पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेर शिवपुजनले महन्थ ठाकुर र अमरेश सिंहलाई हराका थिए । त्यतिबेला यादव र अमरेशबीच ‘बुथ कब्जा’ गर्ने होडबाजी चलेको थियो ।
रौतहट — पिताको पालाबाट सुरु राजनीतिक बिरासत आफूमार्फत पुत्रसम्म पुर्याइसके । उनी बिना सर्लाही–४, मा स्थानीय तहदेखि संसदीय निर्वाचनको समीमरण पूरा हुँदैन । निर्वाचन क्षेत्रमा पकड भएकैले रामनगर–५, का ५५ वर्षीय शिवपुजन यादवको प्रत्येक निर्वाचनमा चर्चा भइरहन्छ । निर्वाचनमा जातीय भोट पक्षमा पार्न सक्ने खुबीले उनलाई निर्णायक शक्तिमा अड्याइराखेको छ ।
यसपटक पनि उनी बहसको केन्द्रमा छन् । मधेस केन्द्रित राजनीतिबाट उचाइँ प्राप्त गरेका उनले ०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा मधेसी जनाधिकार फोरमबाट विजयी भएर संसदीय यात्रा सुरु गरेका थिए । त्यसपछि तमलोपा (तराई मधेस लोकतान्त्रिक पार्टी) हुँदै केही समयअघिसम्म तत्कालीन माओवादी केन्द्रमा थिए । यसपाली एमालेसित जोडिएर राजनीति गरिरहेका छन् । यस पटक सर्लाही–४, मा एमालेबाट छोरा अमनीशलाई उम्मेदवार बनाएका छन् । उनको प्रभाव व्यक्तिगत मात्र छैन । स्थानीय राजनीतिमा परिवारका सदस्यलाई स्थापित गरेका छन् ।
उनका बुवा अमिरि राय पञ्चायतकालमा तत्कालीन गड्हिया गाउँ पञ्चायतका प्रधानपञ्च थिए । अमिरि ०४९ को स्थानीय निकाय निर्वाचनमा कांग्रेसबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । शिवपूजनका कान्छा छोरा राजाबाबु रामनगर गाउँपालिका अध्यक्ष छन् । स्थानीय तहका विभिन्न पदमा परिवार र निकट व्यक्तिको उपस्थिति छ । स्थानीय जितेन्द्र रायले शिवपुजन जस्तो नेता अहिलेसम्म यस क्षेत्रमा कोही नभएको सुनाए । जिल्लामा आफ्ना कार्यकर्ताका साथै सर्वसाधरणकालागि जस्तोसुकै परिस्थितिमा काम गर्न अघि सर्ने नेताका रुपमा परिचित छन् । विवादले पिछा नछोडे पनि जनताको पक्षमा ‘एक्सन’ लिने स्वभावले उनलाई लोकप्रिय बनाएको छ ।
निर्वाचनका बेला आफ्नो पक्षमा लहर सिर्जना गर्न र विपक्षीको रणनीति असफल तुल्याउन माहिर मानिन्छन् । कानुनी अड्चनका कारण गत निर्वाचनमा आफैं उम्मेदवार बन्न नपाए पनि आफूले समर्थन गरेको व्यक्तिलाई जिताउन भूमिका खेल्दै आएका छन् । जिल्लामा स्थापित अन्य नेतासँग उनको सम्बन्ध सुमधुर छैन । विकास निर्माण गरेर भन्दा पनि शक्ति र पहुँचको राजनीतिबाट उनी चिनिएका हुन् ।
जिल्लामा उनी विवादित नेतामध्ये पर्छन् । रातो पासपोर्ट प्रकरणमा मुछिएकाले निर्वाचन आयोगले ०७४ मा उनको उम्मेदवारी रद्द गरिदिएको थियो । पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएको तीन वर्ष पनि नपुग्दै शिवपूजनविरुद्ध कूटनीतिक राहदानी दुरुपयोगको मुद्दा चलेको थियो । त्यसपछि उनी निलम्बित भए । त्यसयता संसद प्रवेश गर्न पाएका छैनन् ।
०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उनी तराई–मधेश सद्भावना पार्टीबाट उम्मेदवार बनेर पराजित भएका थिए । ०७४ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । तर, राहदानी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेकाले उम्मेदवारी रद्द भयो । त्यसपछि आफ्ना समर्थकलाई राष्ट्रिय जनता पार्टीका उम्मेदवार राकेशकुमार मिश्रलाई मत हाल्न लगाए । ०७४ मा मिश्र अमरेशकुमार सिंहसित १ हजार ५ सय ३९ मतले पराजित भएका थिए । त्यस बेला शिवपुजन जसरी पनि अमरेशलाई हराउन चाहन्थे । उम्मेदवारी रद्द भएसँगै उनको इच्छा पूरा हुन सकेन् । लगत्तै पार्टीलाई सोध्दै नसोधी मिश्रको पक्षमा मतदान गराउन भूमिका खेलेको थिए ।
०७९ मा माओवादी, कांग्रेस–गठबन्धन निश्चित भएर सर्लाही–४, बाट कांग्रेस नेता गगनकुमार थापा चुनाव लड्ने भनिएपछि शिवपुजनलाई क्षेत्र छाड्न पार्टीबाट दबाब आयो । खबर सुनेपछि उनले तत्काल कांग्रेस नेता थापासित कुराकानी गरे । ‘गगनजी आउने भनेपछि ढुक्क थिए । मैले कुरा पनि गरेँ,’ उनले भने, ‘अन्तिम समयमा गगन नलड्ने भएपछि छोरी मधुमाला यादवलाई स्वतन्त्र उठाएँ ।’ मधुमालाले १४ हजार ६ सय २२ मत प्राप्त गरेकी थिइन् ।
यादवका अनुसार यो उनको पकेट मत थियो । पूर्वप्रमुख जिल्ला अधिकारी डा. कमलेशकुमार सिन्हा पनि शिवपुजन यस क्षेत्रको राजनीतिका माहिर खेलाडी भएको बताउँछन् । ‘उनले जुनसुकै बेला २/४ हजार मत यताउता गर्न सक्छन्,’ उनले भने,‘राजनीतिमा यत्तिको चतुर भइएन भने काम छैन् ।’ यसपटक पनि छोरी मधुमालाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । छोरा २७ वर्षीय अमनीश त्यही क्षेत्रबाट एमाले उम्मेदवार छन् । छोरीले ‘यत्तिकै’ उम्मेदवारी दिएको उनी बताउँछन् ।
अन्य पार्टीका नेता भने भित्रि रहस्य अर्कै हुनसक्ने बताउँछन् । यस क्षेत्रमा शिवपूजन र अमरेश सिंहबीच ०६४ सालबाट शक्ति संघर्ष चल्दै आएको छ । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेर शिवपुजनले महन्थ ठाकुर र अमरेश सिंहलाई हराका थिए । त्यतिबेला यादव र अमरेशबीच ‘बुथ कब्जा’ गर्ने होडबाजी चलेको थियो ।
मतदाता प्रभावित पार्न मतदान केन्द्र बाहिर विस्फोट गराइएको थियो । गढैया मतदान केन्द्र बाहिर विस्फोट हुँदा अमरेशका दाजु शम्भु सिंहको मृत्यु भएको थियो । यस घटनालाई लिएर अमरेश र शिवपूजनबीच आरोप–प्रत्यारोप चल्दै आएको छ । आफ्ना दाजुको हत्या शिवपूजनले गराएको अमरेशको आरोप छ । शम्भु आफैले बोकेको बम विस्फोट हुँदा मारिएको दाबी शिवपुजन गर्छन् । त्यसबेला शिवपुजनबिरुद्ध अमरेशले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए । अदालतबाट दोषी प्रमणित हुन नसके पछि यादवले सफाई पाएका थिए ।
