चौथो संसदीय यात्राको दाउमा महेन्द्रबहादुर शाही, चुनौती दिँदै कांग्रेस, एमाले र रास्वपा उम्मेदवार ।
What you should know
सुर्खेत/कालीकोट — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खड्गबहादुर विश्वकर्मा १८ वर्षपछि पुनः ‘व्यालेट’ यात्रामा फर्किएका छन् । महेन्द्रबहादुर शाही चौथोपल्ट संसदीय यात्राको दाउमा छन् । तर उनीहरूलाई नेपाली कांग्रेसका हर्षबहादुर बम र एमालेका नगिन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेलगायतले चुनौती दिँदैछन् ।
पूर्व माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा कालीकोट–१ बाट २७ हजार ६ सय २९ मत ल्याएर विजयी भए- विश्वकर्मा । उनी २०६५ सालमा महिला, बालबालिका तथा समाज कल्याण र ०६७ मा पर्यटन तथा नागरीक उड्डयनमन्त्रीसमेत बने । तर पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०६९ असारमा पूर्वमाओवादी विभाजन भयो । विभाजनपछि विश्वकर्मा मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीतिर लागे ।
संविधानसभाको दोस्रो निर्वाचन २०७० मा उक्त पार्टीले निर्वाचन बहिष्कार गरेपछि विश्वकर्माको संसदीय यात्रा टुंगियो । लगत्तै २०७१ मंसिरमा वैद्य समूह पनि फुटेपछि विश्वकर्मा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ता बने । उक्त पार्टीले यसबीचमा भएका सबै निर्वाचन बहिष्कार गर्यो ।
विश्वकर्माले पार्टी छोडेपछि दोस्रो संविधानसभा निर्वाचनमा पूर्वमाओवादीबाट महेन्द्रबहादुर शाही विजयी भए । उनी ऊर्जामन्त्रीसमेत बने । शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा १ (१) बाट १२ हजार १ सय ५३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै कर्णालीको पहिलो मुख्यमन्त्री बने । त्यसबेला पूर्वमाओवादी र एमालेबीच गठबन्धन थियो । फेरि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २३ हजार ७ सय २७ मतसहित विजयी भए । त्यसबेला भने कांग्रेस र पूर्वमाओवादीले गठबन्धन गरेका थिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विश्वकर्मा १८ वर्षपछि पुनः ‘व्यालेट’ यात्रामा फर्किएका छन् भने शाही चौथोपल्ट संसदीय यात्राको दाउमा छन् । तर उनीहरूलाई नेपाली कांग्रेसका हर्षबहादुर बम र एमालेका नगिन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेलगायतले चुनौती दिँदैछन् ।
यो निर्वाचनमा महेन्द्र, खड्गबहादुर, स्वतन्त्रबाट उम्मेदवारी दिएका रास्कोटका मानबहादुर तिरुवा र नरहरिनाथका अस्मिन विष्टसहित चार जना उम्मेदवार पूर्वमाओवादी पृष्ठभूमिका छन् । जसका कारण चुनाव रोचक बनेको छ । सुरुमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संयोजक पुष्पकमल दाहालको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा एकल सिफारिस गरेको थियो । तर उनले रुकुम पूर्व रोजेपछि पार्टीले ११ जनालाई सिफारिस गर्यो । अन्ततः शाहीले नै टिकट पाए ।
एमाले उम्मेदवार शाही गत निर्वाचनमा नेकपा उम्मेदवार शाहीसँग पराजित भएका थिए । उनले १६ हजार ७ सय १८ मतमा चित्त बुझाए । रास्कोट–५ का स्थायी बासिन्दा शाही एमालेका पूर्वजिल्ला अध्यक्ष हुन् भने एघारौं महाधिवेशनमा दोस्रोपल्ट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलगायतका विकासलाई प्राथमिकतामा राखेको र संसद्भित्र नीति निर्माण तथा कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्ने उनले बताए । ‘जिल्लाका सबैखाले समस्याप्रति संघीय सरकारको ध्यानाकर्षण गराउन जरुरी छ,’ उनले भने, ‘जिल्लाको समृद्धि र सुखारी कालीकोटवासी मेरो मूल एजेण्डा हो ।’
बम नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति हुन् । उनले दलित, जनजातिलगायत पिछडिएको समुदायमैत्री कानुन निर्माणमा जोड दिने र जिल्लालाई विकासको मूलधारमा ल्याउने आफ्नो एजेण्डा रहेको उनले बताए । लामो समयदेखि बन्द रहेको सुनथराली विमानस्थलमा नियमित उडान, कर्णाली करिडोरको स्तरोन्नति, फुकोट–कर्णाली जलविद्युत् आयोजनालगायतको पूर्वाधार निर्माणमा आफ्नो पहल हुने उनको भनाइ छ । ‘नागरिकका न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्ने र युवालाई रोजगारी दिने पनि मेरा प्राथमिता हुन्,’ उनले भने, ‘जिल्लामा खानेपानी र सिँचाइको समस्या गम्भीर छ, कृषि व्यवसायमार्फत किसानलाई आत्मनिर्भर बनाउन पनि मेरो पहल हुनेछ ।’
रास्वपाले उम्मेदवार बनाएका न्यौपाने चार्टर एकाउण्टेन्ट (सीए) अध्धयरत छन् । युवापुस्ताको मत आफूले तान्ने उनको दावी छ । उनले जनताको आवश्यकता, विकास र सुशासनलाई आफूले प्रमुख एजेन्डा बनाएको बताए । ‘रैथाने उत्पादनको प्रवर्द्धन, पर्यटकीय क्षेत्र, स्वास्थ्य, कृषिको उत्पादन र आत्मनिर्भर बनाउने योजनासहित आएको छु,’ उनले भने, ‘जनतामैत्री कानुन र जनपक्षीय एजेण्डासहित देशव्यापी रूपमा हामी चुनावी मैदानमा आएका छौ, जनताले विकल्प खोजेकाले यसपालि हाम्रो विजय सुनिश्चित छ ।’
सबै पार्टीहरूमा देखिएको आन्तरिक विवाद, पुरानै उम्मेदवार छनोट र मतदाताको फेरिएको मनोवृत्तिले परिणाम फेरबदल हुने नागरिक अगुवा दमनराज बम बताउँछन् । मानव विकास सूचचांकमा कर्णालीमा सबैभन्दा कमजोर रहेको कालीकोट अझै पनि विकासको मूलधारमा आउन नसकेको उनको भनाइ छ । ‘अधिकांश बासिन्दालाई आफ्नो उत्पादनले ६ महिना पनि खान पुग्दैन, बेरोजगारी समस्या बिकराल हुँदा जीविकोपार्जनका लागि भारतमा मजदुरी गर्न जानुपर्ने अधिकांशको बाध्यता छ,’ उनले भने, ‘उम्मेदवारले जितेर गएपछि चुनावको बेला ल्याएका एजेण्डा पूरा नगर्दा पनि बहुसंख्यक बासिन्दा सरकारी सेवाप्रवाह र विकासबाट वञ्चित छन् ।’
यसपल्ट कुनै पार्टीबीच गठबन्धन नभएकाले यस निर्वाचनबाट पार्टीहरूको वास्तविक अवस्था देखिने स्थानीय विज्ञ लीलाराम न्यौपानेले बताए । ‘उम्मेदवारले विगतमा गरेका काम र भविष्यका लागि उनीहरूको एजेण्डा हेरेर मतदाताले सबैभन्दा सक्षम व्यक्तिलाई मतदान गर्न जरुरी छ,’ उनले भने, ‘अहिले जनता धेरै बाठा भइसकेका छन्, त्यसैले आफूले जिताएका जनप्रतिनिधिले प्रतिबद्धताअनुसार काम गरे कि गरेनन् भनेर खबरदारी गर्न जरुरी छ ।’
८४ हजार ६ सय ४६ मतदाता रहेको कालिकोटमा धेरै दलित समुदायको भोट छ । जहाँ २९ दशमलव १५ प्रतिशत दलित समुदायको बसोबास रहेको राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक छ । दलित समुदायको भोट पनि यो निर्वाचनमा निर्णायक हुने नागरिक अगुवा हरिलाल विश्वकर्माले बताए ।
प्रदेशसभा निर्वाचन–२०७९ मा निर्वाचन क्षेत्र नं. १(१) बाट नेकपाका दुर्गबहादुर रावत ९ हजार १४ र १(२) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट १३ हजार ७ सय ८३ मतसहित विजयी भएका थिए । ९ वटा स्थानीय तह रहेको कालीकोटमा गत स्थानीय तह निर्वाचनमा खाडाचक्र नगर प्रमुख र सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष गरी दुई जना स्वतन्त्रबाट विजयी भएका थिए । खाडाचक्र नगर प्रमुख कमलबहादुर शाही र सान्नीत्रिवेणीका अध्यक्ष मोहनबहादुर केसी दुवै हाल नेपाली कम्युनिष्ट पार्टीमा छन् । त्यस्तै कांग्रेसले एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष गरी तीन, नेकपाले नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी १०, एमालेले एक उपप्रमुख र दुई उपाध्यक्ष गरी तीन जना उम्मेदवार विजयी गराएको थियो । अधिकांश स्थानीय तहमा मिश्रित नतिजा आएको थियो ।
नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शाहीले आफूले कार्यकाल पूरा गर्न नपाएकाले अधुरा एजेण्डा पनि कार्यान्वयन गर्न बाँकी रहेको बताए । ‘यहाँका सबैखाले समस्याप्रति म जानकार छु नै, धेरै काम पनि मेरै कार्यकालमा पूरा भएका छन्,’ उनले भने, ‘असन्तुलित विकासका कारण जनता आधारभूत आवश्यक्ताबाट वञ्चित छन्, जनतालाई अधिकार सम्पन्न बनाउने र मतदातालाई सबै सरकारी सेवाप्रवाह उपलब्ध गराउन पनि मैले फेरि उम्मेदवारी दिएको हुँ ।’ विश्वकर्माले सहिदका सपना पूरा गर्न र कालीकोटको समृद्धिका लागि राष्ट्रियस्तरमा पहल लिन, संविधानमा रहेका अपूरा र अधुरा सवाललाई पूर्णता दिएर जनपक्षीय कानुन बनाउन आफ्नो उम्मेदवारी रहेको जानकारी दिए ।
