अर्धसैन्य फोर्स बनाउने होडबाजीले शान्ति सुरक्षामा चुनौती बढाउने सुरक्षाविद्को भनाइ
What you should know
काठमाडौँ — एमाले र नेपाली कम्युनिस्ट पार्टी युवा दस्ता बनाउने होडमा छन् । जेन-जी आन्दोलनपछि एमालेले नेसनल भोलेन्टियर्स फोर्स बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले ६ मंसिरमा फार्सको घोषणा गरे ।
पार्टीको नीति, नेता र समाजको सुरक्षा गर्ने भन्दै फोर्स गठन गरेको एमालेको दाबी छ । आइतबार मात्र एमालेले मधेश प्रदेशस्तरीय फार्सको गठन गरेको छ । बर्दिबासमा भेला गरी उसले फोर्सको गठन गरेको हो । यसलाई देशव्यापी बनाउने एमालेको निर्णयमा छ ।
आइतबार नै नेकपाले वाईसीएललाई ‘अर्धसैन्य’ दस्ता बनाउने निर्णय गरेको छ । संयोजक पुष्पकमल दाहालले सम्बोधन गरेको वाईसीएल केन्द्रीय समितिले निर्वाचनमा आफ्ना उम्मेदवारको सुरक्षा गर्ने भन्दै अर्धसैन्य दस्ता बनाएको जनाएको छ ।
२०६३ मा शान्ति प्रक्रियामा आएपछि माओवादीले योङ कम्युनिस्ट लिग (वाईसीएल) गठन गरेपछि दलहरुले युवा दस्ता बनाउन सुरु गरे । वाईसीएलले कानुन हातमा लिएर व्यवसायी, सर्वसाधारणलाई कारबाही गर्न थालेपछि त्यसको चर्को विरोध भएको थियो । त्यसको विरुद्धमा एमालेले युथ फोर्स गठन गरी प्रतिवादमा उत्रियो ।
त्यसबेला सिन्धुलीलगायत केही जिल्लामा वाईसीएल र युथ फोर्सबीच झडप भएको थियो । यी दुई फोर्सको आलोचना भएपछि अर्धसैन्य दस्तालाई सामान्य संगठनमा परिणत गरेका थिए ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एस.टि.एफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए । ‘निर्वाचन केन्द्रित वाईसीएल दस्ता क्याम्प बनाएर बस्नेछ,’ उनले भने, ‘अर्धसैन्य दस्ताले उम्मेदवार र मतदाताको सुरक्षा गर्ने छ । निर्वाचनमा हुने आर्थिक चलखेल नियन्त्रण गर्न गतिविधि गर्नेछ ।’
अन्तरपार्टी युवा, विद्यार्थी र जेन-जी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशहरूमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए ।
'एक वुथ सय युथ' सबै वुथ केन्द्रमा खटाइने, सामाजिक संजालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ ।
‘हामीसँगै तालिम प्राप्त वाईसीएलका सदस्य छन् । हाम्रो दस्तासँग कुनै हतियार हुँदैन । हामी निर्वाचनमा सुरक्षा निकायलाई सयोग गर्नेछौं,’ उनले भने, ‘तर हाम्रो पार्टीमा आइलागे जाइलाग्ने छौं ।’
एमालेले आइतबार नेशनल भोलिन्टियर फोर्स मधेस प्रदेशस्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा कार्यक्रम गरेको छ ।
मधेशमा नवराज बस्नेत युनिफाइड प्रमुख कमाण्डर भएको ४९ सदस्यीय कमाण्ड कमिटी गठन, १३६ पालिकामा नगर प्रमुख कमाण्ड घोषणा गरेको एमालेले जनाएको छ ।
मंसिर ६ मा एमालेले पुष्पराज श्रेष्ठलाई केन्द्रीय कमाण्ड बनाई नेशनल भोलिन्टियर फोर्स गठन गरेको थियो । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले नेशनल भोलिन्टियर्स फोर्सले लोकतन्त्र, कानुनी शासन, संविधानको दायरामा रहेर गतिविधि गर्ने बताए । ‘नेशनल भोलिन्टियर्स फोर्स कानुनी दायरामा रहेर काम गर्छ,’ उनले भने, ‘कानुनलाई कार्यान्वयन गर्न सघाउँछ ।’
फोर्सको घोषणा गर्दै अध्यक्ष ओलीले पार्टी, नेतृत्व, नेता, कार्यकर्ता र सर्वसाधारणका लागि काम गर्ने बताएका थिए ।
दलहरुले अर्धसैन्य फोर्स बनाउने होडबाजीले शान्ति सुरक्षामा चुनौती बढाउने सुरक्षाविद्को भनाइ छ । निर्वाचनको मुखमा अर्धसैन्य दस्ता गठन गर्दा त्यसले समाजमा त्रासको वातावरण ल्याउने सुरक्षाविद् बिनोज बस्न्यातले बताए ।
‘राष्ट्रिय सुरक्षा कायम गर्न सघाउने दलहरुको मुख्य भूमिका हुन्छ । तर अर्धसैन्य दस्ता गठन गर्दा सुरक्षा चुनौती थपिन सक्छ,’ उनले भने, ‘जिम्मेवार राजनीतिक दलले सरकारलाई सघाउनुको सट्टा, दस्ता गठन गर्दा समाजमा त्रास थपिन्छ ।’
दलहरुले पार्टी स्वार्थका लागि अर्धसैन्य दस्ता बनाएर शिविरमै बस्न थालेपछि अपारदर्शी गतिविधि हुने उनको भनाइ छ । ‘दलहरुले दस्ता बनाएपछि स्रोत, साधनको व्यस्था गर्नुपर्छ । त्यो कहाँबाट आउँछ ?,’ उनले भने, ‘अर्धसैन्य दस्ता के का लागि ? अर्को दललाई आशंका हुन सक्छ ।’
उनले दलका दस्ताहरुबीच भिडन्त हुने जोखिम र त्यसले निर्वाचनमा नकारात्मक असर गर्ने बताए । ‘निर्वाचनमा संगठित दस्ताबीच भिडन्त हुने जोखिम रहन्छ,’ उनले थपे, ‘त्यसले निर्वाचनको वातावरणमा नकारात्मक असर पर्न सक्छ ।’
