दाङ–२ मा हुने प्रतिस्पर्धा धेरैको चासोको विषय मात्र नभएर एमाले महासचिव पोखरेलका लागि राजनीतिक भविष्य तय गर्ने ‘परीक्षा’ मानिएको छ ।
What you should know
दाङ — यसअघिका निर्वाचनमा दलबीच गठबन्धनका कारण मुख्य प्रतिस्पर्धाबारे अड्कल गरेको सुनिन्थ्यो । यसपटक दलहरुबीच एक्ला–एक्लै प्रतिस्पर्धाका कारण हारजित अनुमान गर्न सहज छैन ।
यसपटक दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल प्रतिस्पर्धी छन् । उनीहरुसित संसदीय राजनीतिका अनुभवी र नयाँ दलका उम्मेदवार टक्करमा छन् ।
दाङ–२ मा हुने प्रतिस्पर्धा धेरैको चासोको विषय मात्र नभएर एमाले महासचिव पोखरेलका लागि राजनीतिक भविष्य तय गर्ने ‘परीक्षा’ मानिएको छ । ०७९ मा पोखरेल यही क्षेत्रमा तत्कालीन माओवादी केन्द्रकी रेखा शर्मासँग १ सय ९३ मतान्तरले पराजित भएका थिए ।
माओवादी केन्द्र र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी शर्मा २६ हजार ८ सय ८० मतले विजयी भएकी थिइन् । पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी दलबीच गठबन्धन हुादा समेत एमाले एक्लैले २६ हजार ६ सय ८७ मत प्राप्त गरेको र झिनो मतान्तरले पराजित गरेकाले यसपटक मेहनत गरेमा जीत निकाल्न सकिने पोखरेलको विश्वास छ ।
०७९ मा समानुपातिकतर्फ एमालेले २३ हजार ५ सय ६८, कांग्रेसले १९ हजार ५ सय ९१ र राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ३३ मत प्राप्त गरेका थिए । त्यतिबेला पार्टीले समानुपातिक र आफूले प्रत्यक्षतर्फ प्राप्त गरेको मत हेर्दा एमालेको आफ्नै मत जितका लागि पर्याप्त रहेको पोखरेलको विश्लेषण छ ।
२०७४ मा पोखरेल दाङ २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर लुम्बिनीको संस्थापक मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री हुादा गरेका कामको मूल्यांकनका आधारमा पनि मत प्राप्त हुने उनको भनाई छ ।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी ल्याउन, गाउासहर जोड्ने सडक कालोपत्र, लमही–घोराही–तुलसीपुर सडक अन्तर्गत पुल निर्माण पहल, घोराही–तुलसीपुर चारलेन सडकलाई मदन भण्डारी राजमार्ग अन्तर्गत पारेर निर्माण, घोराहीमा राप्ती ईञ्जिनियरिङ कलेज स्थापनाका लागि अगुवाई, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतीमा अगुवाई जस्ता महत्वपूर्ण काम गरेकाले आफूले मत पाउने पोखरेल बताउँछन् ।
०५१ मा पोखरेल दाङ–३ बाट कांग्रेसका दिपक गिरीलाई पराजित गरेर सांसद् निर्वाचित भएका थिए । ०५६ मा दाङ–२ बाट कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पोखरेल पराजित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य चुनिएर सूचना तथा सञ्चार मन्त्री भएका थिए । ०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पोखरेल दाङ–४ बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका थिए ।
विद्यार्थी संगठनबाट राजनीतिमा उदाएका पोखरेल अनेरास्ववियूको केन्द्रीय अध्यक्ष, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू सभापति हुँदै पार्टी राजनीतिमा स्थापित भएका हुन् ।
जेन–जी आन्दोलनसँगै एमाले माथि भइरहेको प्रहार उनकालागि मुख्य चुनौती बनेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आउने अधिकांश प्रश्न उनीसामु पनि सोझिने गरेका छन् । ती प्रश्नहरु चिर्दै एमालेको मत बचाउने र अन्य लोकप्रिय मत प्राप्तगर्ने विषय उनका लागि चुनौती छ ।
पोखरेलसँग प्रतिस्पर्धामा कांग्रेसका किरणकिशोर घिमिरे, रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्य र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य छन् । कांग्रेसका किरणकिशोर घिमिरे पहिलोपटक उम्मेदवार बनेका हुन् । राजनीतिक परिवारका सदस्य भएर पनि घिमिरेले पहिलोपटक निर्वाचन लड्ने अवसर पाएका हुन्।
उनका दाजु कृष्णकिशोर घिमिरेले पोखरेलसँग ०५६ को निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित गरेका थिए । अर्का दाजु कमलकिशोर घिमिरे ०७४ मा प्रतिस्पर्धा गरेर पराजय वेहोरेका थिए । किरणकिशोर एउटै परिवारबाट पोखरेलसँग प्रतिस्पर्धा गर्ने तेस्रो सदस्य हुन् ।
कांग्रेसको पुरानो जनाधार र पहिलोपटक परिक्षित हुने अवसर प्राप्त गरेका कारण जित्न सहज हुने घिमिरेले विश्वास गरेका छन् । ०७९ को निर्वाचनको मत हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले तान्न सक्ने अधिकांश मत कांग्रेसको रहेको विश्लेषण छ । उक्त मत बचाउँदै एक्लै निर्वाचनमा जीत निकाल्नु उनका लागि पनि चुनौती छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार आचार्य दोस्रोपटक निर्वाचनमा सहभागी हुँदैछन् ।
आचार्य ०७० को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेर पराजित भएका थिए । ०७९ मा उनको पार्टीकी उम्मेदवार बनेकी रेखा शर्माले निर्वाचन जितेकी थिइन् । त्यतिबेला कांग्रेससित गठबन्धन थियो । यसपटक अन्य दलसित गठबन्धनमा नहुनु उनका लागि चुनौती छ । माधवकुमार नेपाल नेतृत्वको तत्कालीन एकीकृत समाजवादी मात्र एकीकरण भई उनको पार्टीमा छ ।
रास्वपाका आचार्य पहिलोपटक निर्वाचन मैदानमा छन् । समानुपातिक सूचीबाट नाम फिर्ता लिएर उनी प्रत्यक्ष निर्वाचन लड्न थालेका हुन् । आचार्य रास्वपा सभापति रवि लामिछानेका विश्वास पात्र मानिन्छन् । रास्वपा गठन गर्ने मुख्य संस्थापक मध्येको आफू पनि एक रहेको र प्रत्यक्ष मतबाट निर्वाचित हुने इच्छा अनुसार निर्वाचनमा होमिएको उनको भनाइ छ । पछिल्लो समय पुराना र नयाँ राजनीतिक दलबीच प्रतिस्पर्धा चलिरहेको बेला उनी अन्य उम्मेद्वारका लागि चुनौती बनिरहेका छन् ।
जिल्लाको राजनीतिमा उनी नयाँ भए पनि देशभर चलिरहेको नयाँ पुरानोको संघर्षलाई मतमा बदल्न सकेमा उनले अन्य उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्ने देखिन्छ । सहकारी ठगी मुद्दामा नाम जोडिएको विषय उनका लागि चुनौती बनेको छ । यस विषयमा उठिरहेका प्रश्नलाई निवारण गर्दै जनताको मन जित्ने विषय उनकालागि परीक्षाकै घडी बनेको छ ।
यस क्षेत्रबाट विभिन्न पार्टी र स्वतन्त्र गरी २३ जना उम्मेदवार छन् । यस क्षेत्रमा ७ जना ४० वर्षमूनिका युवा छन् भने २१ जना नयाँ उम्मेदवार छन् । यस क्षेत्रमा महिला उम्मेद्वार दुई जना मात्रै छन् । ती पनि स्वतन्त्र उम्मेदवार हुन् । अहिले उम्मेदवारहरु मतदाता भेट्न भित्रभित्रै घर दैलोमा छन् ।
