पूर्वउपसभामुख भुसालले बदलिएको कांग्रेससँगै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने, स्वदेशमा विभिन्न उद्यम सृजना गर्ने र सयौं युवालाई गाउँ सहरमै रोजगारी बनाइने बताइन् ।
अर्घाखाँची — कांग्रेस उपसभापति पुष्पा भुसाल गौतमले कृषि, पर्यटन, सूचना प्रविधि, साना तथा मझौला उद्योगलगायतका क्षेत्रमा युवालाई स्वदेशमै स्वरोजगारी सृजना गर्ने गरी पार्टीले नीति अघि सारेको बताएकी छन् ।
वैदेशिक रोजगारमा रहेकालाई फर्काउने र स्वदेशमै रहेका पढे-लेखेका युवालाई उद्यमशील र प्रविधिसँग जोड्ने नीतिलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद खनालको चुनावी प्रचारमा पोखेडाँडामा भएको अगुवा कार्यकर्तालाई मंगलबार सम्बोधन गर्दै पूर्वउपसभामुख भुसालले बदलिएको कांग्रेससँगै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने, स्वदेशमा विभिन्न उद्यम सृजना गर्ने र सयौं युवालाई गाउँ सहरमै रोजगारी बनाइने बताइन् । ‘हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ,’ उनले भनिन्, ‘अब उपलब्धिलाई संस्थागत गर्दै मुलुकको अवस्था बदल्ने नेतृत्व पनि कांग्रेसको काँधमा आएको छ । हामी त्यो पुरा गर्छौं ।’
अबको मुख्य एजेन्डा आर्थिक विकास र सुशासन भएको पनि उनले बताइन् । अरु चुनावमा भन्दा यसपालि कांग्रेस फरक ढंगले मतदातासँग उभिएको र सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार चुनावी मैदानमा आएको उनले बताइन् । ‘कांग्रेस अहिले कुनै दलसँग गठबन्धन नगरी चुनाव लड्दैछौं,’ उनले भनिन्, ‘एक्लै लड्दा पनि सयभन्दा बढी सिट प्रत्यक्षमा जित्छौं । चुनावपछि सभापति गगन थापाको नेतृत्वमा सरकार गठन गरेर आर्थिक क्षेत्रको सुधार, रोजगारी, सुशासन कायम गर्दै देशको अवस्था फेर्नेछौं ।’
