झापा-५ मा अरुलाई सघाउँदैनौं, हामीले नै योग्य उम्मेदवार उठाएका छौं : लिङ्देन

उनले यो क्षेत्रमा आफ्नो पार्टीले योग्य उम्मेदवार उठाएको र त्यसका लागि तीन वर्षअघिदेखि नै तयारी चलेको समेत खुलाए।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

We are not helping others in Jhapa-5, we have selected qualified candidates ourselves: Lingden

What you should know

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक आफ्नो पार्टीले कुनै पनि पार्टीसँग तालमेल नगरेको र अन्य कुनै पनि पार्टीका उम्मेदवारलाई नसघाउने बताएका छन्। 

विशेषगरि झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग हुन्छ कि हुँदैन भन्ने कान्तिपुरको जिज्ञासामा उनले यसपाली कसैलाई पनि यो क्षेत्रमा राप्रपाले नसघाउने प्रष्ट पारेका हुन्। 

‘सघाउने नै हो भने एकले अर्कालाई सिट खाली गरेर सघाउने हो,’ लिङ्देनले भने, ‘अरू प्रकारले सघाउने कुरा भएन ।’

उनले यो क्षेत्रमा आफ्नो पार्टीले योग्य उम्मेदवार उठाएको र त्यसका लागि तीन वर्षअघिदेखि नै तयारी चलेको समेत खुलाए। ‘झापा-५ मा हामीसँग भएकामध्ये योग्य उम्मेदवार लक्ष्मी संग्रौलालाई उठाएका छौं,’ लिङ्देनले भने, ‘यो तीन वर्ष उहाँले तयारी गर्नुभएको थियो र उहाँलाई तयार गरिराखेका थियौं । उहाँ उठ्नुभएको छ । हाम्रो राम्रो उपस्थिति भएको ठाउँ हो।’

२०७४ र २०७९ को प्रतिनिधि सभाको चुनावमा एमाले र राप्रपाले झापा लगायतका केही क्षेत्रमा तालमेल गरेका थिए। राप्रपाले ओलीलाई झापा-५ मा सघाएको थियो भने एमालेले झापा-३ मा लिङ्देनलाई साथ दिएको थियो। त्यसो हुँदा दुवै जनाले जित्दै आएका थिए। 

यसपटक झापा-५ मा काठमाडौँका पूर्व मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेवार बनेका छन्। यसले ओलीमाथि चुनौती थपिने विश्लेषण भइरहेका बेला उनले आफ्नो निर्वाचन क्षेत्र दकममै राप्रपाका मेयर रहेका राम थापालाई भेटेका थिए।

लिङ्देनले भने कसैले व्यक्तिगतरुपमा भेट्दैमा पार्टीले सहयोग गरेको अर्थ नलाग्ने जिकिर दाबी गरे। ‘उहाँहरूसँग भेट्दाखेरि नबोल्ने, कुरा नगर्ने, हात नमिलाउने भन्ने त हुँदैन,’ उनले भने, ‘रवि–बालेनहरूसँग पनि भेट नहुने भन्ने हुँदैन । त्यतिबेलाका फोटो राखेर सघाउने भयो, कुरा मिलिसक्यो भन्नुको अर्थ हुँदैन । सहयोगको निर्णय भयो भने त वक्तव्य आउँछ, पत्रकार सम्मेलन नै भइहाल्छ नि ।’

अनि, लिङ्देन झापा–३ मा यसपाली आफूले पनि एमालेको सहयोगबिना नै जित्ने दाबी गर्छन्। ‘यस पटक देशैभर सबै दलहरू एक्लै चुनाव लडिराखेका छन् , राप्रपा पनि एक्लै चुनाव लडिराखेको छ,’ उनी भन्छन्, ‘मैले त २०७९ को चुनाव सकिनेबित्तिकै सार्वजनिक रूपमा पनि र आफ्नो पार्टी पंक्तिमा पनि भनेको थिएँ, सकेसम्म राप्रपा देशभर नै कसैसँग पनि तालमेल नगरीकन चुनाव लड्ने गरी तयारी गरेर जानुपर्छ । विशेष गरेर झापा-३ मा पार्टीको अध्यक्ष अब कसैसँग तालमेल नगरीकन एक्लै चुनाव जितेर आउँछ । कसैसँग गठबन्धन गर्दैन ।’

२०७९ को चुनावमा राप्रपाले एमालेसँग तालमेल गरेर झपा-३ अनि, एक्लै लडेर जुम्ला, रुपन्देही, चितवन, मकवानपुर लगायतका जिल्लामा जितेको थियो। 

यसपाली देशभर एक्लै चुनाव लड्दा कति सिट आउला भन्ने प्रश्नमा लिङ्देन भन्छन्, ‘राप्रपाले विगतमा भन्दा धेरै राम्रो उपस्थिति जनाउनेछ । चुनावमा कतिपय ठाउँमा अप्रत्याशित र अकल्पनीय परिणाम ल्याउँछ। 

पढ्नुहोस् लिङ्देनसँगको विशेष अन्तर्वार्ता 
कुनै पार्टीले एक्लै बहुमत ल्याउने भनेर धक्कु लगाउनु अन्यथा हुन्छ

कान्तिपुर

Link copied successfully