जनताबाट अपदस्त भइसकेकालाई गाली गर्दिनँ : लामिछाने

'आफ्ना मात्रै कुरा गरेर हुँदैन, सिंगो देशले पाएको दुःख अगाडि मेरो दुःखको हिसाब छैन ।'

माघ २२, २०८२

कान्तिपुर संवाददाता

I will not criticize those who have been ousted by the people: Lamichhane

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशले पाएको दुःखका अगाडि आफूले पाएका दुःख गौण भएको बताएका छन् । बिहीबार चितवन-२ स्थित आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्र पुगेका लामिछानेले उक्त अभिव्यक्ति दिएका हुन् । 

पुराना राजनीतिक दलका नेताहरूलाई गाली नगर्ने पनि लामिछानेको भनाइ छ । आफूले धेरै दुःख पाए पनि चितवनका जनताले रास्वपालाई साथ दिएको उनको भनाइ थियो । 'अब आफ्ना मात्रै कुरा गरेर हुँदैन, सिंगो देशले पाएको दुःख अगाडि मेरो दुःखको हिसाब छैन,' लामिछानले भने, 'पीडा धेरै भएर चिच्याएछु, अय्या भनेछु भने सुनिदिनुहोला नत्र म आफ्ना पीडाको कुरा गर्दिनँ । हामीले पाएका सामूहिक पीडाको कुरा गर्नेछु । आजबाट देशको पीडाको कुरा गर्नेछु ।'

विपक्षी राजनीतिक दलका नेताहरूको आलोचना गर्ने पक्षमा आफू नरहेको लामिछानेको भनाइ थियो । 'म कुनै राजनीतिक दल या अमूक नेतालाई गाली गर्ने पक्षमा छैन । नेपाली जनताले अपदस्त गरिसकेपछि अपदस्त भइसकेकाहरूलाई मैले गाली गर्नै पर्दैन,' लामिछानेले भने । 

चितवनले नेपालमा निलो क्रान्तिको बिउ रोपेको लामिछानेको भनाइ थियो । मतपत्रबाट नेपाली जनताको भाग्य र भविष्य कोर्ने कामको सुरुवात चितवनबाट भएको उनको भनाइ छ ।    

कान्तिपुर

Link copied successfully