चितवन–२ का मतदाताको माग : भरपर्दो बाटो र धारामा पानी

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत १७ किलोबाट उकालो यात्रा गरेर कमलपुर पुगिन्छ । राजमार्गबाट पाँच किलोमिटरको दूरीमा कमलपुर गाउँ छ ।

माघ २१, २०८२

रमेशकुमार पौडेल

Chitwan-2 voters demand: Reliable roads and running water

What you should know

चितवन — भरतपुर–२९ स्थित पहाडी गाउँ कमलपुरबारे धेरैलाई जानकारी छैन । २०२० सालबाट यहाँ बसोबास थालेकी ८१ वर्षीया पार्वती गुरुङले त्यतिबेला सुरक्षित ठानेर यो बस्ती रोजेको सुनाइन् । ‘औलो लाग्छ भनेर नारायणगढतिर नझेरेरै पहाडमा बसियो,’ उनले भनिन्, ‘यहाँ आउँदा नारायणगढ ढड्डीघारी थियो ।’

औलो, हैजा र अनेक रोग लाग्ने डरले पहाडमै बसेको उनले बताइन् । ‘अहिले कमलपुर सुनसान छ,’ उनले भनिन्, ‘नारायणगढ सहर भयो ।’ 

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत १७ किलोबाट उकालो यात्रा गरेर कमलपुर पुगिन्छ । गाउँसम्म पुग्ने बाटो भरपर्दो छैन । ‘बर्खा लागे बाटो ठप्प हुन्छ । हिउँदमा काम चलाउ हुन्छ,’ उनले भनिन्, ‘बर्खामा पनि गाडी चल्ने बाटो भैदिए छोरा–नातिलाई राम्रो हुन्थ्यो ।’

राजमार्गबाट पाँच किलोमिटर टाढा थुम्कोमा कमलपुर स्कुल छ । पाँच कक्षासम्म पढाइ हुने यो विद्यालय २०२८ सालमा स्थापना भएको हो । विद्यालयमा जम्मा २२ छात्रछात्रा छन् । विद्यालयको आडैमा कमलपुर गाउँ छ । गाउँमा सुविस्ता नभएपछि अलिक धन हुने मुग्लिन–नारायणगढ खण्डको जुगेडी बजार गएर बसोबास गरिरहेका छन् । कोही डेरामै भए पनि नारायणगढ र भरतपुरमा बसेका छन् । सानोतिनो भए पनि काम मिल्ने भएकाले बजार झर्ने क्रम बढेको कमलपुर टोल विकास समितिका अध्यक्ष सुकबहदुर गुरुङले बताए । 

कमलपुर गाउँको शिरदेखि पुछारसम्म ७७ घर छन् । ‘तर घरमा वृद्धवृद्धा मात्र बस्छन्,’ उनले भने, ‘बच्चाबच्ची पढाउन धेरै परिवार बजार झरेका छन् । त्यसैले गाउँको स्कुलमा विद्यार्थी कम भए ।’ 

विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद पौडेलले १२ चेपाङ, तीन जना दलित समुदाय र अरु गुरुङ विद्यार्थी रहेको बताए । ठाडै उकालो भएकाले गाउँ उक्लिन सजिलो छैन । मोटरसाइकल र अटो रिक्सासम्म चल्छन् । नियमित गाडी चल्दैनन् । रिजर्भ गरेर अटो रिक्सा मगाउनुपर्छ । धेरै सामान ओसार्नु परेमात्र जीप र ट्रयाक्टर पुग्छन् । ‘स्थानीय सरकारको बजेटले काम गरेकाले यत्तिको सुविधा भएको हो,’ टोल विकास अध्यक्ष गुरुङले भने । 

कमलपुर स्कुल नपुग्दै बीचमा ‘दुई घरे’ गाउँ छ । यहाँ चेपाङका पाँच र गुरुङका तीन घर छन् । गाउँमा बिजुली पुगेको छ । दुईघरेका चेपाङ परिवार बिजुली बाल्दैनन् । ‘बत्ती बाले पैसा तिर्नु पर्छ । कमाइ नभएपछि कहाँबाट पैसा तिर्नू ?,’ दुईघरेकी ७३ वर्षीया फूलमति चेपाङले भनिन् । उनका अनुसार पुरानो गाउँ भएकाले अझै पनि असुविधा छन् । ‘पहिले त खोलाको पानी खानु पर्थ्यो,’ उनले भनिन्, ‘गाडी चढ्न राजमार्ग झर्नु पर्दथ्यो । पहिलाको भन्दा अहिले राम्रो हुँदै आएको छ । घर छेउमै बाटो पुगेको छ ।’ 

पहिला कोही बिरामी परे अस्पताल पुर्‍याउनै धौ हुन्थ्यो । अहिले गाउँबाट अटोमा अस्पताल पुगिन्छ । एक महिनाअघि भरतपुरमा आफन्त बिरामी भएर भेट्न जाँदा अटो रिक्सा भाडा १२ सय रुपैयाँ तिरेको उनले सुनाइन् । तर, पैसा अभाव हुँदा रिक्सा चढ्ने ल्याकत पनि स्थानीयसित छैन । उनको घरदेखि पश्चिम सुकमाया चेपाङको घर । घरछेउ बिजुलीको पोल छ, तर तार जडान गरिएको छैन । सुकमायाको भन्दा सय मिटर पश्चिम पाखोमा देउबहादुर चेपाङको घर छ । वरपरका घर जस्ताले छाए पनि उनको खरको छानो छ । 

दैलोमा ढोका छैन । मंगलबार दिउँसो उनको घर सुनसान थियो । देउबहादुर घाँस दाउरा खोज्न जंगल गएकाले जनावर नपसून् भनेर प्लास्टिकको गुन्द्री ढोकामा झुण्ड्याएको फूलमतीले बताइन् । ‘हाम्रो घरमा मिटर जडान भएको छ, यहींबाट तार लगेर बाल्न भने पनि मान्दैनन्,’ दुइ घरेकी यमकुमारी गुरुङले भनिन्, ‘पैसा तिरेर बाल्न सकिँदैन भन्छन् ।’ मोबाइल फोन भने आफ्नो घरमा आएर चार्ज गर्ने गरेको उनले बताइन् । 

‘बल्ल चुनावको जानकारी’

आफन्त भेट्न केही दिनअघि भरतपुर झरेका बेलामा यमकुमारीले चुनाव लागेको जानकारी पाएको बताइन् । ‘गाउँमा चहलपहल छैन,’ उनले भनिन्, ‘भोट हाल्न जुगेडी पुग्नु पर्दछ । गाडी चल्दैन । हिँडेर जाँदा चार घण्टा लाग्छ ।’ 

स्थानीय इन्द्रकुमारी चेपाङले ०७९ मा पहिलो पटक भोट हालेकी थिइन् । २१ वर्षीया शर्मिला चेपाङले भर्खर नागरिकता बनाइन् । ‘सुत्केरी हुँदा नागरिकता चाहिन सक्छ भनेर गत मंसिरमा बनाएकी हुँ,’ शर्मिलाले भनिन्, ‘पुसमा बच्चा जन्मियो । मतदाता नामावलीमा नाम छ/छैन जानकारी छैन ।’ कमलपुर गाउँ तत्कालीन कविलास गाविसअन्तर्गत थियो । ०७३ मा कविलासलाई भरतपुर महानगरपालिकामा समेटिएको हो । 

‘महानगर हुनुभन्दा १२/१३ वर्ष पहिल्यै बिजलुी पुगेको हो । अढाइ वर्ष भयो बाटो केही सुधार भएको छ,’ टोल विकास समिति अध्यक्ष गुरुङले भने, ‘यसलाई बर्खामा पनि गाडी चल्ने बनाउन सके बल्ल ढुक्क हुन्थ्यो ।’ खानेपानी प्रबन्ध नहुँदा खोलाबाट गाग्रीमा बोकेर खाएको उनले सुनाए । भूकम्पपछि मुहान सुक्दा थप सकस भएको थियो । ‘डेढ वर्ष भयो, अहिले कमलपुरको स्कुल आडका घरघरमा धारामा पानी आइरहेको छ,’ उनले भने, ‘तर मुहान टाढा छ । सधैं यसरी पानी खान पाइन्छ भन्ने ढुक्क छैन ।’ 

दुई सय मतदाता भएको गाउँमा चुनाव आएपछि उम्मेदवार पुग्छन् । गाउँ उक्लिँदा बाटो र पानीको समस्यासँग उम्मेदवार पनि परिचित हुन्छन् । ‘बाटो राम्रो होस्, खानेपानी भरपर्दो होस् भन्ने हाम्रो माग छ,’ कमलपुरकी पार्वती गुरुङले भनिन्, ‘बाटो र पानी भए मान्छे गाउँ छाडेर बसाइँ जाँदैनन् ।’ कुनै बेला गुरुङको बारीमै ६ मुरी तोरी फल्थ्यो । अहिले गाउँमा मान्छे नहुँदा घरमा प्रयोग हुने तेलका लागि मात्र तोरी छर्दै आएको उनले बताइन् । पार्वतीले फागुनमा चुनाव हुने भन्ने जानकारी पाएकी छन् । अहिलेसम्मको चुनावमा सधैं मत हाल्दै आएकी उनलाई यस पटक पनि भोट हाल्नु पर्छ भन्ने लागेको छ । ‘बुढाबुढी सधैं साथ लागेर भोट हाल्न जान्थ्यौं । बुढाले सास छँदासम्म साथ नछाड्नु भन्थे,’ उनले भनिन्, ‘बुढा बितेको पाँच वर्ष भयो । बानी लागेका कारणले भोट हाल्न मन लाग्छ । तर अब त हिँडेर जान सक्दिनँ होला ।’ 

चितवन–२ मा कुल १ लाख ३७ हजार १ सय ५२ मतदाता रहेका छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully