एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति रास्वपा सभापति लामिछानेको कटाक्ष- 'सर्वज्ञानी कोही पनि छैन, ओलीजी बाहेक ।'
What you should know
काठमाडौँ — भागबण्डाको राजनीति मुलुकका लागि समस्या बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । चितवनको मनकामनामा बोल्दै लामिछानेले षड्यन्त्रको राजनीतिले पनि मुलुकमा समस्या पैदा भएको बताएका हुन् ।
भागबण्डाको राजनीति अन्त्य गर्नुपर्ने सभापति लामिछानेको भनाइ थियो । व्यक्तिगत लाभका लागि राजनीतिक पदहरू भागबण्डा गर्दा मुलुक समस्यामा परेको उनले बताए ।
'यो देशको समस्या षडयन्त्रको राजनीति हो । यो देशको समस्या व्यक्तिगत लाभका लागि पदहरूको भागबण्डा हो । यो देशको समस्या राजनीतिक शक्तिको भागबण्डाको समस्या बनिदियो,' सभापति लामिछानेले भने, 'त्यसबाट एक कदम माथि उठ्यो भने मुलुकका लागि सोच्ने समय हुन्छ । हामीले यसपटक भागबण्डा गरेनौं । जिम्मेवारीको बाँडफाँट गर्यौं । पार्टीको जिम्मेवारी कसले लिने सरकार कसले सञ्चालन गराउनेलगायत जिम्मेवारीहरू छन् ।' रास्वपाले मन्त्रालयगत विज्ञताका आधारमा नेताहरूलाई जिम्मेवारी दिएको बताए ।
एउटै व्यक्ति सबै क्षेत्रको विज्ञ नहुने सभापति लामिछानेको भनाइ थियो । विज्ञता र क्षमताअनुसार पार्टी र देशका पदहरूमा जिम्मेवारी दिनुपर्ने लामिछानेको भनाइ थियो । 'राजनीतिलाई आर्यघाटसम्म लाने कुनै ध्येय छैन । आफ्नो दुई कार्यकाल इमानदारीसाथ काम गर्छु । त्यो दुई कार्यकाल काम गर्दा मैले आफ्नो क्षमताले भ्याएको योगदान यो देशका लागि दिने हो । मैले नभएको क्षमता ल्याउन सक्दैन,' लामिछानेले भने, 'हो, सर्वज्ञानी कोही पनि छैन ओलीजी बाहेक । म त छैन सर्वज्ञानी तर आफूसँग थाहा नभएका कुराहरूको जानकारी हुनुपर्छ । आफूलाई के थाहा छैन भन्ने कुरा आफूलाई थाहा हुनुपर्छ ।'
लामिछानेले थपे, 'आफूलाई थाहा नपाएका क्षेत्रबारे थाहा भएका साथीहरूलाई पार्टीमा जोड्ने । थाहा नपाएका क्षेत्रहरूमा पनि समावेश गर्नका लागि विज्ञ विद्वान सल्लाहकार जोड्ने । विकास निर्माणमा ढिलासुस्ती भएको छ । हामी पूर्वाधार संकटमा छौं । यसमा सहजीरकण गर्नका लागि कानुन संशोधन गर्नुपर्छ ।'
मुलुक निर्माण बाहेक आफूसँग कुनै व्यक्तिगत स्वार्थ नभएको लामिछानेको भनाइ थियो । नेपालमा षडयन्त्रको राजनीति भइरहेको पनि लामिछानेले बताए । 'नेपालमा लामो समयदेखि षडयन्त्रको राजनीतिले स्थान पायो । जबसम्म षडयन्त्रको राजनीति रहिरहन्छ तबसम्म नेतृत्वलाई षडयन्त्रबाट बच्नबाट फुर्सद हुँदैन । आफूलाई सत्तामा पुर्याउने, आफूलाई बलियो बनाउने, दोस्रो तेस्रो चौथो तहको नेताहरूले आफूलाई पहिलो बनाउने होडबाजीमा मुलुकका तमाम समस्या छायामा परेका हुन्,' लामिछानेले भने ।
आगामी फागुन २१ मा हुन गइरहेको निर्वाचनमा युवा, विज्ञ, जेन-जी अगुवा र विभिन्न पेसामा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई रास्वपाले उम्मेदवार बनाएको लामिछानेको भनाइ थियो ।
