बसाइँसराइले गाउँ रित्तो भएकाले त्यसलाई रोक्न शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने नीति निर्माण गर्नुपर्ने उनले बताए ।
खोटाङ — नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार हरि रोकाले समाजवाद उन्मुख आर्थिक प्रणालीका लागि आफू चुनावी प्रतिस्पर्धामा आएको बताएका छन् ।
बिहीबार दिक्तेलमा आयोजित कार्यक्रममा जिल्लास्थित जेन–जी तथा युवाले गरेको प्रश्नमा उनले समाजवाद उन्मुख आर्थिक प्रणाली नभएकाले नेपालको विकास हुन नसकेको बताए । भू–राजनीतिक अवस्थाका साथै पुँजीवादी आर्थिक प्रणालीले चाहेजस्तो विकास हुन नसकेकाले नेपाल र नेपालीको उन्नतिका लागि समाजवाद उन्मुख आर्थिक प्रणाली आवश्यक भएको उनको भनाइ थियो । 'नेपालमा कृषि उपज उत्पादन गर्ने कृषक उत्पादन गर्नुपर्नेमा कृषि कर्मचारी उत्पादन गरेकाले भनेजस्तो विकास हुन सकेन,' उनले भने ।
युवालाई स्वदेशमै रोजगार सिर्जना गर्ने, अन्य रोजगारी दिने शिक्षा नीति निर्माण गर्ने, स्वास्थ्यमा सहज पहुँच विस्तार गर्ने नीतिगत परिवर्तन गर्नुपर्ने भएकाले त्यसका लागि आफू योग्य भएको रोकाले दाबी गरे । ‘नेपालको शिक्षा प्रणाली कृषि उपज उत्पादन गर्ने कृषक उत्पादन गर्न पर्थ्यो तर कृषि कर्मचारी मात्र उत्पादन गर्यौं,’ उनले भने, ‘त्यसैले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, स्वास्थ्यमा सबैको सहज पहुाच विस्तार गर्ने नीतिगत परिर्वतन गर्नु पर्ने भएकाले यसका लागि मेरो उम्मेदवारी हो ।’
पछिल्लो समय बसाइँसराइले गाउँ रित्तो भएको र त्यसलाई रोक्नका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने नीति निर्माण गर्नुपर्ने रोकाको भनाइ छ ।
