कमला पुल हुँदै कुलमानको चुनावी यात्रा

घिसिङले १४ वर्षदेखि अलपत्र रहँदै आएकाे ४६९ मिटर लम्बाइको कमला पुल (सिरहा र धनुषा जोड्ने) को अवलोकन गरेका थिए ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Kulman's election journey via Kamala Bridge

सिरहा — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिरहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निक्लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका निवर्तमानमन्त्री घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवतजावतको व्यवस्था गरिएको स्थलबाट नदी पार गरी सिराहातर्फ लागेका हुन् ।

पार्टीका नेता, कार्यकर्ता र स्थानीयले उनलाई कमला पुलमा स्वागत गरेका थिए । तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत सिरहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएसँगै वर्षौँदेखिको नागरिक समस्या अन्त्यतर्फ उन्मुख भएको छ ।

१४ वर्षसम्म पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए भने सवारीसाधनले लामो वैकल्पिक रुट प्रयोग गर्दै आएका थिए । भौतिकमन्त्री रहेका बेला गत ५ मंसिरमा घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए ।

पुल नबन्दा स्थानीयले भाेगेकाे पीडा र जोखिम प्रत्यक्ष देखेपछि उनले समस्या समाधानका लागि नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिई अस्थायी डाइभर्सन निर्माणको प्रक्रिया अगाडि बढाएका थिए । घिसिङले अस्थायी व्यवस्था भए पनि कमला नदी पार गर्न सकिँदा खुसी व्यक्त गरेका छन् ।

साथै, १४ वर्षदेखि निर्माणाधीन रहेको ४६९ मिटर लम्बाइको कमला पुलको भइरहेको बाँकी कामको पनि उनले अवलोकन गरेका थिए । भ्रमणको क्रममा उनले धनुषा, सिरहा र सप्तरी जिल्लाका पार्टी उम्मेदवार, कार्यकर्ता र मतदातासँग भेटघाटको कार्यक्रम रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully