मधेशलाई नबुझ्नेले देश बनाउन सक्दैन : गगन थापा

सभापति थापाले मुलुकको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेको र यसको समाधानका लागि आफू लामो समयको तयारीपछि अगाडि बढेको दाबी गरेका छन् ।

माघ २७, २०८२

विनय आजाद

Those who do not understand Madhesh cannot build a country: Gagan Thapa

सिरहा — कांग्रेसका सभापति गगनकुमार थापाले मधेशलाई बुझ्न नसक्नेले देशको नेतृत्व गर्न नसक्ने बताएका छन् । मिर्चैयामा मंगलबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

'मलाई पहाडको दु:ख थाहा छ, काठमाडौंको सुख पनि थाहा छ तर मधेशलाई नबुझ्नेले देश बनाउन सक्दैन, मधेशको पीडा नबुझी देशको नेतृत्व गर्न सकिँदैन,' थापाले भने, 'त्यसैले म मधेशबाट चुनाव लडेको हुँ, म मधेशमा डुब्न आएको हुँ, यहाँको हुन आएको हुँ ।'

सभापति थापाले नवयुवा पुस्ताले गरेको आन्दोलनबारे एकथरी नेताहरूले नकारात्मक टिप्पणी गरिरहेको र अर्कोथरीले आक्रोशित नागरिकलाई झन् उचालेर फाइदा लिन खोजेको भन्दै यसरी देश नबन्ने बताए ।

'एकथरीले आफ्नो कमजोरी स्वीकार नगरिकन आन्दोलन प्रायोजित हो भनिरहेका छन्, अर्कोथरिले आक्रोशित भिडलाई झन् उक्साएर प्रधानमन्त्री हुने वेला यही हो भनेर लागेका छन्,' उनले भने, 'तर, हामी त्यसो भन्दैनौं, हामी गल्ती र कमजोरीको जिम्मा लिन्छौं र आन्दोलनले मागेको कुरा देशको नेतृत्व गरेर पूरा गर्छौं ।'

सभापति थापाले मुलुकको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेको र यसको समाधानका लागि आफू लामो समयको तयारीपछि अगाडि बढेको दाबी पनि गरेका छन् ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully