अछाम-२ : रास्वपाका शाहलाई उज्यालो नेपालका उम्मेदवारको समर्थन

उज्यालो नेपालका राजेश रावलले उम्मेदवारी फिर्ता लिई रास्वपाका भूपदेव शाहलाई समर्थन गर्ने सहमति भएको छ ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

Achham-2: Ujjaya Nepal candidate supports Rashtriya Swayamsevak Sangh (RSS)'s Shah

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा अछाम-२ का रास्वपा उम्मेदवार भूपदेव शाहलाई उज्यालो नेपाल पार्टीका उम्मेदवारले समर्थन गरेका छन् ।

यो निर्वाचन क्षेत्रबाट उज्यालो नेपालबाट राजेश रावल उम्मेदवार थिए । रास्वपाका शाह र रावलबीच आइतबार विभिन्न विषयमा सहमति भएको हो ।

'आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, अछाम निर्वाचन क्षेत्र नम्बर २ का सन्दर्भमा लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन, पारदर्शिता र अवस्था परिवर्तनको राजनीतिलाई मजबुत बनाउनका लागि राजेश रावल (उज्यालो नेपाल पार्टीका उम्मेदवार) र भूपदेव शाह (राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार) बीच देहायबमोजिम सहमति भएको घोषणा गर्दछौं,' सहमतिपत्रमा लेखिएको छ, 'उज्यालो नेपालका उम्मेदवार राजेश रावलले परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई पूर्ण समर्थन गर्ने ।' 

रास्वपाका शाहले उज्यालो नेपालका रावलले उठाएका अछामको पूर्वाधार विकास, रोजगारी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अबलम्बन गर्ने, कृषि तथा स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने, विकट क्षेत्रका जनताको सेवामा राज्यको प्रभावकारी पहुँच पुर्‍याउन जोडदार पहल गर्ने लगायतका एजेन्डालाई स्वीकार गर्ने भनिएको छ ।

उज्यालो नेपालले पनि रास्वपाका उम्मेदवार शाहका पक्षमा अभियान सञ्चालन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । सहमतिपत्रमा शाह र रावलको हस्ताक्षर रहेको छ ।  

उज्यालो नेपालका रावलले उम्मेदवारी फिर्ता लिए पनि अछाम २ को मतपत्रमा उज्यालो नेपालको चुनाव चिह्न भने रहनेछ ।

कान्तिपुर

Link copied successfully