ललितपुर-१ : माल्टावासी भन्छन्- ‘बाटो र बत्ती पुग्दैमा मान्छे गाउँमा नबस्दो रैछ’

ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये भूगोलका हिसाबले सबैभन्दा ठूलो क्षेत्र ललितपुर–१ हो । दक्षिण ललितपुरका प्रायः सबै पहाडी भूभाग समेटिएको यो क्षेत्र भौगोलिक रूपमा विकट मात्र होइन, विकासका दृष्टिले पनि चुनौतीपूर्ण मानिन्छ ।

माघ १९, २०८२

होम कार्की

Lalitpur-1: Malta residents say - 'People are not living in villages despite the availability of roads and electricity'

What you should know

काठमाडौँ — ५३ वर्षीय लालबहादुर तामाङ नियमित माल्टा बस्दैनन् । पछिल्लो समय नेपाली युवा पुस्तामाझ माल्टा लोकप्रिय छ । तर यो ललितपुरको माल्टा भने होइन, यो झन्डै पौने ६ लाख जनसंख्या भएको युरोपेली टापु देश हो । जहाँको प्रतिव्यक्ति आय नै ४३ हजार अमेरिकी डलरभन्दा बढी रहेको छ ।

लालबहादुरको गाउँ भने ललितपुरको माल्टा हो । बागमती गाउँपालिका-२ मा पर्ने माल्टा ललितपुरको दक्षिण पश्चिममा अवस्थित छ । जुन भट्टेडाँडासँग जोडिएको महाभारत शृंखलाले छुन्छ ।

माल्टा नाम रहनुको पछाडि दुईवटा किंवदन्ती छ । पहिले यहाँ प्रशस्त खुर्सानी फल्थ्यो । नेवार समुदायले खुर्सानीलाई मल्ता भन्ने गर्छन् । त्यसैले मल्ताबाट माल्टा बनेको किंवदन्तीसमेत रहेको छ । त्यस्तै कुनै बेला मकवानपुरको व्यापारिक केन्द्र रहेको भीमफेदीबाट ललितपुर, काभ्रे र सिन्धुलीका केही भागमा व्यापारका लागि उपभोग्य सामान ओसारपसार गर्दा सुरक्षित तरिकाले मालताल राख्ने ठाउँ थियो । मालताल राख्ने ठाउँबाट माल्टा रहन गएको भन्ने बुझाइ छ ।

लालबहादुर अहिले गोदावरी ६ र ७ को बीचमा पर्ने जग्गा भाडामा लिई अस्थायी टिनको टहरा बनाएर बसिरहेका छन् । वर्षमा १५ हजार रुपैयाँ भाडा बुझाउने गरी उनले दुई रोपनीको भिरालो जग्गा भाडामा लिएका हुन् । शनिबार उनी घर अगाडि हरियो बाँस चिर्दै थिए । जस्ताले घरेर बनाएको दुई कोठे घरको ढोका फेर्न उनलाई हतार थियो । ‘यति भएपछि टीकाभैरव बजारमा झर्नुपरेन । डाँडामै बस्न पाइएको छ । नत्र हामीले टीकाभैरव बजारमा हरेक महिनैपिच्छे भाडा कहाँबाट बुझाउने ?,’ उनले भने,‘यो घर पनि जेठी छोरीले बनाइदिएको हो ।’

उनका चार छोरी छन्, तीन जनै विदेशमा छन् । ‘जेठी कतार  बस्न थालेको ७ वर्ष भइसक्यो । माइली र साइँली दुबईतिर छन् । उनीहरूको विवाह भइसक्यो । उनीहरूको काँधमा आफ्नै परिवारको जिम्मेवारी छ । हामीलाई पनि परेको बेला हेर्छन्,’ उनले भने,‘साइँली छोरी दोहोरी साँझमा काम गर्छिन् । ऊ पनि बाहिर जान पैसा बचाउँदै छ ।’

Lalitpur-1: Malta residents say - 'People are not living in villages despite the availability of roads and electricity'लालबहादुर माल्टामा पहिलेजस्तो दु:ख नभए पनि गाउँ भने खाली भइरहेको दु:खेसो पोख्छन् । माल्टा तामाङबहुल गाउँ हो । पहिलेभन्दा धेरै फेरिएको पनि छ । सडक पुगेको छ, बिजुली बत्ती पनि बल्छ । ‘पहिलाको भन्दा त धेरै राम्रो भयो,’ लालबहादुर भन्छन्, ‘गाउँमा बाटो र बत्ती पुग्दैमा मान्छे नबस्दो रहेछ । रोजगारी छैन । गाउँमा टिक्ने आधार छैन । त्यसैले गाउँ खाली हुँदै गइरहेको छ ।’

टीकाभैरवबाट माल्टाको दूरी झन्डै २५ किलोमिटर रहेको छ । माल्टामा करिब १ हजार ९ सय मतदाता रहेका छन् । चारैतिर पहाडले घेरिएको माल्टा सानो उपत्यकाझैं देखिन्छ । लालबहादुरलाई बाँस चिर्न सघाइरहेका चन्द्रबहादुर तामाङ पनि जीविका चलाउनै 'सहर' छिरेको बताउँछन् । चन्द्रबहादुर पनि ९ वर्षसम्म क्रसरमा काम गरे । राति पाले बस्थे, दिनभर ढुंगा फुटाउँथे । ‘काम गरे पैसा आउँथ्यो, नगरे आँउदैनथ्यो,’ उनी भन्छन्,‘अहिले त भेटे काम गर्ने, नभेटे बस्ने । कहिले दाउरा चिर्ने, कहिले ढुंगा फोर्ने । काम गरेको दिनको ज्याला एक हजार रुपैयाँ छ, तर हरेक दिन काम पाइँदैन ।’

ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये भूगोलका हिसाबले सबैभन्दा ठूलो क्षेत्र ललितपुर–१ हो । दक्षिण ललितपुरका प्रायः सबै पहाडी भूभाग समेटिएको यो क्षेत्र भौगोलिक रूपमा विकट मात्र होइन, विकासका दृष्टिले पनि चुनौतीपूर्ण मानिन्छ ।

Lalitpur-1: Malta residents say - 'People are not living in villages despite the availability of roads and electricity'ललितपुरको–१ नम्बर क्षेत्रमा ७७ हजार ७ सय ३७ जना मतदाता रहेका छन् । यो निर्वाचनमा क्षेत्रमा बागमती गाउँपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका (१२ र १४ वडा बाहेक) पर्छन् । ललितपुर-१ का मुख्य ठाउँहरू आश्राङ, गोदामचौर, दमाईटार, टौखेल, गोदावारी, किटिनी, लेले, टीकाभैरव, डुकुछाप, छम्पी, चापागाँउ, माल्टा, ठूलादुर्लुङ, झरुवारासी, भट्टेडाँडा, प्युटार, इकुडोल, गिम्दी, गोटीखेल, मानिचौर, भारदेउ, बुखेलका मतादाताले निर्वाचनलाई प्रभाव बनाउँछ ।

यसपटक ललितपुर-१ मा स्वतन्त्रसहित २८ उम्मेदवार मैदानमा उत्रिएका छन् । जसमध्ये ६४ सालयता भएका प्रत्येक संसदीय निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री उदयशमशेर जबरा(५६) फेरि मैदानमा छन् । उनी पाँचौँ पटक संसदीय चुनावमा प्रतिस्पर्धामा उत्रिएका हुन् । ललितपुर-१ मा राणाका प्रतिस्पर्धीहरू हुन्, एमालेबाट चेतनाथ सञ्जेल(६०), नेकपाबाट सुनील महर्जन(५०) र रास्वपाका बुद्धरत्न महर्जन (४७) । चारै जना यस क्षेत्रका स्थानीय हुन् ।

त्यस्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको तर्फबाट पदमकुमार लामा, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गौतम थापालाई उठाएको छ । त्यस्तै जनता समाजवादी पार्टी, नेपालले महाविर स्याङतान तामाङ, नेपाल मजदुर किसान पार्टीले सरिता गोसाई, प्रगतिशील लोकतान्त्रिक पार्टीले रोहितकुमार बास्तोलालाई उठाएको छ । त्यस्तै राप्रपाले लगनखेलकी ३५ वर्षीया सजिना कार्की रहेकी छिन् । 

Lalitpur-1: Malta residents say - 'People are not living in villages despite the availability of roads and electricity'कोन्ज्योसोम गाउँपालिका–३, दलचौकीका कृष्णबहादुर नगरकोटी  चुनावप्रति चासै दिन रुचाउँदैनन् । ‘चुनाव आँउदा नेताहरू नमस्कार गर्न आइपुग्छन् । जितेपछि कोही फर्केर मुख देखाउन आउँदैनन् । अब त भोटै नहालौं जस्तो लाग्न थालेको छ,’ उनी भन्छन्,‘अहिले त मान्छेले वास्तै गर्दैनन् । पहिला जस्तो होइन, सबै उदास भइसके । जो आए पनि हामीलाई केही भएको छैन ।’

कोन्ज्योसोम-३ मा ५ सय घरधुरी रहेको छ । गाउँमा आधारभूत पूर्वाधारमै समस्या रहेको छ । ‘बिजुलीका पोल छैनन्, रुख–रुखमा तार छ । मोटरबाटोमा हिँड्न मुस्किल छ । गाडी त परै जाओस् । पहिरोको नियन्त्रण छैन । नेताहरू नजितुन्जेल त त्यो गर्छु, यो गर्छु भन्छन् । आइसकेपछि जस्ताको तस्तै,’ स्थानीय वेदनाथ तिमल्सिना भन्छन्,‘गाँउमा गाडी गइराख्दैन । जसलाई चाहिन्छ, उसले गाडी लैजानुपर्छ । एउटा बिहान र बेलुका शंखुसम्म एउटा बस चल्छ ।’

ठाँउठाँउमा खानेपानी अभाव छ । ‘२० किलोमिटर टाढाबाट पानी आउँछ । पैसा तिर्नुपर्छ । मिटर प्रणाली छ । बत्तीको बेहाल छ । बिजुलीको तार भुइँमा लत्रिएको छ । त्यसलाई छोइयो भने के गर्ने ?,’ नगरकोटीले भने,‘धेरै नसके पनि थोरै त गरिदिनुपर्‍यो नि । अर्काको घरबाट तार टाँगेर बत्ती बाल्नु परेको छ ।  मलाई धेरै नै रिस उठेको छ ।’

Lalitpur-1: Malta residents say - 'People are not living in villages despite the availability of roads and electricity'चुनाव नजिकिँदै गर्दा उम्मेदवार भने घरदैलोमा पुगेका छन् । शनिवार बिहान गोदावरी-९ छम्पी पुगेका नेता–कार्यकर्तालाई ८० वर्षीय मीना खड्काले लालपुर्जा मागेकी थिइन् । उनी बसेको घरको लालपुर्जा छैन । ‘म यो ठाउँमा बसेको ४०–५० वर्ष भइसक्यो । जसले पनि लालपुर्जा दिलाइदिन्छौँ भनेर जान्छन् । मेरो यही एउटा छाप्रो हो । लालपुर्जा बनाइदेऊ भनेर कति पटक वडामा गइसकेँ । केही भएन,’ उनले भनिन्,‘जीवन नै दु:खै दु:खमा बित्ने भयो ।’ भोट माग्न आउने सबैलाई उनको एउटै जवाफ छ, ‘जसले बास टिकाइदिन्छ, दु:खीलाई हेर्छ, उसैलाई भोट हाल्छु ।’

के भन्छन् उम्मेदवार ?

रास्वपा उम्मेदवार बुद्धरत्न महर्जन आफूहरू नयाँ भएकोले विश्वास गर्न मतदातालाई अनुरोध गरिरहेका छन् । बीए पास बुद्धरत्न भन्छन्, ‘म बोल्न जान्ने नेता होइन । काम गर्न सक्ने नेता बनेर देखाउन चाहन्छु,’ उनी भन्छन् । अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवारले ३२ सय ७७ मत पाएका थिए ।

Lalitpur-1: Malta residents say - 'People are not living in villages despite the availability of roads and electricity'कांग्रेस उम्मेदवार राणा भने अधुरा कामलाई सम्पन्न पार्न फेरि मतदातामाझ पुगेको बताइरहेका छन् । यसअघि प्रतिस्पर्धा गरेको चार वटा संसदीय निर्वाचनमध्ये ०६९ र ७९ को चुनावमा मात्रै जितेका हुन् । उनी पहिलो संविधानसभा चुनावमा पराजित भएका थिए । तरुण दलको अध्यक्ष रहेकै बखत दोस्रो संविधानसभा निर्वाचनमा उनी विपक्षीलाई झन्डै आठ हजार मतान्तरले हराउँदै विजयी भएका थिए ।

०७४ मा नेकपा एमाले र माओवादीबीचको वाम गठबन्धनका उम्मेदवार नवराज सिलवालसँग ६ हजारको अन्तरले पराजित भएका थिए । उनले यसको बदला सिलवालसँग ०७९ निर्वाचनमा लिए । त्यसमा राणाले ४ हजार ६ सयको अन्तरमा सिलवाललाई हराएका थिए । उनले २३ हजार ८ सय ९२ मत पाँउदा नेकपा एमालेका सिलवाल १९ हजार २७८ मतमा सीमित हुन पुगेका थिए ।

‘राजनीति मेरा लागि पद होइन, सेवा हो । विगतमा म विजयी हुँदा होस् या पराजित, म सधैं तपाईंहरूकै सुख–दुःखमा सँगै रहेको कुरा अवगतै छ,’ सहमहामन्त्री राणाले भने,‘मैले सुरु गरेका विकासका कयौं योजनाहरूलाई पूर्णता दिनु र यस क्षेत्रलाई अझै समृद्ध बनाउनु मेरो मुख्य लक्ष्य हो। केही काम सम्पन्न भएका छन्, केही अधुरा छन् । ती अधुरा कामहरूलाई सम्पन्न पार्न फेरि माया, आशीर्वाद र सहयोगको आवश्यक छ ।’

Lalitpur-1: Malta residents say - 'People are not living in villages despite the availability of roads and electricity'एमालेका सञ्जेल ०७४ का प्रदेश सांसदमा निर्वाचित भएका थिए । सञ्जेल आफ्नो क्षेत्रका पुराना स्थापित नेता हुन् । उनले दक्षिण ललितपुरको स्थायी लाइफलाइनका रूपमा रहेका सडक, अस्पताल, पर्यटन जस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताए । ‘मैले किसान, पर्यटन, खानेपानी र युवाको रोजगारीलाई प्राथमिकता दिई सुरु गरेको अभियानलाई पूरा गर्न हामीलाई जनताले चाहेका छन्,’ उनले भने,‘मेरो मुख्य प्रतिस्पर्धी छ जस्तै लाग्दैन ।’ नेकपाका सुनील महर्जन पनि चुनावी मैदानमा छन् । उनी घरदैलो अभियानमा व्यस्त छन् । 

यस्तो छ गत चुनावको अंकगणित

जेन-जी आन्दोलन र राजनीतिक समीकरण फेरिएकाले पनि ०७९ को चुनावी नतिजाअनुसार अहिले आकलन गर्न सकिने अवस्था नरहेको मतदाता बताउँछन् । गत निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।

Lalitpur-1: Malta residents say - 'People are not living in villages despite the availability of roads and electricity'गएको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस पहिलो हो भने एमाले दोस्रो दल हो । कांग्रेसले १६ हजार ३ सय ५२ मत पाउँदा एमालेले १५ हजार ५ सय ८ पाएको थियो ।  तेस्रो स्थानमा रहेको रास्वपाले ६ हजार ८ सय ३८ र तत्कालीन माओवादी केन्द्रले ५ हजार ६ सय ७४ मत पाएका थिए ।

छम्पी–९, गोदावरीका दीपक नेपाली नागरिकलाई सुकुम्बासी नबनाउने न्यायोचित बिकास पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य शिक्षाको नीति बनाउनेलाई छनोट गर्नुपर्ने बताउँछन् । ‘विकासको नाममा आएको योजनाले हामीलाई सुकुम्बासी बनाउँछ कि भन्ने चिन्ताले छाएको छ ।

मापदण्डबिना ६२ मिटर चौडा सडक चाहियो,’ भनेर हल्ला चलाइएको छ,’ उनले भने,‘बाटो नबनाऊ भनेको होइन । तर भित्री सडक ६२ मिटर चौडाइ सोच्दै नसोचेको कुरा हो । मुआब्जा, वैकल्पिक जग्गा र स्पष्ट मापदण्डबिना अघि बढ्नु अन्याय हुन्छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully