प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको ७२ लाख ६० हजार मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

7.26 million ballot papers from 60 constituencies have been printed in the direct election process.

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । हालसम्म ६० निर्वाचन क्षेत्रको ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।

छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बताए ।

कर्णाली र सुदूरपश्चिम (एकाध जिल्ला बाहेक) प्रदेशको मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ । समानुपातिकतर्फको दुई करोड चार लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो । 

उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । मतपत्र माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला, जिल्ला पठाउने गरी आयोगले तयारी गरिरहेको छ । निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरेको छ । 

विभिन्न किसिमका निर्वाचन सामग्री भने आयोगले नै खरिद गरेर जिल्ला, जिल्ला पठाउन लागेको हो । सडक पुगेको उच्च पहाडी र हिमाली जिल्लामा ट्रक र उच्च हिमाली जिल्लामा हेलिकप्टरका माध्यमबाट मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गरिने आयोगका सहायक प्रवक्ता जीसीले बताए ।

२०७९ को निर्वाचनमा खरिद गरी बाँकी रहेका निर्वाचन सामग्री भने आयोगले काठमाडौँ वरिपरि एवं नजिक, नजिकका जिल्लामा पठाइएको जनाएको छ । सेतो कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री यसअघिको निर्वाचनमै खरिद गरी बाँकी रहेको थियो ।

दिनमा १३ लाख हाराहारीमा मतपत्रको छपाइ भइरहेको आयोगले जनाएको छ । ११ फागुनसम्ममा छापिसकेपछि भोलिपल्टबाटै मतपत्र ढुवानी प्रारम्भ हुने आयोगले जनाएको छ । ढुवानीका लागि आयोगले टेन्डर प्रक्रियामार्फत कम्पनी छान्दै छ । समानुपातिक र प्रत्यक्षको मतपत्र एकैसाथ पठाउने तयारी छ । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, मनाङ र मुस्ताङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र ढुवानी गरिनेछ ।

कान्तिपुर

Link copied successfully