प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई जनाबीच झन्डै २ घण्टा कुराकानी

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Karki and UML Chairman Oli

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे भेटमा दुई जनाबीच झन्डै २ घण्टा कुराकानी भएको हो ।

पूर्वप्रधानमन्त्री ओली बिहीबार बिहान ९ बजे प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

कार्कीसँगको भेटमा ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत् रहेको भनी चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको र अब सुरक्षामा कुनै कमीकमजोरी नहुने भएकाले ढुक्क भएर निर्वाचनमा लाग्न आग्रह गरिन् ।

प्रधानमन्त्रीलाई भेट्न ओलीसँग एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए । 

वर्तमान सरकारले गर्ने निर्वाचन निश्पक्ष हुनेमा प्रश्न उठाएका ओलीले निर्वाचन सार्ने विषयमा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिबारे पनि चासो राखेका थिए । 

जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा दोस्रो चरण गर्ने बताएकी थिइन् ।

यसअघि प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच २४ पुसमा भेटवार्ता भएको थियो । 

कान्तिपुर

Link copied successfully