आसन्न निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेका नरेश भण्डारी, मनऋषि धिताल, बिर्खबहादुर शाही र भक्तबहादुर रावल पहिले तत्कालीन नेकपा माआवादीमा आवद्ध थिए ।
What you should know
जुम्ला — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक पहिलेका सहयात्री चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर एकसाथ राजनीतिक यात्रा गरेका व्यक्ति फरक–फरक दलबाट प्रतिस्पर्धी बनेका हुन् ।
आसन्न निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेका नरेश भण्डारी, मनऋषि धिताल, बिर्खबहादुर शाही र भक्तबहादुर रावल पहिले तत्कालीन नेकपा माआवादीमा आवद्ध थिए । भण्डारी नेपाल कम्युनिष्ट पार्टी, धिताल प्रगतिशील लोकतान्त्रिक पार्टी, शाही नेकपा माओवादी र भक्तबहादुर रावल स्वतन्त्र उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका छन् । चारै जना तत्कालीन माओवादी सशस्त्र युद्धका बेला एउटै मोर्चामा रहेका थिए ।
कुनै बेला एकबद्ध उनीहरु अहिले फरक दल र चिन्हका साथ निर्वाचनमा होमिदा जिल्लाको चुनावी माहोल रोचक बनेको छ । मुलुकमा सशस्त्र युद्धका बेला एउटै राजनीतिक लक्ष्य साथ ‘भूमिगत’ जीवन बिताएका उनीहरूबीच अहिले चर्को ध्रुवीकरण देखिएको छ । चारै जना अहिले जिल्लामा भोट माग्न व्यस्त छन् ।
भण्डारीले सशस्त्र युद्धकालीन राजनीतिक अनुभव र आफूले गरेका विकासका कामको आधारमा चुनाव जित्ने दाबी गरेका छन । विकास र सुशासनको एजेण्डालाई प्राथमिकतामा राखेको उनले बताए । धितालले परिवर्तनका अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई वैकल्पिक शक्तिका रुपमा हेर्न आग्रह गरिरहेका छन् । नीति निर्माणदेखि विकासका काममा दत्तचित्त भएर लाग्ने प्र्रणसहित घरदैलोमा छन् ।
असली माओवादी विचारधाराको प्रतिनिधि आफू भएको दाबी गर्दै नेकपा माओवादीका शाही भोट माग्न व्यस्त छन् । तत्कालीन सशस्त्र युद्धका सहिद, घाइते र बेपत्ता परिवारको मन जीत्ने कसरतमा उनी देखिन्छन् । सशस्त्र बिद्रोहका आदर्श, त्याग र बलिदानलाई संस्थागत गर्नुपर्ने भन्दै विगतका उपलब्धि संरक्षण गर्दै जनतामुखी कार्यक्रममार्फत पुनः संगठनलाई मजबुत बनाउने अभियान खाँचो रहेको बताइरहेका छन् ।
स्वतन्त्र उम्मेदवार रावल सशस्त्र बिद्रोहको पृष्ठभूमि भए पनि कुनै दलसँग आबद्ध छैनन् । दलगत स्वार्थभन्दा माथि उठेर विकास र सुशासनका मुद्दा उठाउने वाचा गरिरहेका छन् । कृषि र विकास निर्माण र रोजगार प्राथमिकतामा रहेको उनले बताए ।
तत्कालीन माओवादीको हसिया हथौडामा पटकपटक मतदान गरेका उनीहरु फरक–फरक चुनाव चिन्ह र दलबाट चुनावी मैदानमा उत्रिएपछि मतदाता अन्योलमा छन् । २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा भण्डारी विजयी भएका थिए । बाँकी तीन जनाले भण्डारीलाई जिताउन भूमिका खेलेका थिए ।
२०५२ देखि २०६३ सम्म चलेको सशस्त्र युद्धले मुलुकको राजनीतिक संरचनामा ठूलो परिवर्तन ल्याएको उनीहरुको भनाई छ । शान्ति प्रक्रिया हुँदै माओवादी मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको थियो । आन्तरिक विवाद, नेतृत्व बीचको द्वन्द्व, विचार र व्यवहारमा असन्तुलन र सत्तामुखी प्रवृत्तिका कारण तत्कालीन माआवादी कमजोर बनेको यहाँका राजनीतिक विश्लेषक बताउँछन् ।
यसपटक जिल्लामा २०७९ मा विजयी राप्रपाका ज्ञानबहादुर शाही फेरि उम्मेदवार बनेका छन् । कांग्रेसका दीपबहादुर शाही, एमालेका शान्तिलाल महत पनि चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनिता कठायत मतदाता रिझाउने प्रयास गरिरहेकी छन् ।
