमा आर्मी आयो क्या हो झै हुन्थ्यो ।’

पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवनको पूर्वी भेग खुरखुरे या विरेन्द्रनगरबाट करिब १० किलोमिटर उत्तरमा छ, चितवनको पहाडी क्षेत्र कोराकको चिप्लेटी गाउँ । यही गाउँमा छ अर्जुनको घर । तत्कालीन कोराक गाविस वडा ९ मा पर्दथ्यो, अहिले राप्ती नगरपालिका–१० भएको छ ।

चिप्लेटी र यसैसँग जोडिएका कोराकका समिटार, कालिखोला जस्ता गाउँमा ५० को दशकको अन्त्यतिरबाट लगातारजसो चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी निकुञ्जमा तैनाथ सेनाहरुसहित लगातारजसो पुग्न थाले । यो क्रम ६० को दशकको अन्त्यसम्मै चल्यो । यी गाउँहरुबाट धेरै व्यक्ति गैंडा मारेर खागको कारोबार गरेको आरोपमा चितवन निकुञ्जबाट समातिए । 

चिप्लेटी आडको कालीखोलाका राजकुमार चेपाङमाथि निकुञ्जले २० वटा गैंडा मारेको आरोपमा मुद्दा चलाएको थियो । त्यसैगरी चिप्लेटीका काजीमान प्रजा चेपाङले नौ वटा गैंडा मारेको आरोप थियो । यीसँगै वरपरका धेरैलाई गैंडा मुद्दा लागेको थियो । उनीहरुलाई खोज्न निकुञ्जको टोली पुग्थ्यो । ‘यहाँको चेपाङ भनेकै गैंडा मार्ने हुन् भने जसरी राज्यले सोच्ने बेला थियो त्यो,’ अर्जुनले सुनाए ।

२०६७ को फागुनमा काजीमान पक्राउ परे । मलेसिया पुगेका राजकुमारलाई सरकारले २०७१ माघमा नेपाल ल्याएर कारागार चलान गर्‍यो । त्यसपछि गाउँमा ‘गैंडा सिकारीहरु’लाई समाउन र खोज्न आउने क्रम रोकियो । नभए ‘सिकारी’ खोज्न भन्दै आउने टोलीले घरघर छिरेर जेजे गर्दथ्यो त्यो सुनाउन अहिले पनि डर मान्नुपर्ने अवस्था छ भन्छन् अर्जुन । उनका अनुसार त्यतिबेला गाउँमा पाहुना आउन छाडेका थिए । 

अर्जुनका बाबु हुन् विजराम चेपाङ र आमा नापीमाया । विजराम बितिसके । उनी पनि राजनैतिक व्यक्ति थिए । २०५४ को स्थानीय निर्वाचनमा कोराक–९ को वडाध्यक्षमा विजयी भएका थिए विजराम । विजराम पञ्चायतकालदेखि नै राजनीति गर्दथे । पाँच भाई र तीन दिदीमध्ये कान्छा सन्तान हुन् अर्जुन । राजनीतिमा लाग्ने बाबुको गुण अरु सन्तानमा नसरे पनि आफुमा सरेको उनी बताउउँछन् । 

२०७१ को जेठ महिना, उनी गाउँ आडैमा रहेको समिटारको विद्यालयमा कक्षा ९ मा पढ्दै थिए । नेपकिपाको विद्यार्थी संगठन नेफाल क्रान्तिकारी विद्यार्थी संघ (नेत्राविस)का नेताहरु त्यहाँ संगठन गर्न पुगेका थिए । अर्जुनले उनीहरुका कुरा सुने । नेक्राविसको सोही महिना दाहाखानीको भालुमारा भन्ने ठाउँमा जिल्ला अधिवेशन रहेछ । त्यसमा भाग लिने निम्ता पाए अर्जुनले । ‘हामी त यस्तो कार्यक्रममा रमाइलो होला, नाचगान होला भनेर गयौं । केराक क्षेत्रका ६२/६३ जना भालुमारा पुगेका थियौं,’ अर्जुनले सुनाए । सम्मेलन स्थलमा अर्जुनलाई कोराकको बारेमा बताउन भने आयोजकले । अर्जुन अलि अकमकाए । उनले कोराकबाट भालुमासा आउँदाको अनुभव सुनाए । 

उनीहरुलाई लिन भनेर कोराकसम्म बस गएको थियो । त्यसैमा कोचाकोच जस्तो गरेर उनीहरु आएका थिए । त्यो बस संगठनले रिजर्भ गरेको थियो । तर सम्मेलनमा आउनेहरुलाई लिन जताततै त्यही बस कुदिरहेको थियो । त्यसैले उनीहरुलाई भालुमारा हैन जुटपानी क्लब चोकमा झारेर बस अन्यत्र लाग्यो । उनीहरु एक घण्टा जति हिँडेर भालुमारा पुगे । यही बारेमा सिलसिलेबार कुरा गरे अर्जुनले । उनले जे जानेको सुनाउनु थियो, सुनाए । त्यसपछि सुन्ने पालो आयो । राजनैतिक प्रशिक्षण सुरु भयो । उनले प्रशिक्षकबाट शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता विषयमा राज्यले लिने नीतिले कोही किन धेरै लाभान्वित हुन्छ, कोही किन पछाडि पर्दछ जस्ता कुरा सुने । उनका बुबा विजराम एमालेमा थिए । एमालेका नेताहरु घरमा आएर राजनैतिक कुरा गर्दा उनले यस्ता विषय कहिल्यै सुनेका थिएनन् ।

त्यसपछि राजनीति भनेको के हो भन्ने बुझ्ने चस्का पसेको उनी बताउँछन् । ‘म त खासमा रमाइलो होला भनेरै त्यहाँ गएको तर कुरो अर्कै रहेछ,’ अर्जुनले भने । त्यसपछि थप राजनैतिक प्रशिक्षण र अभियानमा लाग्दै गए । अनि थाहा पाए संगठित हुनु र सचेत हुनु फरक कुरा रहेछ । आफुहरु अध्यारोमा रहेछौं भन्ने थाहा पाएपछि राजनीतिप्रति लगाव बढेको उनले सुनाए ।  

उनले समिटार स्कुलबाटै एसएलसी उत्तीर्ण गरे । छात्रवृत्ति पाएपछि नारायणगढ बालकुमारी कलेज गएर कक्षा १२ सम्म पढे । त्यसपछि गाउँदेखि नजिक पर्दछ भनेर विरेन्द्रनगरको जनआदर्श बहुमुखी क्याम्पसमा शिक्षा विषय लिएर स्नातकमा भर्ना भए । स्नातक सरासर पास हुन भने सकेका छैनन् । राजनीति र सामाजिक अभियानमा भने लगातार लागेका छन्। ‘म तरकारी खेती पनि गर्दछु । काक्रो लगाएको छु । टनेलमा टमाटर छ । यसले मलाई आर्थिक टेवा त दिन्छ नै हाम्रो समुदायले समेत मेरो सिको गरेर यस्तो काम गर्दछ भन्ने लाग्छ,’ अर्जुनले भने । 

चेपाङ समुदाय शिक्षा, स्वास्थ्य र आर्थिक विषयमा अन्यभन्दा कमजोर छ । ‘राज्यले यो समुदायका लागि के गर्‍यो र? विकास र अभियान सहर केन्द्रित भए । हामी जस्ता पछाडि पारिए,’ अर्जुनले सुनाए ।

जात र भूगोलको आधारमा केन्द्रित भएर राजनीति गर्नु संकीर्णता हो भन्छन उनी । ‘चेपाङ चेपाङ भएकै कारणले पछाडि परेको भन्दा पनि राज्यको नीति र योजना सही नभएर पछाडि पारियो । राज्यले सबैलाई बराबर हेरे, बराबर अवसर र लाभ लिन पाउने नीति बनाएर कार्यन्वयन गरे कोही पछाडि पर्ने थिएन । त्यसैले खास भेग र समुदायलाई भन्दा पनि समान जनमुखी नीति बनाउनु पर्दछ,’ उनले भने । 

उनी आफ्नो गाउँलाई नै उदाहरण दिन्छन् । यहाँ राज्यले सवैलाई गैंडा सिकारी जस्तो देख्न थाल्यो । चेपाङले गैंडा मारेको हो भनेपछि त्यही नै सावित हुन थाल्यो भन्छन् उनी । ‘माथि कालीखोलाका दलबहादुर चेपाङलाई पनि समाएर गैंडा केशमा राख्यो । कानुनी लडाइँ लड्दासात वर्षपछि उहाँले सफाइ पाउनुभयो । सात वर्षसम्म त उहाँ त्यसै जेल बस्नु पर्‍यो नि,’ अर्जुनले सुनाए ।

दलबहादुर नातामा उनका भिनाजु पर्दछन्। उनले दलबहादुरलाई भने, ‘भिनाजु यस्तो अन्यायका बारेमा त ठाउँ ठाउँमा कुरा गर्नु पर्दछ हिँड्नुस् जाउँ । पत्रकारहरुलाई बताउँ ।’ दलबहादुर अनकनाए । भर्खर छुटिहाल्यौं फेरि के कसो हुने हो भन्ने अन्यौल रहयो भन्छन् अर्जुन । अर्को कुनै आपतमा पो परिने हो कि भनेर दलबहादुरले भो केही नगरौं भनेको अर्जुनले सुनाए । 

अर्जुनका जेठा दाई हुन् दिपबहादुर प्रजा । दिपबहादुरलाई पनि गैंडा मारेर खाग बिक्री गरेको आरोपमा निकुञ्जले तीन वटा मुद्दा लगायो । दुई वटा मुद्दामा १५/१५ वर्ष कैद भयो । एउटा मुद्दामा १३ वर्ष कैद भयो । सर्वोच्च अदालतसम्म जाँदा १५ वर्षको मुद्दामा दिपबहादुरले सफाइ पाए । १३ वर्षवाला मुद्दामा सजाय कायम भयो । २०६९ माघ १ मा पक्राउ परेका थिए दिपबहादुर ।

भरतपुर, परासी, काठमाडौं हुँदै दिपबहादुर अहिले नुवाकोट कारागारमा छन्। गएको माघ १ गते उनको सजाय पूरा भएको भनेर अर्जुन लिन गए । तर उनलाई डिभिजन वन कार्यालयले गैंडा मारेको अर्को मुद्दामा सात वर्ष कारागार राख्न भनेर फैसला सुनाएको रहेछ । दिपबहादुर नछुट्ने भए । ‘उही अवधिको उस्तै मुद्दामा १३ वर्ष कैद बसेपछि फेरि थप कैद बस्नु पर्ने भन्ने हुन्छ र ? हामीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका छौं,’ अर्जुनले भने ।

रिट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले हालेका हुन् । यसरी थप कारागार बस्नु नपर्ने सर्वोच्चको नजिरका आधारमा रिट हालेको वरिष्ठ अधिवक्ता घिमिरेले बताए । छिट्टै यसबारे आदेश आउने उनले सुनाए । ‘राज्यले सिकारी हो भनेपछि त्यही कायम हुने समयमा यहाँका धेरैले दुःख पाए । राज्य दुःख दिन त हाम्रो टोलमा आयो, सुख दिन आएन । मेरो राजनीति भनेको राज्यलाई जिम्मेवार बनाउने हो,’ अर्जुनले भने, ‘चुनावमा जितहार भइहाल्छ । जित्नका लागि अनेक हत्कण्डा अपनाउने नीति आफ्नो र पार्टीको पनि छैन । चुनाव भनेको आफ्नो नीति जनलाई सुनाउने अवसर हो ।’

चुनावले जनताको चेतना स्तर पनि देखिने उनले बताए । ‘देशमा कुनै खास क्षेत्र, समुदाय र भुगोल केन्द्रित हैन सन्तुलित विकास हुनु पर्‍यो । यसका लागि हामीले दबाब दिने हो । देशको सार्वभौम जोगाउने उपाए अपनाउनु पर्‍यो । यही विचार लिएर हामी जनतामा पुग्छौं । यो चुनाव जनतालाई सचेत बनाउने अभियान हो,’ अर्जुनले भने । 

अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदायको बसोबास चितवन, मकवानपुर, धादिङ र गोरखाको पहाडी क्षेत्रमा छ । २०७८ को जनगणना अनुसार देशभर ८४ हजार ३६४ छ । चितवनमा सबैभन्दा धेरै ३५ हजार ६३७ चेपाङ छन् । देशभर समानुपातिकमा तीन जना चेपाङ उम्मेदवार छन् । प्रत्यक्षमा चितवनमा अर्जुन र मकवानपुरमा एक जना उम्मेदवार छन् । 

जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवार विकास कामी भदौ २३ र २४ को जेन–जी आन्दोलनमा काठमाडौंमा सक्रिय थिए । आन्दोलनको तयारीका लागि १०/१२ दिनअघि नै भेला र समन्वयमा जुटेका थिए । भदौ २३ मा बिहानै माइतीघर पुगेका उनी संसद भवनअघि चलेको गोलीबाट धन्न धन्न जोगिएका हुन् । भीडले उनलाई लडायो, जो लडेको थिएन उसलाई निधारमा गोली लागेको विकास सुनाउँछन् । ‘जे भयो त्यो हामीले सोचेको र योजना बनाएको जस्तो थिएन । हामीले रोक्न छेक्न नसक्ने अवस्था आएको हो,’ विकासले भने, ‘२७ घण्टामा सरकारै ढल्ने आन्दोलन हुन्छ भने यो पुस्तालाई विकास र परिवर्तन कति छिट्टो चाहिएको रहेछ ? त्यो अब राजनीति गर्नेले बुझ्न र आत्मसात गर्न आवश्यक छ ।’ 

२०५७ असोजमा चितवन हालको राप्ती नगरपालिका–९ लालपुरमा जन्मेका हुन् विकास । कक्षा ८ मा पढ्दै गरेको समय थियो । उनी डेरीमा दुध पुर्‍याएर घर फर्कँदै थिए । बाटो आडमा भात ढडेको नमिठो गन्ध आयो । गन्ध आएको घरतिर गएर हेरे, चुलोमा दाउरा दन्दन् दन्केको थियो, कालै भएर भाडा र भात ढडेको थियो । उनले बोलाए तर घरमा कोही रहेनछन् ।

कुनै अनर्थ होला, आगलागी नै हुने खतरा आउला भनेर उनी भान्सामा गएर आगो निभाए । ‘तर त्यही बेला त्यो घरको आन्टी आउनु भयो । उहाँले लौ यल्ले भित्र पसेर चुलो नै छोयो भन्दै सुन्नै नहुने शब्दले लौ सत्यानास पार्‍यो भन्नुभयो । मैले त बचाउन खोजेको तर सत्यानास गर्‍यो भनेर दुर्बचन सुने,’ उनले भने । पछि एसईई दिने बेलामा पनि यस्तै एउटा घटना भयो । उनले कोचिङ क्लास लिएका थिए । एक दिन भुटेको मकै लिएर गएका थिए । उनले त्यो साथीहरुलाई पनि बाँडे । कोचिङ पढाउने शिक्षक महिलाले पनि साथीबाट मागेर खाइन् । उनले यति मिठो मकै कल्ले ल्यायो भनेर सोधिन् । साथीले विकासको नाम लिए । त्यसपछि ती शिक्षकको मुख निचोरियो । ‘मैले देखे उनले बाहिर गएर डष्टबिनमा थुकिन्,’ विकासले भने । 

यस्तै यस्तै भेदभावले उनलाई नराम्ररी चिमोट्दै ल्यायो । एसईई उत्तीर्ण भएपछि विकास भरतपुरको सप्तगण्डकी क्याम्पसमा भर्ना भए । त्यहाँबाट उनको राजनैतिक यात्रा सुरु भयो । मोहन बैद्य निकटको माओवादी पार्टीको विद्यार्थी संगठनमा लागे । स्नातक पढ्दा राजनैतिक अभियान तिब्र बन्दै गयो, उनी सक्रिय हुँदै गए ।

एमसीसी विरोधी अभियान चर्कँदै गएको थियो । यसमा उनी मरिमेटेर लागे । तर घरको आर्थिक अवस्थाले गाँज्दै ल्यायो । स्नातक तह दोस्रो वर्षमा थिए । पढाईसँगै कमाउने मनसायले उनी विद्यार्थी भिसामा रुस गए । तर त्यहाँ उनको मन बसेन । यता राजनैतिक अभियान तिब्र हुँदै गएको थियो । वर्ष दिन नहुँदै फर्केर २०७९ मा विद्यार्थी संगठनको मधेस इन्चार्ज भएर गए ।

मधेसमा मिटरब्याजबाट पीडितको चर्को समस्या देखे । घरखेत गुमाउनु परेको, मारिनु परेको, सन्तानले अपहेलना गरेको जस्ता दर्दनाक कथा आँखा अगाडि देखेका उनलाई लाग्यो पार्टीले गर्न सके यस्तैको मुक्ति हो । ‘तर समस्या के थियो भन्दा यस्ता वर्गहरु पार्टीको आँखामा परेको पाइएन । त्यसपछि म राजनैतिकसँगै सामाजिक मुद्दा र अभियानमा पनि सक्रिय हुन थाले,’ विकासले भने ।

मिटरब्याज, लघुवित्त पीडितहरुको आन्दोलनमा लाग्दा लाग्दै पनि उनले प्रगतिशील धार छाडेनन् । उनका साथीहरु प्रगितिशील अभियानमा लाग्नेहरु नै थिए । जेन–जी आन्दोलनभन्दा महिना दिन अघिको कुरा हो, उनी भक्तपुरका एक जना साथीको घर गए । साथीले घरमा नाम भने पनि थर नभन्नु है भनेपछि मनमा चिसो पस्यो । भित्र लगे पनि खाना खाँदा परिवारका अन्य सदस्य उनीसँग हैन, अलग्गै बसे । ‘सामाजिक अभियानमा लागेको, प्रगतिशील विचार बोकेको र अझ शिक्षित घरमा जाँदा मलाई भएको यो व्यवहारले लाग्यो मान्छे शिक्षित हुँदैमा जातीय भेदभाव नहट्ने रहेछ । यो त राजनैतिक तहमा उठ्ने चेतनाले मात्रै हल हुने विषय रहेछ,’ विकासले सुनाए । 

यही मेसोमा जेन–जी आन्दोलन भयो । त्यसपछि देशमा निर्वाचन हुने भयो । जेन–जी आन्दोलनमा लागेकाहरु निर्वाचनबाट अलग नहोउन् भन्ने थियो । ‘तर पार्टी थिएन । जे जति पार्टीहरु बनेका थिए, क्रियाशील थिए तिनमा पनि केहीसँग जेनजीको वैचारिक भिन्नता थियो । केहीका अन्य सीमाहरु थिए । चुनाव कसरी लड्ने भन्दै विचार गर्दागर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीसँग जोडिएको हुँ,’ विकासले भने ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनको पूर्णता फागुन २१ को निर्वाचन हो भन्छन् उनी । त्यसैले आफु चुनावमा उठेको उनले बताए । ‘जनताले नेतालाई प्रश्न गर्न पाउने बेला नै चुनाव हो । नेताको प्रश्नको उत्तर सुन्न जनता कान टाठो बनाएर बस्छन् । जसका कारण हामीलाई पनि चुनाव भनेको जनतलाई आफ्नो कुरा राख्न र जनताबाट सिक्ने अवसर हो,’ विकासले चुनावबारे आफ्नो बुझाइ सुनाए । 

तर यो चुनाव अरु बेलाको जस्तो सामान्य चुनाव हैन भन्छन् उनी । ‘जेन–जी आन्दोलनपछि आएको चुनावमा धेरै कुरा विचार गरेर परिवर्नत र देशहितलाई ख्याल राखेर मत हालुन् भन्ने मेरो आग्रह हो,’ विकासले भने । नेता, राजनीति र राज्यको परिभाषा र चरित्र बदल्न आफूले राजनीति गरेको उनले बताए । 

नागरिकले कुनै पनि हिसाबले आफूमाथि विभेद भेदभाव भएको अनुभव गर्दैन भने त्योभन्दा ठूलो विकास अरु केही हैन भन्छन् उनी । ‘सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष नागरिकको हितमा हुनु पर्दछ । सामान्य खर्च जुटाउन पनि नागरिकलाई सकस छ । यो हट्नु पर्दछ । राजनीति यसैका लागि हो,’ उनले भने ।

सामाजिक, सांस्कृतिक र आर्थिक पाटोलाई के कसरी जनमुखी बनाउने भनेर जेन–जी आन्दोलनपछि पनि पर्याप्त बहस नभएको उनी बताउँछन् । ‘मैले यही मुद्दा उठाउने हो । जिते संसदबाट आवाज उठाउने छु र नभए पनि राजनैतिक अभियान कहिल्यै छाड्ने छैन । म सडक र संसद दुवै तिर जान खोजेको हो । जनताले कता राख्नु हुन्छ त्यहीबाट आफ्नो जिम्मेवारी पुरा गर्ने छु,’ उनले भने । 

चितवन–१ मा अर्जुन र विकाससहित दल र तीन जना स्वतन्त्र गरी १८ उम्मेदवार चुनावी मैदानमा छन् । राप्ती, खैरहनी र रत्ननगर नगरपालिका रहेको चितवन–१ मा १ लाख ४९ हजार ६२१ मतदाता छन् । अघिल्लो पटक यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले जितेका थिए । रास्वपाले अहिले पनि ढकाललाई नै उम्मेदवार बनाएको छ । एमालेले दाबा दोर्जे लामालाई उठाएको छ । कांग्रेसका राजेन्द्र बुर्लाकोटी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कृष्ण पन्त उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बलराम खनाल, जनता समाजवादी पार्टी (जसपा) नेपालले अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाले सीतादेवी क्षेत्र, मंगोल नेशनल अर्गनाइजेशनले प्रेमलाल चौधरी र नेकपा (संयुक्त)ले दुर्गादत्त अर्याललाई उठाएको छ । 

त्यसै गरी नेशनल रिपब्लिक नेपालले इश्वरी गुरुङ, श्रम संस्कृति पार्टीले अनिल तमाङ, नेकपा माओवादीले गणेशबहादुर श्रेष्ठ र उज्यालो नेपाल पार्टीले धनबहादुर गुरुङलाई उठाएको छ । सौरव कडेल, सञ्जय रिजाल र हरिप्रसाद रेग्मीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा पहाडमा आदिवासी चेपाङ र राप्ती नदी र यस आसपासको मैदानी भेगमा आदिवासी थारु समुदायको बसोबास छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully