कपिलवस्तु–२ मा संघीय मन्त्री भइसकेका सुरेन्द्रराज आचार्य र बृजेशकुमार गुप्ता चुनावी मैदानमा उत्रिएका छन् भने कपिलवस्तु–३ मा संघीय राज्यमन्त्री भइसकेका वीरेन्द्रकुमार कानोडिया र ईश्वरदयाल मिश्र प्रतिस्पर्धामा छन् ।
What you should know
कपिलवस्तु — पटक–पटक मन्त्री भइसकेका जिल्लाका तीनमध्ये दुई निर्वाचन क्षेत्रका चार जना उम्मेदवार अहिले मतदाता फकाउन सक्रिय देखिएका छन् । जिल्लामा नयाँ दलका उम्मेदवारले फरक प्रचार शैली अपनाएपछि पटक–पटक निर्वाचित भएर मन्त्री बनिसकेकाहरूलाई यसपटक प्रतिष्ठा जोगाउने चुनौती छ ।
जिल्लाका दुई क्षेत्रबाट चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये तीन पुराना दलबाट उम्मेदवार बनेका हुन् । एक जना नयाँ दलबाट उम्मेदवार बनेर घरदैलोमा पुगिरहेका छन् । यसपटक पहिलेजस्तो मतदाताबीच पार्टी प्रवेशको लहर देखिँदैन । बरु प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्री नै दल बदलेर उम्मेदवार बनेका हुन् । दल बदलीले असन्तुष्टि बढे पनि चुनावी माहोल प्रतिस्पर्धात्मक बन्दै गएको छ । जसले गर्दा सहरभन्दा गाउँमा रौनक छ ।
कपिलवस्तु–२ मा संघीय मन्त्री भइसकेका सुरेन्द्रराज आचार्य र बृजेशकुमार गुप्ताबीच विरासत जोगाउने होड छ । आचार्य कांग्रेस र गुप्ता नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् । यी दुईबीचको प्रतिस्पर्धाले निर्वाचन रोचक बनाएको छ । दुवै जना ०७४ बाट मुख्य प्रतिस्पर्धी बन्दै आएका छन् । ०७४ मा एमालेको सूर्य चिह्नबाट निर्वाचन लडेका गुप्ता ३५ हजार १ सय ४७ मत पाएर विजयी भएका थिए । निकटमत् प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६ मत पाएका थिए ।
०७९ को संसदीय निर्वाचनमा आचार्यले गुप्तालाई ३ सय १७ मतान्तरले पराजित गरे । आचार्यले ३९ हजार १४ मत प्राप्त गर्दा गुप्ताले ३८ हजार ६ सय ९७ मत पाएका थिए । ०५६ मा राप्रपाबाट राजनीति सुरु गरेका गुप्ता दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहको अध्यक्षतामा ०६१ मा गठन भएको मन्त्रिपरिषद्मा गुप्ता राज्यमन्त्री बनेका थिए । त्यसपछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ०६८ कार्तिकदेखि ०६९ वैशाखसम्म कानुन तथा न्याय मन्त्री भएका थिए ।
गुप्ता राप्रपाबाट तमलोपा, एमाले हुँदै अहिले नेपाली कम्युनिस्ट पार्टीमा पुगेका छन् । ०७० मा संविधानसभा सदस्य निर्वाचित आचार्य ०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिमण्डलमा सिंचाइ राज्यमन्त्री भएका थिए । दाहाल नेतृत्वको सरकारमा ०८० वैशाख २४ मा दोस्रोपटक आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका थिए । उनी ०८१ असारसम्म मन्त्री थिए । गुप्ता पाँचौं पटक जितको माला पहिरिने दाउमा छन् भने आचार्य तेस्रो जितको खोजीमा छन् ।
कपिलवस्तु–२, बगर्दवाका ५५ वर्षीय गुप्तासँग बुद्धभूमि–३, रनगाईका ६७ वर्षीय आचार्य प्रतिस्पर्धामा छन् । सदरमुकाम तौलिहवा समेटिने भएकाले यस क्षेत्रको चुनावमा धेरैको चासो हुने गरेको छ ।
यसै गरी, कपिलवस्तु–३ मा संघीय राज्यमन्त्री भइसकेका दुई प्रतिस्पर्धीबीच मतदाता रिझाउने होड छ । १० वर्षको अन्तरालमा मन्त्री बनेका वीरेन्द्रकुमार कानोडिया र ईश्वरदयाल मिश्र प्रतिस्पर्धामा छन् । ०५८ मा शेरबहादर देउवा नेतृत्वको सरकारमा जलस्रोत राज्यमन्त्री बनेका कानोडिया र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका मिश्रबीच लडाइँ छ । ०६४ मा तत्कालीन कपिलवस्तु–४ बाट संविधानसभा सदस्यका लागि प्रतिस्पर्धा भएको थियो । उनीहरू दोस्रो पटक भिड्दै छन् । ०६४ मा मिश्र विजयी भएका थिए । दुवै जना अहिले पार्टी परिवर्तन गरेर उम्मेदवार बनेका छन् ।
तमलोपाबाट संविधानसभा सदस्य बनेका मिश्र त्यसअघि ०४९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । ०७० मा एमालेको सूर्य चिह्न लिएर र ०७४ मा जनता प्रगतिशील पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका थिए । यसपालि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (चकिया) बाट चुनावमा उत्रिएका छन् ।
कांग्रेसबाट तत्कालीन जिल्ला विकास उपसभापति, संविधान सभा सदस्य र लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित कानोडिया अहिले एमालेबाट उम्मेदवार बनेका छन् । गत माघ ६ गते उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिनअघि मात्रै उनी एमाले प्रवेश गरेका थिए । महाराजगन्ज–७, गगौडाका ५९ वर्षीय मिश्र र कृष्णनगर–२, कृष्णनगर बजारका ६६ वर्षीय कानोडियाबीच रोचक प्रतिस्पर्धा छ ।
