गगनको निसाना कति सटीक ?

कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर मत मागिरहेका छन् । पार्टीका घोषणापत्र आउन बाँकी छन् । तर गगनले प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ अन्तर्गत लामो गृहकार्य गर्दै आइरहेका छन् ।

फाल्गुन ३, २०८२

कुलचन्द्र न्यौपाने, गौरव पोखरेल

What you should know

काठमाडौँ — ‘ह्वाट वाज द लास्ट थिङ यु गुगल्ड ? (तपाईंले पछिल्लो पटक गुगलमा सर्च गरेको विषय के हो ?’ गगन थापालाई अन्तर्वार्ताकार सोध्छिन् । ‘मटन डट वर्ल्ड,’ कांग्रेस सभापति थापा मुस्कुराउँदै जवाफ दिन्छन् । यो अन्तर्वार्ता गगन आफैंले सोसल मिडियामा सेयर गरेका छन् ।

हुन पनि सामाजिक सञ्जालमा उनलाई सबैभन्दा धेरै ‘ट्रोल’ गरिने विषय हो– ‘बाख्रा’ । गगनले यसबारे कैयौं पटक स्पष्टीकरण पनि दिइसकेका छन् तर ‘बाख्रा’ ले उनलाई पछ्याउन छाडेको छैन ।

केही समयअघि कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा गगनले सामाजिक सञ्जाल आफूले बिर्सन नसक्ने कमेन्ट ‘बाख्रा’ भनेर गरिने टिप्पणी रहेको बताएका थिए । ‘मकवानपुरको एउटा कार्यक्रममा गएको, त्यहाँ एउटा बाख्रा आफैंलाई पछ्याउँदै आयो । साँच्चै यसले मलाई जिस्काएको पो हो कि भन्ने लाग्दो रहेछ,’ व्यंग्य शैलीमा उनले भनेका थिए ।

यही प्रसंगलाई लिएर ‘मटन डट वर्ल्ड’ वेबसाइट सार्वजनिक भएपछि भने धेरैले भन्न थालेका छन्– जुन विषयले वर्षौंदेखि पछ्यायो, त्यही विषयलाई उनले आफ्नो प्रचारलाई रोचक तरिकाले उपयोग गरिरहेका छन् ।

‘मटन डट वर्ल्ड’ गगन, उनको सचिवालय वा समर्थकले बनाएका भने होइनन् । गगन स्वयंलाई ‘मटनकाजी’ भन्दै ठट्टा गर्ने चार जेन–जी युवाले यो वेबसाइट तयार गरेका हुन् । ती युवा आफूहरूलाई पार्टी सदस्य नभएकाले परिचयसमेत खुलाउन चाहँदैनन् ।

कसरी तयार भयो त ‘मटन डट वर्ल्ड’ ? कांग्रेसभित्र परिवर्तनको मागसहित तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा २७ पुसबाट विशेष महाधिवेशन हुँदै थियो । तत्कालीन सभापति शेरबहादुर देउवा समर्थकले सामाजिक सञ्जालमा गगनविरुद्ध ‘ट्रेन्ड’ चलाइरहेका थिए, ‘मटनकाजी ।’ कांग्रेसभित्र भइरहेको नेतृत्व परिवर्तनको प्रयासलाई सबैले ध्यान दिएर हेरिरहेका थिए, धुलिखेलको काठमाडौं विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ, पोखरा विश्वविद्यालयमा फरेस्ट्री म्यानेजमेन्ट, पोखरामै व्यवस्थापन र नेपालबाहिर रहेर कम्प्युटर इन्जिनियरिङ पढिरहेका चार जेन–जीलाई पनि यो विषयले छोयो ।

वेबसाइट सार्वजनिक गरेको केही समयमै सामाजिक सञ्जालमा भाइरल पनि भयो, एकै पटक १३ देखि १४ हजारसम्म ‘रियल टाइम भिजिटर’ आए ।मिम बनाउने र सेयर गर्ने पृष्ठभूमिका यी चार जना ग्रुप च्याटमा ‘मटनकाजीले कांग्रेस पल्टाउने भए कि क्या हो ?’ भन्दै ठट्टा गर्थे । तर उनीहरूका लागि मनपर्ने नेता हुन् गगन । ग्रुप च्याटकै क्रममा उनीहरूको मनमा एउटा रमाइलो आइडिया फुर्‍यो– यही मिमलाई लिएर वेबसाइट बनाउने । ख्याल–ख्यालमै उनीहरूले डोमेन र होस्टिङ लिए, एआईको सहयोगमा वेबसाइट तयार गरे– ‘मटन डट वर्ल्ड ।’ 

‘विशेष महाधिवेशनमा एकदमै धेरै प्रतिनिधि उपस्थित भएको भन्दै चर्चा हुन थालेपछि त्यही दिन बेलुकी हामीले यो वेबसाइट बनाएका थियौं,’ चारमध्येका एक युवाले कान्तिपुरसँग भने, ‘मिम (रमाइलो) का रूपमा यो वेबसाइट जेनेरेट गरेका थियौं, तर यसमा सोच्दै नसोचेका भिजिटर आए ।’

वेबसाइट सार्वजनिक गरेको केही समयमै सामाजिक सञ्जालमा भाइरल पनि भयो, एकै पटक १३ देखि १४ हजारसम्म ‘रियल टाइम भिजिटर’ आए ।

वेबसाइट बनाउने एक युवाको भनाइमा यो वेबसाइट ‘सार्केस्टिक’ (व्यंग्यात्मक) हिसाबमा बनाइएको थियो तर धेरै भिजिटर आएपछि थप कोडिङ गरेर ‘कस्टमाइज’ गरियो । ‘सुरुमा एआईबाट बनायौं, त्यसपछि हरेक दिन थोरै–थोरै गर्दै थप्दै लग्यौं । अहिले पनि कतिपय फिचर परिवर्तन गरिरहेका छौं,’ ती युवाले सुनाए, ‘धेरैले यो गगनको टिमबाट तयार गरिएको ठान्छन् तर यो हामी आफैंले गरेको हो । कसैले खटाएको पनि होइन ।’

यो वेबसाइटको चर्चा एकदमै बढेपछि गगनको सचिवालयका केही व्यक्तिले सम्पर्क गरेका छन् । ‘हामीले यो वेबसाइट बनाएको भन्ने उहाँहरूलाई अहिले थाहा छ तर सभापति गगनसँग हामी स्वयंले अहिलेसम्म कुरा गर्न पाएका छैनौं,’ अर्का युवाले भने, ‘गगनको कतिपय काम मन पर्छ ।’

काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहसमेत आफूहरूलाई मन पर्ने उनको भनाइ छ । ‘उहाँ आफ्नो ठाउँमा ठीक हुनुहुन्छ, तर काम गरेको अनुभव पनि हेर्नुपर्छ । गगनका विषयमा मिम आइरहेकाले वेबसाइट बनायौं,’ उनले भने ।

सामाजिक सञ्जालमा वर्षौंदेखि ‘ट्रोल’ बनिरहेको यो विषय कृषि फार्मका लागि अनुदान लिन दिइएको एउटा निवेदनसँग जोडिएको छ । गगन र उनको समूहले खोलेको सुनखानी एकीकृत कृषि केन्द्र प्रालिले नुवाकोटको ककनीमा बाख्रापालनका लागि कृषि मन्त्रालयअन्तर्गतको ‘प्याक्ट (प्रोजेक्ट फर एग्रिकल्चर कमर्सियलाइजेसन एन्ड ट्रेड)’ बाट अनुदान लिन ९ भदौ २०७१ मा सम्झौता गरेको थियो । तर लगत्तै गगन संसद्को कृषि तथा जलस्रोत समितिका सभापति भए ।

त्यसपछि स्वार्थको द्वन्द्व हुने देखिएको भन्दै सम्झौता रद्द गर्न गगनको कम्पनीले नै अनुदान नलिने भन्दै २८ मंसिर २०७२ मा प्याक्टलाई पत्र लेख्यो । कम्पनीका व्यवस्थापक शंकर थापाको निवेदनअनुसार ९ साउन २०७४ मा प्रक्रिया रद्द भएको थियो । उता गगनको बाख्रा पालन व्यवसाय भने घाटामा गयो भने उनले प्याक्टको अनुदान पनि डुबाएको भन्दै प्रचार भयो । तर सम्झौता रद्द भएको र गगनको फार्मले अनुदान नलगेको भन्दै प्याक्टले सार्वजनिक विज्ञप्ति पनि जारी गर्‍यो । तर पनि लगातार बाख्रा फारमको विषय उठेपछि गगन आफैं पनि ‘मटन डट वर्ल्ड’ लाई उपयोग गर्न अग्रसर भएका छन् ।

अहिले वेबसाइटमा गगनमाथि लाग्दै आएको बाख्रासम्बन्धी आरोपको सत्यता के हो भन्नेदेखि देशभरका कांग्रेस उम्मेदवारको विवरण राखिएको छ । ‘प्रोजेक्ट गभर्मेन्ट, जीवनदेखि सबै कुरा सार्वजनिक रूपमा भेटिएका विवरणमा आधारित नै हुन्,’ ती युवा भन्छन् ।

यो वेबसाइट भाइरल भएपछि काउन्टरमा ‘गनगन डट वर्ल्ड’ सार्वजनिक भएको थियो, यसले ‘मटन डट वर्ल्ड’ मा भएका सबै कुरालाई काउन्टर दिन्थ्यो । तर अहिले यो ‘अस्थायी रूपमा बन्द’ भएको सूचना राखिएको छ ।

विश्लेषक शर्माको भनाइमा उनको सबैभन्दा ठूलो आँट र साहस गल्ती स्विकार्ने क्षमता छ । ‘नेपाली राजनीतिमा गल्ती स्वीकार गर्नेहरू कम छन् । कि भाग्छन् कि प्रतिवाद गर्छन् । यसमा गगन अरूभन्दा फरक देखिन्छन्,’ उनी भन्छन् ।बरु ‘मटन डट वर्ल्ड’ नयाँ फिचर राखिएको छ– ‘समर्थन जनाउनुहोस् ।’ यस फिचरमा ‘आन्दोलनमा सामेल हुनुहोस्, नयाँ, समुन्नत नेपाल निर्माणका लागि हामीसँग जोडिनुस्’ भनिएको छ । ‘समर्थन जनाउनुहोस्’ मा त्यहाँ ‘क्लिक’ गर्दा ‘बाख्रा’ कराउँछ, अनि मतदान गरेझैं छाप लाग्छ । यही फिचरमा उल्लेख भएको विवरणअनुसार शनिबार अपराह्न ५ बजेसम्म १० करोड ७७ लाख पटकभन्दा बढी समर्थन बटनमा क्लिक भएको देखिन्छ । 

ज–जसले ‘बाख्रा’ भनेर ‘ट्रोल’ गरिरहेका छन्, त्यही जमातलाई हाँसो र उत्साहसाथ आकर्षित गर्ने तरिका राजनीतिक विश्लेषक हरि शर्मालाई सकारात्मक लाग्छ । ‘अरूले के भन्छन्, मतलब भएन । मलाईचाहिँ मन पर्‍यो,’ उनी भन्छन्, ‘पहिलो, यसले ट्रोल गर्ने जमातलाई गाली गर्दैन, बरु उनीहरूलाई सत्य बुझाउन आमन्त्रित गर्छ । यो समाजिक सञ्जालको नयाँ रणनीति हो । नभएको कुरामा किन डराउने भन्ने पनि हो । जसले घरीघरी जिस्काएका थिए, त्यही जमातलाई सहजताका साथ लिएपछि अब के भनेर जिस्काउने भन्ने पनि भयो । ट्रोल बनाएर आफूसँग जुधिरहने मान्छेलाई पनि आफ्नो एजेन्डामा तान्ने काम गर्‍यो ।’

विश्लेषक शर्माको भनाइमा उनको सबैभन्दा ठूलो आँट र साहस गल्ती स्विकार्ने क्षमता छ । ‘नेपाली राजनीतिमा गल्ती स्वीकार गर्नेहरू कम छन् । कि भाग्छन् कि प्रतिवाद गर्छन् । यसमा गगन अरूभन्दा फरक देखिन्छन्,’ उनी भन्छन् ।

जेन–जी आन्दोलनका क्रममा गत २३ भदौमा १९ जनाको ज्यान जाने गरी भएको दमनबारे उठेका प्रश्नलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गर्दै आएका छन्, तत्कालीन सरकार प्रमुख भए पनि जिम्मेवारीे अझै लिएका छैनन् । कांग्रेसका तत्कालीन सभापति देउवा र उनको समूहका अधिकांश नेताले २३ भदौको घटनालाई भन्दा भोलिपल्टको तोडफोड र आगजनीलाई बढी प्राथमिकता दिइरहेका छन् । उनीहरू जेन–जीले उठाएका मुद्दा आत्मसात् गर्न तयार भएका छैनन् । त्यसैको प्रतिक्रियाका रूपमा पार्टीभित्र विद्रोह नै भयो । विशेष महाधिवेशन बोलाएर नेतृत्व नै परिवर्तन गरियो ।

नेतृत्वमा आएपछि गगनले जेन–जीका मुद्दालाई सम्बोधन गर्ने वाचा मात्रै गरेका छैनन्, २३ र २४ भदौका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने अडान पनि लिएका छन् । त्यो स्थिति आउनुमा आफूहरूको पनि कमजोरी भएको भन्दै आफ्नोतर्फबाट सार्वजनिक रूपमा गल्ती स्विकारेका छन् । ‘सुन्दा यो सामान्य लाग्छ तर गल्ती स्विकारेर अघि बढ्ने नेताप्रति नै बढी आशा र भरोसा हुन्छ,’ विश्लेषक शर्मा भन्छन् ।

जेन–जी आन्दोलनपछि भएको विशेष महाधिवेशनले कांग्रेसको परम्परागत ‘सिन्डीकेट’ तोडेको छ । पार्टी नेतृत्व र नीति बदलिएका छन् । तर सिंगो पार्टीलाई आफूले बोकेको विचारमा हिँडाउने र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन राखेर अघि बढ्ने चुनौती नवनिर्वाचित सभापति गगनसामु छ । पार्टी नेतृत्व लिएको छोटो समयमै प्रतिनिधिसभा निर्वाचनको परीक्षामा उत्रनु परिरहेको छ ।

अन्तर्राष्ट्रिय जगत्मा उनको सम्बन्ध र प्रभाव अझै परीक्षण भइनसके पनि आफूले गरेको गल्ती स्वीकार गर्ने र सच्चिएर हिँड्ने बानी रहेकाले गगनप्रति आशाका नजरले हेरिएको विश्लेषक शर्मा बताउँछन् । ‘स्वाभाविक रूपमा उनको भूमिका बदलिएको छ । हिजो प्रश्न गर्ने ठाउँबाट अब जवाफ दिने ठाउँमा छन् । तर टिमसँग काम गर्न सक्ने र सबैको कुरा सुन्ने हुनाले उनलाई धेरै ठूलो चुनौती हुँदैन जस्तो लाग्छ,’ उनी भन्छन् ।

गगन अब्बल तहको शैक्षिक वातावरण भएको परिवारमा हुर्केका हुन् । उनका बुबा महेन्द्रकुमार थापा सिभिल इन्जिनियर हुन् । गगन चार दाजुभाइमा माइला हुन् । जेठा दाइ पवन भारतबाट बीएस्सी र नेपालबाट एमएस्सी इन्जिनियरिङका ‘टपर’ विद्यार्थी हुन् । थप अध्ययनका लागि जर्मनी गएर उनी त्यतै छन् । साइँला सुमन पनि इन्जिनियर नै हुन् । कान्छा जीवन एसएलसीका ‘बोर्ड थर्ड’ हुन् र अहिले डाक्टर छन् । सुमन र जीवन अमेरिकामा बस्छन् ।

बुबाको चाहना गगनलाई डाक्टर वा इन्जिनियर बनाउने थियो । उनको सपना पनि त्यस्तै थियो । तर विभिन्न घटनाक्रमले उनी राजनीतितिर लागे । त्रिचन्द्र क्याम्पसमा बीएस्सीसम्म अध्ययन गरे । त्यसपछि उनले समाजशास्त्रमा स्नातकोत्तर गरे ।

बुबाको चाहना गगनलाई डाक्टर वा इन्जिनियर बनाउने थियो । उनको सपना पनि त्यस्तै थियो । तर विभिन्न घटनाक्रमले उनी राजनीतितिर लागे । त्रिचन्द्र क्याम्पसमा बीएस्सीसम्म अध्ययन गरे । त्यसपछि उनले समाजशास्त्रमा स्नातकोत्तर गरे ।राजनीतिमा गगनको पहिचान त्रिचन्द्रमा नेविसंघको नेताबाटै सुरु भएको हो, जति बेला उनी आईएस्सी पढ्दै थिए । उनी २०५१ मा स्ववियु सदस्य निर्वाचित भए । त्यति बेला उनले सबैभन्दा बढी मत ल्याएका थिए । दुई वर्षपछि सचिव भए । सचिवमा भिड्दा विद्रोही र पार्टीको आधिकारिक प्यानल प्रतिस्पर्धामा थिए । 

आधिकारिक प्यानलको नेतृत्व राजेश राईले गरेका थिए भने हरि आचार्यले विद्रोह खेमाको । तर गगन दुवै समूहको रोजाइमा परेर विजयी भए ।

२०५५ मा स्ववियु सभापतिमा उम्मेदवारी दिए । छिरिङ तेन्जिङ लामा विद्रोह गरेर सभापतिमा उठे । तर अत्यधिक मतसहित गगन निर्वाचित भए । २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बने । महामन्त्री भएकै बेला चलेको विद्यार्थी आन्दोलनका क्रममा उनले देखाएको सक्रियताको चर्चा अहिले पनि हुन्छ ।

त्यति बेला त्रिचन्द्रमै अध्ययन गरेका सुबोध आचार्यका अनुसार गगन त्यति बेलै राम्रो वक्ता थिए, साथीभाइ सबैसँग मिल्ने स्वभाव थियो । ‘स्ववियु सभापति भएपछि त्रिचन्द्रको धुलाम्मे चौरलाई गार्डेन बनाए । विभिन्न व्यक्ति र संस्थाबाट सहयोग जुटाएर क्याम्पसमा बीपी पुस्तकालय बनाए,’ आचार्यले सुनाए ।

गगनकै पहलमा त्रिचन्द्र क्याम्पसमा इन्टरनेट जोडिएको थियो । ‘त्यति बेला भर्खरै इन्टरनेटको चर्चा मात्रै थियो । इन्टरनेट कलेजमा ल्याउनुपर्छ भनेर उनकै पहलमा पुस्तकालयमा दुई/तीन वटा कम्प्युटर राखियो । इन्टरनेट जोडियो,’ उनले भने, ‘हामीलाई इन्टरनेट भन्ने नै थाहा थिएन । गगन भने आँखा छलेर ठमेलतिर साइबरमा छिरेर नेट चलाउँथे । आईटीसँग पहिल्यैदेखि नजिक हुन खोज्ने उनी अग्रगामी सोच भएका नेता हुन् ।’

पार्टी महामन्त्री भएपछि पनि गगनकै पहलमा सानेपास्थित पार्टी कार्यालयमा नमुना पुस्तकालय बनाइएको पनि आचार्यले जानकारी दिए । उनले थपे, ‘कलेजमा उनको पहलमा खुलेको पुस्तकालय तत्कालीन विद्रोही माओवादीले जलाइदिए । सानेपाको पुस्तकालय जेन–जी विद्रोहका क्रममा जल्यो ।’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले १९ माघ २०५९ मा शासन सत्ता आफ्नो हातमा लिएपछि नेताहरू पक्राउ पर्न थालेका थिए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला निवासमै नजरबन्द थिए । अरू केही नेता पनि नजरबन्दमा परे, कतिपय नेताहरू लुकेर भारत पुगे । गगन काठमाडौंमा थिए तर घर बसेनन् । प्रहरीलाई छल्दै कोणसभा गर्थे अनि भाग्थे ।

‘रातोपुलस्थित उनको घरमा बारम्बार पुलिस पुग्थ्यो तर गगन र हामी बाहिरबाहिरै हुन्थ्यौं । नाराजुलुस, कोणसभा गर्थ्यौं, भाग्थ्यौं । त्यति बेला पनि लोकतन्त्रका लागि बोल्नुपर्छ भनेर नडगमगाएको मान्छे हो गगन,’ त्यति बेला सँगसँगै राजनीतिक गतिविधिमा सक्रिय रहेका सुबोध आचार्य सम्झन्छन्, ‘गगनले चोरऔंला ठड्याएको एउटा तस्बिर अहिले पनि भाइरल छ । त्यो तस्बिर त्यति बेला कलंकी चोकको कोणसभामा खिचिएको हो ।’

गगनले ढुंगा हान्दै गरेको तस्बिर पनि सामाजिक सञ्जालमा बेला–बेला आइरहन्छ । बागबजारको पद्मकन्या कलेजनजिक प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भइरहेका बेला त्यो तस्बिर खिचिएको थियो ।

गगनले ढुंगा हान्दै गरेको तस्बिर पनि सामाजिक सञ्जालमा बेला–बेला आइरहन्छ । बागबजारको पद्मकन्या कलेजनजिक प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भइरहेका बेला त्यो तस्बिर खिचिएको थियो ।शाही सत्ताविरुद्ध १ पुस २०६० मा भएको विद्यार्थी आन्दोलनमा नारा घन्काउँदा सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन सरकारले नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री थापा र अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको आरोपमा पक्राउ गरेको थियो । १० दिनपछि उनीहरू हिरासतमुक्त भए । नागरिक समाजले १० साउन २०६१ मा आयोजना गरेको कार्यक्रममा गगनले राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा भाषण गरे । यो बेलासम्म मातृ पार्टी कांग्रेस गणतन्त्रको पक्षमा थिएन । पार्टीको निर्णयभन्दा फरक गणतन्त्रको पक्षमा बोलेको दुई दिनपछि उनी पक्राउ परे । 

आचार्यका अनुसार अनामनगर प्रहरी चौकीको हिरासतमा रहेका तत्कालीन विद्यार्थी नेता प्रदीप पौडेललाई भेट्न जाँदा गगन पक्राउ परेका थिए । राजद्रोह गरेको आरोपमा पक्राउ परेका उनी नेविसंघको पोखरा महाधिवेशनको अघिल्लो दिन रिहा भए । हिरासतमै रहेका बेला उनले सभापतिमा आफ्नो उम्मेदवारीका लागि प्रदीप हुमागाईंलाई वारेसनामा दिएर पोखरा पठाएका थिए । ‘गगन रिहा भएपछि रातारात गाडीबाट हामी पोखरा पुग्यौं । महाधिवेशन नै भाँडियो । पछि २०६४ मा भएको दसौं महाधिवेशनमा गगन आफैंले प्रदीप पौडेललाई सभापति बनाए,’ आचार्यले सुनाए । 

नेविसंघको महामन्त्री हुनुभन्दा अगाडि गगन उपाध्यक्ष भएका थिए । त्यति बेला संघको अध्यक्षमा विश्वप्रकाश शर्मा चुनिएका थिए । ‘२०५७ मा भएको महाधिवेशनमा अध्यक्षमा विश्वप्रकाश शर्मा र किशोर राठोरबीच कडा प्रतिस्पर्धा भएको थियो । पाँच विकास क्षेत्रका आधारमा उपाध्यक्ष पद थियो । बागमतीबाट उपाध्यक्षमा गगनले उम्मेदवारी दिए । उनी कुनै पनि प्यानलमा परेका थिएनन् तर पनि राम्रो मत ल्याएर चुनाव जिते,’ आचार्यले भने ।

२०५९ मा भएको महाधिवेशनबाट गगन सर्वसम्मत रूपमा महामन्त्री भएका थिए । त्यति बेला नेविसंघ अध्यक्षमा गुरु घिमिरे थिए । संयोग यस्तो भयो कि, गगन अहिले पार्टी सभापति छन् भने शर्मा उपसभापति र घिमिरे तथा पौडेल महामन्त्री ।

गगन पार्टीमा गिरिजाप्रसाद कोइराला सभापति हुँदादेखि नेतृत्वसँग पौंठेजोरी खेल्दै राजनीतिक उचाइ लिएका नेता हुन् । पार्टी सत्तालाई सधैं प्रश्न गर्दै आएका उनी गत २७–३० पुसको विशेष महाधिवेशनबाट जवाफ दिनुपर्ने ठाउँमा छन् । विगतमा पार्टीभित्र र बाहिर आफैंले उठाएका तमाम प्रश्नहरूलाई आफैंले सम्बोधन गर्नुपर्ने जिम्मेवारीमा छन् उनी । पार्टीमा उनी केन्द्रीय सदस्य, महामन्त्री हुँदै सभापति भएका हुन् । पार्टीको १३ औं महाधिवेशनमा महामन्त्री उठ्दाबाहेक विद्यार्थी जीवनदेखि कहिल्यै चुनाव हारेका छैनन् ।

४९ वर्षीय गगनले संसदीय राजनीतिको लामो अनुभव बटुलिसकेका छन् । उनी २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए । त्यसयताका तीन आमनिर्वाचन (२०७०, २०७४ र २०७९) मा उनी काठमाडौं–४ बाट विजयी भए । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट प्रतिस्पर्धा गर्दै छन् । सर्लाहीमा झर्ने उनको यो निर्णय जोखिमपूर्ण भन्दै अहिले पार्टी भित्र र बाहिरबाट चर्चा भइरहेको छ । उनी अहिले प्रतिस्पर्धा गरेको क्षेत्रमा गत निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेका अमरेशकुमार सिंह विजयी भएका थिए । तर गगन भने आफू ठूलो मतान्तरले विजयी हुने भन्दै पार्टी पंक्तिलाई ढुक्क बनाइरहेका पार्टीका पदाधिकारीहरू बताउँछन् ।

प्रायः नेताहरूको जीवन व्यवस्थित हुँदैन । कार्यक्रममा जाने, नेता तथा कार्यकर्ता भेट्ने, बोल्न तयारी गर्नेजस्ता विषयमा नेताहरू अस्तव्यस्त हुन्छन् । यसमा गगन अपवादजस्तै छन् । उनी सम्बन्धित विषयवस्तुमा अध्ययन नगरी संसद्मा बोल्दैनन् भन्ने उनका सहयात्रीहरूको दाबी छ । आफ्नो गहिरो पकड नभएको क्षेत्रबारे बोल्नुअघि विज्ञहरूसँग छलफल गर्छन्, सुझाव लिन्छन् ।

‘उनी निकै पढ्छन्, लेख्छन्, लगनशील छन् । अर्को महत्त्वपूर्ण पक्ष, उनले आफ्नो टिममा फरक–फरक पृष्ठभूमिका नयाँ युवा ल्याएका छन् । उमेर र विचार दुवैले युवा तिनैसँग नजिक बसेर काम गर्छन् । संसद्मा होस् वा अन्य कुनै मञ्चमा, उनी सधैं गहिरो अध्ययनसाथ प्रस्तुत हुन्छन्, जुन नेपाली राजनीतिमा कमै देखिन्छ,’ राजनीतिक विश्लेषक शर्मा भन्छन् ।

गगन र बीपी कोइराला दुवैको राशि मेष हो भने दुवैको न्वारनको नाम थियो– चूडामणि । ‘मेष राशिको मान्छे एकोहोरो हुन्छ भनिन्छ, तर गगन त्यस्ता थिएनन् । साथीभाइलाई पर्दा सहयोग गर्ने, घुलमिल हुने सानैदेखिको बानी हो । कसैलाई अप्ठ्यारो पर्‍यो भने खल्तीको पैसा सबै दिने गर्थे ।उनका अनुसार गगनले अहिलेसम्मको सार्वजनिक जीवनमा एक/दुई ठाउँमा दिएका अभिव्यक्तिबाहेक खासै ठूलो गल्ती गरेका छैनन् । भन्छन्, ‘बीपी कोइराला अनुभवले खारिएका, लामो संगठनात्मक जीवन बिताएका व्यक्ति थिए । उनको विचारमा पनि स्पष्टता थियो । धेरै नबोलेर पनि उनले काम गरेर देखाए । गगन टिम बनाएर, तयारी गरेर बोल्ने गर्छन् । विचारमा खारिँदै गएको देखिन्छ ।’ 

गगन र बीपी कोइराला दुवैको राशि मेष हो भने दुवैको न्वारनको नाम थियो– चूडामणि । ‘मेष राशिको मान्छे एकोहोरो हुन्छ भनिन्छ, तर गगन त्यस्ता थिएनन् । साथीभाइलाई पर्दा सहयोग गर्ने, घुलमिल हुने सानैदेखिको बानी हो । कसैलाई अप्ठ्यारो पर्‍यो भने खल्तीको पैसा सबै दिने गर्थे । उसको खल्तीमा प्रायः पैसा हुन्थेन । विन्दास पाराले हिँड्ने खालका थिए ।’ आचार्य सम्झन्छन्, ‘एक पटक दरबारमार्गमा पार्किङको शुल्क तिर्ने पैसा भएन । धेरै अनुरोध गरेर निस्कनुपरेको थियो । अहिले पनि बानी उस्तै छ ।’

समय व्यवस्थापनमा भने गगन निकै व्यवस्थित छन् । नियमित कार्यक्रम र भेटघाट मिलाउने गगनको सचिवालय पनि उत्तिकै सक्रिय छ । सचिवालय व्यवस्थित गर्न केही सहयोगीले डिजिटल ‘एप’ नै बनाइदिएका छन् । ‘जीकेएस’ (गगनकुमार सेक्रिटेरियट) नामको एपमा राजनीतिक भेटघाटको तालिका, कुन कार्यक्रममा जाने/नजाने, कुन दिन कसलाई भेट्नेजस्ता विषयलाई व्यवस्थित गरिन्छ । एपलाई आचार्यसहितको टिमले सञ्चालन गर्छ । यसमा सचिवालयको टिमसँग मात्रै पहुँच छ, सार्वजनिक छैन ।

विद्यार्थी राजनीतिमा गगनसँगै सक्रिय सहपाठी थिए सुरजराज काफ्ले । गगन र सुरजले बीएस्सी र समाजशास्त्रमा एमए सँगै गरेका हुन् । विद्यार्थी राजनीतिमा गगन अघिअघि र सुरज पछिपछि उक्लिरहेका थिए । गगन २०६४ मा संविधानसभा सदस्य भएपछि दुई जनाको राजनीतिक यात्रा छुट्यो । तिनै सुरजले २०७९ को स्थानीय तहको निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाहले जितेपछि महानगरको सहरी योजना आयोगको सदस्य भएर काम गरे । प्रतिनिधिसभा निर्वाचनमा भाग लिन बालेन्द्रले मेयरबाट राजीनामा दिएपछि उनले पनि महानगर छाडे । ‘तीन वर्षदेखि बालेनलाई नजिकबाट देखिरहेको छु, गगनसँग भने २५ वर्षदेखि सँगै छु । चुनावी मैदानमा दुवै भावी प्रधानमन्त्रीका प्रतिस्पर्धी छन् । यी दुईमा तुलना गर्दा राज्य सत्ता बुझेको, आँट र साहस भएको, राज्य सञ्चालनमा छोटो भए पनि अनुभव भएको, भूराजनीतिक अवस्थाको जानकार, कुनै विषयमा तर्क र तथ्यपूर्ण बहस गर्न सक्ने र विषयमा पकड भएको नेता गगन नै लाग्छ,’ उनी भन्छन्, ‘बालेन सार्वजनिक रूपमा बहसमा आउन नसक्ने, जनतासँग नभिजेका र कांग्रेस–एमालेको वितृष्णाबाट उदाएका नेता हुन् । उनमा अझै अनुभवको खाँचो छ ।’

दुःख पर्दा पनि त्यसैअनुसार जिउन सक्ने र जतिसुकै कष्टमा पनि आत्मबल कमजोर नबनाउने नेताका रूपमा आफूले गगनलाई चिनेको सुरज बताउँछन् । उनका अनुसार बीएस्सी पढ्दै गर्दा गगन घरमा मात्रै होइन, ‘होम ट्युसन’ पढाउन साइकल चढेर धेरै ठाउँ पुग्थे, एफएममा काम गर्थे । त्यसबाटै आएको पैसाले पढाइ र खाजा खर्च जोहो गर्थे ।

गगन बास्केटबलका राम्रा खेलाडी हुन् । सहपाठी आचार्यका अनुसार अन्तरक्याम्पस वा क्याम्पसभित्र हुने बास्केटबलको प्रतिस्पर्धामा उनी ‘बेस्ट स्कोरर’ हुन्थे ।

२७ वर्ष अगाडि रेडियो नेपाल १०० मेगाहर्जमा सञ्चालित धार्मिक कार्यक्रमबाट गगन रेडियोमा छिरेका थिए । विज्ञान पढेका गगनले धार्मिक कार्यक्रम कसरी चलाए होला ? उनले केही समय अगाडि कान्तिपुरसँग त्यसबारे भनेका थिए, ‘भगवान् श्रीकृष्ण भन्नुहुन्छ, परोपकारभन्दा पुण्य केही हुन सक्दैन । सफा मनले परोपकार गरौं, पुण्य कमाऔं ।’

केही समय रेडियो नेपालमा धार्मिक कार्यक्रम चलाएपछि उनी इमेज एफएममा गए, जहाँ करिब ६ वर्ष काम गरे । इमेजमा उनी बिहानको पत्रपत्रिकामा प्रकाशित समाचार पढ्थे । नेविसंघको महामन्त्री हुँदासम्म उनको परिचय रेडियोकर्मीका रूपमा पनि थियो ।

रास्वपाले वरिष्ठ नेता बालेन्द्रलाई र कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री भनेर मत मागिरहेको छ । गगनले प्र्रधानमन्त्री भएको पहिलो दिनदेखि नै के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ अन्तर्गत लामो गृहकार्य गर्दै आइरहेका छन् ।इमेज च्यानलमा समाचार पढ्दाको रोचक अनुभव पनि उनीसँग छ । तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज २०५९ मा असंवैधानिक कदम चालेपछि गगन दिनभर सडकमा आन्दोलनमा हुन्थे । कहिले प्रहरीको पिटाइ खान्थे । सडकमा ढुंगामुढा हुन्थ्यो । ‘झडपमा गगन थापा घाइते भएका छन्’ भनेर आफैं समाचार पढ्थे । ‘पत्रिकामा छापिएको त्यस्तो समाचार पढ्दा आफूलाई पनि कस्तो–कस्तो लाग्थ्यो । इमेजका अध्यक्ष आरके मानन्धरले एक दिन आएर आफू घाइते भएको समाचार आफैं पढ्ने ? भन्नुभयो । मलाई पनि अप्ठ्यारो लाग्यो । त्यसपछि छाडें,’ केही समय अगाडि कान्तिपुरसँग थापाले भनेका थिए । 

रास्वपाले वरिष्ठ नेता बालेन्द्रलाई र कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री भनेर मत मागिरहेको छ । गगनले प्र्रधानमन्त्री भएको पहिलो दिनदेखि नै के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ अन्तर्गत लामो गृहकार्य गर्दै आइरहेका छन् ।

मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउने सम्भावना कम छ । दुई वा दुईभन्दा बढी दल मिलेर सरकार सञ्चालन गर्दा सहयात्रीबीचकै बेमेलले बारम्बार सरकार अदलबदल भइराख्ने प्रवृत्ति छ । यस्तो अवस्थामा प्रधानमन्त्री भए पनि आफ्नो तजबिजअनुसार काम गर्न सक्ने अवस्था हुँदैन । केही महिना त अलमलमै बित्छ । त्यसपछिका कार्यसम्पादन बरालिने गरेको देखिन्छ ।

गगन भने कार्ययोजना प्रधानमन्त्री हुने सपना लिएको नेताले प्रधानमन्त्री भएकै दिनदेखि के गर्ने भन्ने गृहकार्य गर्नुपर्ने तर्क गर्छन् । उनले यस्तो तयारी दुई वर्ष अगाडि नै थालेका थिए, ‘प्रोजेक्ट गभर्मेन्ट’ मार्फत । त्यसैअन्तर्गत ३१ क्षेत्रमा विषय विज्ञहरूको अनुसन्धानका आधारमा उनले नीति तयार पारिरहेका छन् । खासगरी स्वास्थ्य क्षेत्रलाई उनले प्राथमिकतामा राखेका छन् । आफू ९ महिना स्वास्थ्यमन्त्री हुँदा बसालेको जग र सपनालाई पूरा गर्न उनले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा नै गरिसके ।

गगन तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ९ महिने सरकारमा स्वास्थ्यमन्त्री भएका थिए । त्यति बेलै हो, कानुन बनाएरै सबैलाई अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने योजना सुरु गरिएको थियो । यसमा विपन्नलाई राज्यले बिमा गराइदिने र सक्नेले पैसा तिरेर बिमा गर्ने नीति लिइएको छ । गगन स्वास्थ्यमन्त्री भएकै बेला विशिष्ट व्यक्तिको उपचार खर्चको मनपरीलाई कानुन बनाएरै रोकिएको हो ।

गगनले संघीयताअनुरूप स्वास्थ्य प्रणालीको खाका र समन्वयको आधार तयार पारे । विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपणको कार्यक्रम ल्याए । स्वास्थ्य बिमाको कार्यान्वयनमा अहिले बाधा अड्चन आइरहेका बेला त्यसलाई निरन्तरता दिने, थप व्यवस्थित र वैज्ञानिक बनाउने योजनासहित गगनले राष्ट्रिय गौरवको कार्यक्रममा राखेका छन् । शिक्षा, सूचना प्रविधि, पूर्वाधारसहित सार्वजनिक सेवालाई छिटो–छरितो बनाउन डिजिटल प्रणालीको विकासमा उनले जोड दिएका छन् ।

बदल्नुपर्ने नीति, बनाउनुपर्ने कानुन, काम गर्दा बदल्नुपर्ने शैलीबारे उनले घोषणापत्रबाट प्रस्ट लेख्ने दाबी गर्दै आएका छन् । पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका कारण घोषणापत्र निर्माणमा उनी आफैंले नेतृत्व गरेका छन् । घोषणापत्रका मुख्य अंशहरूलाई भिडियोमार्फत सन्देशका रूपमा सार्वजनिक गरिरहेका छन् ।

‘भौतिक पूर्वाधारसँग आर्थिक विकास, सुशासन, मानवको आवश्यकता र आमनागरिकले जहाँ–जहाँ समस्या भोगिरहेका छन्, ती क्षेत्रका अलावा प्रगति र सम्मानसँग जोडिएका मानवीय विकासका समस्यालाई समेत जोडेर नीति बनाउन खोजिएको छ,’ गगनका कानुनी सल्लाहकार प्रताप पौडेल भन्छन्, ‘हिजो किन गर्न सकेनौं, आज कसरी कार्यान्वयन गर्छौं भन्ने विषयमा आर्थिक विकास, पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत क्षेत्रका समस्या र कार्यान्वयनका पाटामा विज्ञसँग अध्ययन गरेर योजना ल्याउँदै छौं ।’

परम्परागत राजनीतिक दलको विकल्पमा खुलेका राजनीतिक दलहरूले आफूहरू नै नयाँ भन्दै आएका छन् । तर गगन कांग्रेस सबै दृष्टिले नयाँ भएको तर्क गरिरहेका छन् । उनका अनुसार विशेष महाधिवेशनपछि कांग्रेसका परम्परागत नीति धेरै बदलिएका छन् । पार्टीको नेतृत्व पहिलो पुस्ताबाट एकैचोटि तेस्रो पुस्तामा आएको छ । निर्वाचन आयोगमा २ माघमा भएको अद्यावधिकका आधारमा सबैभन्दा कान्छो दल पनि कांग्रेस भएको उनको तर्क छ ।

विशेष महाधिवेशनबाट कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय लियो, जसको कार्यान्वयन पनि भयो । कांग्रेसकै कारण अरू राजनीतिक दलबीच पनि चुनावी गठबन्धन भएन । धेरै समयपछि सबै राजनीतिक दलले आफ्नो चुनाव चिह्नमा भोट हाल्न पाउने अवस्था बन्यो ।

कांग्रेसले चुनावको टिकट वितरण प्रणालीमा पनि सुधार गर्‍यो । पुराना अधिकांशले टिकट पाएनन्, चुनावी मैदानमा नयाँ उम्मेदवार उल्लेख्य संख्यामा छन् । कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६ ठाउँमा नयाँलाई उम्मेदवार बनाएको छ । गगनका सहपाठी सुरजराज काफ्लेका अनुसार दुई दशकयता पैसा नलिई कांग्रेसले टिकट वितरण गरेको यसैपालि हो ।

भावी प्रधानमन्त्रीको दौडमा मुख्य तीन नेता देखिए पनि मैदानमा गगन र बालेन्द्रलाई सम्भावनाको नजरबाट हेर्ने गरिएको उनी बताउँछन् ।‘कांग्रेसको इतिहासमा यो महत्त्वपूर्ण डिपार्चर हो । २०५६ सम्म टिकट दिँदा कसैसँग पनि पैसा लिने चलन थिएन । त्यसपछि बिस्तारै टिकट बिक्री गर्न थालियो । सिद्धान्तभन्दा सत्तालाई केन्द्रमा राखेर गठबन्धन गरियो,’ काफ्ले भन्छन्, ‘पाँच पटक प्रधानमन्त्री भएका नेता र उनका साथमा रहेका सात भाइलगायतका नेता विरोधमा हुँदा पनि गगनले जुन आँट र साहस लिएर विशेष महाधिवेशनबाट कांग्रेसलाई नयाँ बनाए, यो जोसुकैले गर्न सक्ने काम होइन ।’ 

अब सबै तहका निर्वाचनमा उम्मेदवार ‘प्राइमरी निर्वाचन’ बाट मात्रै उम्मेदवार तय गर्ने नयाँ नीति कांग्रेसले लिएको छ । तर यसपालि भने कांग्रेसभित्र ‘प्राइमरी निर्वाचन’ भएन । विशेष महाधिवेशनबाट नेतृत्व चयन र निर्वाचन आयोगमा अद्यावधिक गर्ने दौडधुपबीच नै उम्मेदवारी दर्ताको मिति आएकाले पार्टीभित्र ‘प्राइमरी निर्वाचन’ गर्न नसकिएका कांग्रेसका नेताहरूको भनाइ छ । तर कांग्रेसले महाधिवेशलगत्तै उपसभापति विश्वप्रकाश शर्माले अघि सारेको प्रस्तावअनुसार एक व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक निर्वाचित सांसद हुन पाउने व्यवस्था विधानमै राखिएको छ ।

भावी प्रधानमन्त्रीको दौडमा मुख्य तीन नेता देखिए पनि मैदानमा गगन र बालेन्द्रलाई सम्भावनाको नजरबाट हेर्ने गरिएको उनी बताउँछन् । ‘सत्ताको म्युजिकल चेयरमा पूर्वप्रधानमन्त्रीलाई अब फेरि आमनागरिकले हेर्न चाहेका छैनन् । त्यसैले अब गगन र बालेनबीच नै प्रतिस्पर्धा छ,’ उनी भन्छन् ।

परम्परागत दलको पुरानो नेतृत्वले जन्माएको वितृष्णाको लहर समाजमा फैलिँदो छ । यस्तो अवस्थामा पार्टीभित्र विद्रोह गरेर नीति र नेतृत्व बदलेका गगनलाई प्रधानमन्त्रीको दौडमा अघि बढ्न सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्नुपर्नेछ । आफू मात्र जितेर हुँदैन, पार्टीलाई संसद्को बलियो शक्ति बनाउनुपर्नेछ । यो चुनौतीको परीक्षा तीन साताभित्रै हुँदै छ ।

कुलचन्द्र न्यौपाने

गौरव पोखरेल गौरव कान्तिपुरका पत्रकार हुन् । उनी सुरक्षा मामिला र सुशासनका विषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully