कांग्रेसले बदलिएपछि जनताले के पाउँछन् ? हामीले कामबाटै उत्तर दिन्छौँ : गगन थापा

निर्वाचन जित्न जोसँग पनि मिल्ने र सरकारमा टिक्न जे पनि गर्ने प्रवृत्तिले नागरिकमा प्रश्न उब्जाएको छ : थापा

माघ २६, २०८२

कान्तिपुर संवाददाता

What will the people get after the Congress changes? We will answer through work: Gagan Thapa

What you should know

विराटनगर — कांग्रेस सभापति गगनकुमार थापाले आगामी निर्वाचन परिस्थितिले सिर्जना गरेको बताए । विशेष अधिवेशनपछि पहिलो पटक विराटनगर ओर्लिएका सभापति थापाले भदौ २३ र २४ गतेका राजनीतिक उथलपुथलले मुलुकलाई निर्वाचनको संघारमा उभ्याएको टिप्पणी गरे ।

कांग्रेस कोशी प्रदेशले आयोजना गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा सहभागी हुन आएका थापाले संविधानको रक्षा र कार्यान्वयन नै कांग्रेसको मुख्य एजेन्डा भएको स्पष्ट पारे ।

‘सुशील कोइरालाले जारी गरेको संविधानकै कारण आज हामीले लोकतान्त्रिक गतिविधि गर्न पाइरहेका छौँ’, उनले भने, ‘आज कोइरालाको स्मृति दिवस पनि हो । यो संविधानमा थुप्रै सुधारको आवश्यकता छ, तर यसको निरन्तरता अनिवार्य छ ।’


भदौ २३ र २४ को राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै थापाले सडकमा ओर्लिएका युवाहरूको आक्रोशलाई ‘असन्तुष्टिको विस्फोट’ को संज्ञा दिए । उनले अगाडि भने, ‘त्यो विद्रोह जनताको निराशाको उपज थियो । सडकमा आएका युवा मात्र होइन, घरमै बसेकाहरू पनि वर्तमान अवस्थाप्रति असन्तुष्ट थिए ।’


सभापति थापाले सत्ता र निर्वाचनका लागि विगतमा भएका कतिपय निर्णयहरू त्रुटिपूर्ण रहेको स्वीकार गरे । 
‘निर्वाचन जित्न जोसँग पनि मिल्ने र सरकारमा टिक्न जे पनि गर्ने प्रवृत्तिले नागरिकमा प्रश्न उब्जाएको छ,’ उनले थपे, ‘नागरिक सोधिरहेका छन्, कांग्रेस बदलिनुले मेरो जीवनमा के फरक पार्छ ? अब हामीले यसको उत्तर कामबाटै दिनुपर्छ ।’


थापाले २०८२ फागुन २१ पछिको ५ वर्षलाई ‘भष्टाचार र कुशासनविरुद्धको कालखण्ड’ बनाउने उद्घोष गरे । विधिको शासन नै कुशासन अन्त्य गर्ने अचुक अस्त्र भएको बताउँदै उनले यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने दृढता व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully