रुकुम पूर्व र पश्चिम पुग्दा पनि रोकिएन दाहाल-शर्माबीच ‘वाक् युद्ध’

पूर्वमाओवादीमा हुँदा पटक–पटक खटपट भइरहने पुष्पकमल दाहाल र जनार्दन शर्मा अहिले छिमेकी जिल्लामा फरक–फरक पार्टीबाट उम्मेदवार छन् । तर, दुईजनाबीचको नोकझोक भने अझै रोकिएको छैन ।

माघ २२, २०८२

कृष्णप्रसाद गौतम, महेश केसी

The 'war of words' between Dahal and Sharma did not stop even after reaching Rukum East and West.

What you should know

रुकुम पश्चिम/सुर्खेत — गत पुस २६ मा रुकुम पश्चिमको मुसीकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकता सन्देश सभा आयोजना गर्‍यो । नेकपा संयोजक पुष्पकमल दाहालले झण्डै एक घण्टा सम्बोधनका क्रममा करिब आधा समय पूर्वमाओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका बारेमा बोले ।

‘पार्टीलाई धोका दिएको’ भन्दै शर्मालाई ‘भगौडा’ को आरोप लगाए । त्यही दिन उनले घोषणा गरे, ‘म रुकुमबाटै चुनाव लड्छु, यो रुकुम होइन, अर्को रुकुम ।’ 

गत पुस ११ गते पार्टी जिल्ला कमिटी बैठकले रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सर्वसम्मत टुंगो लगाउन नसकेपछि पूर्वसांसदहरू गणेशमान पुन, दलजीत शेर्पाली, तेजबहादुर ओलीलगायत ९ जनाको नाम सिफारिस गर्‍यो । नेकपा संयोजक दाहाललाई कालीकोटबाट एकल सिफारिस गरिएको थियो । उनले आफू सर्वसम्मत सिफारिसमा परेको जिल्ला रोजेनन्, बरु कान्छो जिल्ला रुकुम पूर्व रोजे ।

‘रुकुम पश्चिममा आएर रुकुम पूर्वमा चुनाव लड्ने घोषणा गर्नु, अधिकांश समय जनार्दन शर्माको विरोध गर्नुमा कुनै न कुनै रहस्य होल नै,’ राजनीतिक विश्लेषक लक्ष्मण केसीले भने, ‘रुकुम पूर्व माओवादी आन्दोलनको आधारभूमि भएकाले सुरक्षित स्थान पनि खोजेका होलान्, तर एउटा कारण जनार्दनलाई काउन्टर दिनु पनि हो ।’ भौगोलिक रूपमा छुट्टिए पनि भावनात्मक रूपमा एउटै जिल्लाजस्तै भएकाले दाहाल–शर्मा फेरि आमने–सामने भएको उनले बताए । उनीहरूबीच अहिले ‘वाक् युद्ध’ चलिरहेको छ । दुवै एक–अर्काको आलोचना गरिरहेका छन् । 

रुकुम पश्चिमबाट शर्माले ०६४ सालदेखि लगातार जित्दै आएका छन् । यसपटक उनको दल फरक छ । पाँचौंपल्ट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका छन् । शर्माको निर्वाचन क्षेत्र भएरै रुकुम पूर्व आउजाउ मुख्य मार्ग छ । गत माघ ५ मा दाहाल जहाजबाट रुकुम पश्चिम ओर्लिएर केही समय स्थानीय नेताहरूसँग भेटघाट गरे । त्यहाँबाट कार्यकर्ताको ‘स्कर्टिङ’मा मनोनयन दर्ता गर्न रुकुम पूर्व गएका थिए । मनोनयन दर्ताका क्रममा सशस्त्र द्वन्द्वको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर जिल्ला आएको उनको दाबी थियो । 

माओवादी केन्द्रले एकीकृत समाजवादीलगायत पार्टीसँग गरेको एकतामा असहमति जनाउँदै पार्टी छाडेका शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका छन् । शान्ति तथा पुनर्निर्माण, ऊर्जा, गृह र अर्थमन्त्री बनिसकेका शर्मा जनमत बढाउँदै लगातार विजयी हुने कर्णालीका एकमात्र नेता हुन् । ०६४ मा २२ हजार ५ सय ७५, ०७० मा ३० हजार २ सय ७०, ०७४ मा ३४ हजार ४ सय २ र ०७९ मा ३९ हजार ५ सय ४९ मत पाएर संसदीय निर्वाचन जितेका थिए । घरदैलोमा केन्द्रित शर्माले मन्तव्यका क्रममा  धेरै समय दाहालको आलोचनामा बिताउँछन् ।

दाहाललाई शर्माले सशस्त्र क्रान्तिलाई धोका दिएको आरोप लगाउँदै आएका छन् । उनीसँग नेकपाको तर्फबाट पूर्वसहकर्मी गोपाल शर्मा, नेपाली कांग्रेसका राजु केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीलगायत ११ जना प्रतिस्पर्धी छन् । एमाले उम्मेदवार नन्दराम देवकोटाले पार्टी केन्द्रको निर्देशन अनुसार शर्मालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएका छन् ।   

एउटै पार्टीमा हुँदा पनि तत्कालीन अध्यक्ष दाहाल र शर्माबीच खटपट भइरहन्थ्यो । दुवै जना सीमा जोडिएका जिल्लाबाट उम्मेदवार हुँदा चुनावी माहोल झन् रोचक बनेको नागरिक अगुवा गोविन्द केसी बताउँछन् । उनका अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेसँग चुनावी तालमेल गरेपछि चुनावी प्रतिस्पर्धा झन् रोचक बनेको छ । ‘जनार्दनलाई काउन्टर दिन दाहालले छिमेकी जिल्लामा उम्मेदवारी दिए, उता दाहाललाई काउन्टर दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मासँग चुनावी तालमेल गरे,’ उनले भने, ‘परिणाम एउटा आउला, तर यसले दिने सन्देश फरक छ ।’ 

दाहाल र शर्माबीच ४० वर्ष पुरानो सम्बन्ध छ । उनीहरूबीच ०४२ सालमा भेट भएको रुकुम पश्चिमका नेकपा नेता देवीलाल गौतम बताउँछन् । ‘युद्धको समयमा उनीहरूबीच निकट सम्बन्ध थियो, दाहाल सुप्रिम कमान्डर, शर्मा दाहालपछिको चारमध्येका एक डेपुटी कमाण्डर, सेना समायोजनका क्रममा पनि दाहालको निकट रहेर शर्माले सघाए, शान्ति प्रक्रिया र संविधान निर्माणमा पनि दाहालले शर्मालाई महत्त्वपूर्ण जिम्मेवारी दिएका थिए,’ उनले भने, ‘०७४ सालमा एमाले–माओवादीबीच पार्टी एकता हुँदा पनि दाहालले शर्मालाई धेरै विश्वास गरेका थिए ।’ तर ०७७ फागुनमा पूर्वएमाले र पूर्वमाओवादीमा फुट आएसँगै उनीहरूबीचको सम्बन्धमा दरार आउन थालेको उनी बताउँछन् । 

०७८ पुसमा भएको आठौं महाधिवेशनबाट उनीहरूको विवाद सार्वजनिक हुन थालेको उनको भनाइ छ । ‘महाधिवेशनमा शर्मा र वर्षमान पुन महासचिवका आकांक्षी थिए, तर दाहालले देव गुरुङलाई महासचिव बनाएपछि शर्माको असन्तुष्टि त्यसयताका पार्टीका बैठकमा देखिन थाल्यो,’ गौतमले भने, ‘शर्मा उपमहासचिव थिए, तर उनले उक्त पद स्वीकार नै गरेनन्, त्यसयता उनले आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको माग गर्न थाले । पार्टी एकता भएपछि त उनले अर्कै पार्टी खोले ।’ ०८२ वैशाखमा मध्यपहाडी राजमार्ग केन्द्रित अभियानका बेला आफूहरूले दुई नेतालाई मिलाउन प्रयास गरेको र त्यसबेला दुवै सकारात्मक भएको पनि उनले जानकारी दिए । 

रुकुम पूर्व माओवादी प्रभाव क्षेत्र मानिन्छ । दाहालसँग नेपाली कांग्रेसबाट कुसुमदेवी थापामगर, एमालेबाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुनलगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस उम्मेदवार थापामगर र एमाले उम्मेदवार गौतम पार्टीका केन्द्रीय सदस्य हुन् । पुन सशस्त्र द्वन्द्वको समयका सहिद दम्पती सूर्यप्रकाश पुन र परम्परा गौतमका छोरा हुन् । उनी साबिक माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष थिए । 

मनोनयन दर्ता गर्न आएका बेला संयोजक दाहालले द्वन्द्वको समयमा आफू बसेको घर र पूर्व माओवादीको ‘चुनबाङ बैठक’ लाई सम्झिएका थिए । तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला ०६२ कात्तिकमा चुनबाङमा बसेको केन्द्रीय समितिको बैठकले शान्ति प्रक्रियामा जाने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा माओवादीले सरकारसँग १२ बुँदे सम्झौता गरेको थियो ।

सशस्त्र द्वन्द्वको समयमा रुकुम पूर्व आधार इलाका भएको र जिल्लाका सहिद, बेपत्ता, घाइतेलगायतको हकहितका लागि संयोजक दाहालले उम्मेदवारी दिएको पूर्वसांसद गणेशमान पुनले बताए । ‘जनयुद्धका धेरै विषय अझै पनि संस्थागत गर्न जरुरी छ, रुकुम पूर्वलाई विकासको मूलधारमा ल्याउन पनि उहाँको उम्मेदवारी यहाँबाट हो,’ उनले भने, ‘उहाँको उम्मेदवारीपछि जिल्लाले न्याय पाएको छ ।’  

गत प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादीका पूर्णबहादुर घर्ती १२ हजार २ सय ६२ मतसहित विजयी भएका थिए । त्यस्तै प्रदेशसभा १ (१) मा माओवादी पृष्ठभूमिकै सुरुल पुन ४ हजार ४ सय ६५ र १ (२) मा नेपाली कांग्रेसका धनबहादुर केसी ४ हजार ८ सय ६२ मतसहित विजयी भएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र पूर्वमाओवादीले गठबन्धन गरेका थिए । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा १० हजार ४ सय ३४ मतसहित पूर्वमाओवादीकी कमला रोका विजयी भएकी थिइन् । 

तीन स्थानीय तह रहेको रुकुम पूर्वमा गत स्थानीय तह निर्वाचनमा भूमे र पूथा उत्तरगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पूर्वमाओवादीले जितेको छ । सिस्ने गाउँपालिका अध्यक्ष पूर्वमाओवादी र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका थिए ।   

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता छन् । तीमध्ये ६ सय ६० जना नयाँ मतदाता हुन् । जिल्लामा ८० प्रतिशत मतदाता मगर समुदायका छन् । जिल्लाभरि ४४ वटा मतदान स्थल र ५६ वटा मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully