उपकुलपति दीपक अर्याल र रजिष्ट्रार केदार रिजालको कुर्सीमा ‘मै शैक्षिक माफिया हुँ’ लगायतका अपशब्द लेखी पर्चा टाँसिएको छ ।
What you should know
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कुर्सीमा अपशब्द प्रयोग गरी पर्चा टाँसेका छन् ।
उपकुलपति दीपक अर्याल र रजिष्ट्रार केदार रिजालको कुर्सीमा ‘मै शैक्षिक माफिया हुँ’ लगायतका अपशब्द लेखी पर्चा टाँसेका हुन् ।
अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष दिनेश ऐरले शुक्रबार सामाजिक सञ्जालमा उक्त तस्बिर र जानकारी साझा गरेका छन् । यही समूहले केही दिनअघि मात्रै रेक्टर खड्ग केसीको कार्यकक्षबाहिर रहेको नेमप्लेट फालेको थियो ।
लामो समयदेखि विभिन्न माग राख्दै आएको अखिल क्रान्तिकारीले त्रिविमा उद्दण्ड क्रियाकलाप गर्दै आइरहेको छ ।
शुक्रबारको घटनाका सन्दर्भमा ऐरले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै उपकुलपति र रजिष्ट्रारलाई शैक्षिक माफिया र दमनकारीको संज्ञा दिएका छन् ।
त्रिवि मानविकी संकाय अन्तर्गतका चारवट सेल्फ–सस्टेन कार्यक्रम केन्द्रीय विभागको रुपमा स्तरोन्नति भइसके पनि शुल्क समायोजनसम्बन्धी सहमति कार्यान्वयन नगरेको उनको गुनासो छ ।
उनले लेखेका छन्, ‘त्यसैले पदाधिकारीका कुर्सीहरूमा फोटो टाँसेर गरिएको सांकेतिक विरोध व्यक्तिमाथि होइन, कर्तव्यविहीनता माथि हो, उनीहरुले देखाएको वास्तविक चरित्रको पर्दाफास हो । सहमति गर्ने र तोड्ने खेल बन्द गरियोस् । तत्काल वार्ता खोलियोस्, सहमति लागू गरियोस् ।’
गत सोमबार मात्रै तीन सातासम्म लगाइएको ताला त्रिवि प्रशासनले प्रहरीको सहयोगमा खुलाएको थियो । प्रशासनको सहयोगमा ताला खुलेपछि क्रान्तिकारीका त्रिवि अध्यक्ष दिनेश ऐनले भौतिक आक्रमण गर्ने धम्की दिएको पदाधिकारीहरूले गुनासो गरेका थिए । क्रान्तिकारीले पुस १९ गते उपकुलपति, रेक्टर, रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै क्रान्तिकारीले लगाएको ताला खुलाउन त्रिविले अल्टिमेटम दिएको थियो ।
सोमबार बिहान ८ बजेसम्म ताला नखोले प्रहरी प्रशासनको सहयोगमा खोलिने रजिस्ट्रार कार्यालयले चेतावनी दिएको थियो । अल्टिमेटमपछि ताला विद्यार्थी संगठनले नै खोलेको र नखोलेको ठाउँमा प्रशासनको सहयोग खुलाइएको त्रिविले जनाएको छ । ताला खोलिएपछि असन्तुष्ट विद्यार्थीले नाराजुलुससमेत गरेका थिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति कार्यान्वयन नभएको भन्दै तालाबन्दी गरिएको थियो । त्रिविले शुल्कका सम्बन्धनका लागि शुल्क पुनरावलोकन कार्यदल गठन गरी काम अघि बढाएको जनाएको छ ।
