जाँचबुझ आयोगको कामप्रति ओलीको चासो, प्रधानमन्त्री कार्कीसँग वार्ता

प्रधानमन्त्री कार्कीसँग भएको वार्तामा तत्कालीन प्रधानमन्त्री ओलीले आयोगको प्रतिवेदन ‘चुनाव र आफना लागि प्रतिकूल हुने गरी नआओस्’ भन्ने आसयले जिज्ञासा राखेका थिए ।

माघ २३, २०८२

दुर्गा दुलाल

Oli expresses interest in the work of the Commission of Inquiry, holds talks with Prime Minister Karki

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको काम र प्रतिवेदनको अवस्थाबारे चासो राखेका छन् ।

प्रधानमन्त्री कार्कीसँग भएको वार्तामा तत्कालीन प्रधानमन्त्री ओलीले आयोगको प्रतिवेदन ‘चुनाव र आफना लागि प्रतिकूल हुने गरी नआओस्’ भन्ने आसयले जिज्ञासा राखेका थिए । 

‘जाँचबुझ आयोगको प्रतिवेदनमा के हुँदै छ ? आयोगले काम गरिरहेको छ नि ?’ ओलीले राखेको जिज्ञासा उद्धृत गर्दै प्रधानमन्त्री कार्यालयका एक अधिकारीले कान्तिपुरसंग भने । प्रधानमन्त्री कार्कीले आयोगले आफ्नो काम गरिरहेको जवाफ दिएकी थिइन् ।

जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २३ भदौमा १९ युवाको मृत्यु हुँदा ओली प्रधानमन्त्री थिए । २४ भदौको दिउसो भने उनले राजीनामा दिएका थिए । निर्वाचनअघि आयोगको प्रतिवेदन सार्वजनिक भएमा त्यसको असर आफूलाई पर्ने ओलीको बुझाइ छ । 

त्यसैगरी ओलीले निर्वाचनको सुरक्षासँगै ढुक्क भएर मतदान गर्न पाउने कुराको सुनिश्चितता, उम्मेदवारको सुरक्षाप्रति चासो राखेको पनि स्वकीय सचिव श्रेष्ठले बताए । उनले प्रधानमन्त्रीलाई एकै चरणमा २१ फागुनमै निर्वाचन सम्पन्न गर्न सुझाव दिएका थिए । नागरिकका साथै मतदानस्थलदेखि सबै प्रक्रियाको सुरक्षा हुनुपर्नेमा जोड दिँदै धाँधली हुन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षाका लागि सरकार तयारी अवस्थामा रहेको भन्दै नेपाली सेनासमेत परिचालन भएकाले ढुक्क भएर प्रचारमा लाग्न र निर्वाचन सफल बनाउन दलहरूको भूमिका प्रभावकारी हुने बताएकी थिइन् । सरकारले निर्वाचन क्षेत्र तथा मतदान केन्द्रसमेतलाई लक्षित गरी एकीकृत सुरक्षा योजना बनाएर सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरेकाले सुरक्षाको कुनै कमी नहुने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

निर्वाचनका लागि बुधबारदेखि नै ८० हजार सेना खटिइसकेकाले सुरक्षामा कुनै कमीकमजोरी नहुने भएकाले ढुक्क भएर निर्वाचनमा लाग्न कार्कीले दलहरूलाई आग्रह गरेकी थिइन् ।

उनले आफू २१ फागुनको निर्वाचन सफल गरेर नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको बताएकी थिइन् । उनले आफू स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन दृढ रहेको कुरा पनि दोहोर्‍याएकी थिइन् ।

ओलीका स्वकीय सचिव राजेश वज्राचार्यले पनि प्रधानमन्त्री कार्कीसँग निर्वाचनसँग केन्द्रित भई छलफल भएको बताए । २३ र २४ भदौको जेन–जी आन्दोलनपछि ओली सत्ताबाट बर्हिगमन भएका थिए भने नागरिक सरकारका रूपमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । ओलीले यसअघि कार्की सरकारलाई ‘हा हुको सरकार’ भन्दै स्विकार्न नसकिने टिप्पणी गर्दै आएका थिए ।

तर एमाले अध्यक्ष ओलीले निर्वाचनको प्रचारका लागि घरदैलोमा झापा जानुअघि प्रधानमन्त्रीसँग बिहीबार गरेको भेट अर्थपूर्ण देखिएको छ । जाँचबुझ आयोग तथा राष्ट्रिय मानवअधिकार आयोग प्रतिवेदन लेखनतिर लागेको समयमा प्रधानमन्त्रीसँग भएको ओलीको भेटलाई महत्त्वका साथ हेरिएको छ ।

बालुवाटारबाट बर्हिगमन भएको करिब ४ महिनापछि २४ पुसमा पनि ओली आफैंले समय लिएर प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए । झन्डै तीन घण्टासम्म चलेको उक्त भेटवार्तापछि नै ओली कार्की सरकारप्रति केही नरम देखिन थालेका हुन् । त्यसको करिब एक महिनापछि बिहीबार ओलीले दोस्रो पटक प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । केही दिनअघि ओलीले सरकार नै आफू र एमालेलाई निर्वाचनमा पराजित गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका थिए ।

सरकारले झापामा सुरक्षा नेतृत्वसमेत परिवर्तन गरेपछि ओली रिसाएका थिए । बिहीबारको भेटवार्तामा एमाले नेता विष्णु रिमाल पनि उपस्थित थिए ।

यसैबीच, प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभाको आसन्न निर्वाचन देशभर २१ फागुनमा एकै चरणमा हुने बताएकी छन् । ‘एकै चरणमा निर्वाचन हुन्छ, यसमा ढुक्क हुनुहोस्’ कार्कीले भनिन्, ‘बाक्लो हिमपात भए के गर्ने भन्ने बारेमा त्यसबेला नै निर्णय हुनेछ ।’

यसअघि उनले नवलपुरको एक कार्यक्रममा गत मंगलबार हिमाली क्षेत्रमा हिमपात भएमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताएकी थिइन् । प्रधानमन्त्री कार्कीको उक्त अभिव्यक्तिप्रति विरोध जनाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले एकै चरणमा निर्वाचन गर्न सरकारलाई दबाब दिएका थिए ।

बिहीबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम हेरेपछि आफूलाई चुनाव आएको महसुस भएको प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीसँग भनिन्, ‘अब जनताले मत हाल्न मात्र बाँकी छ । निश्चिन्त हुनुस्, चुनाव आयो । तोकिएकै दिनमा हुन्छ, दुईचोटि हुनेवाला छैन ।’

दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully