संखुवासभामा नयाँ अनुहार तर मतदाता आकर्षित गर्ने एजेण्डा सबैका उस्तै उस्तै

मतदाता नयाँ अनुहारको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा चोकचोक र चियापसलदेखि सामाजिक सञ्जालसम्म छलफलमा जुटिरहेका भेटिन्छन् ।

माघ १८, २०८२

दीपेन्द्र शाक्य

New faces in Sankhuwasabha, but everyone's agenda to attract voters is the same

What you should know

संखुवासभा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा संखुवासभामा चुनावी सरगर्मी दिनानुदिन बढ्दै गएको छ । यसपटकको निर्वाचनमा १५ राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेका कुनै पनि अनुहार नदोहोरिँदा यसपटकको चुनावलाई ‘नयाँ अनुहारको चुनाव’का रूपमा हेरिएको छ । यसले मतदातामा नयाँ अपेक्षा, उत्सुकता र चासो पनि थपेको छ । 

नयाँ उम्मेदवारहरू परिवर्तन, विकास र सुशासनको नारासहित चुनावी मैदानमा उत्रिएका छन् । ठूला दलदेखि साना दलसम्मका उम्मेदवारले पर्यटन विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना र पारदर्शी शासन व्यवस्थालाई प्रमुख चुनावी प्रतिबद्धता बनाएका छन् ।  एजेण्डा प्रायः उस्तै उस्तै देखिए पनि कसले व्यवहारमा विश्वास जित्न सक्छ भन्ने विषय मतदाताको मुख्य चासो बनेको छ । 

हिमाली भेगदेखि मध्यपहाडी क्षेत्रसम्म फैलिएको संखुवासभा प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक सम्पन्नताले भरिपूर्ण जिल्ला हो । यहाँका बासिन्दाको जीवनशैली परिश्रममा आधारित छ । अधिकांश नागरिक कृषि, पशुपालन, जडीबुटी संकलन, व्यापार तथा वैदेशिक रोजगारीमा निर्भर छन् । अरुण, तमोर र सभाखोलाजस्ता नदीहरूले सिँचाइ र जलविद्युत्को ठूलो सम्भावना बोकेका छन् । तर पर्याप्त पूर्वाधार र दीर्घकालीन योजनाको अभावमा जिल्लाको समग्र विकासले गति लिन सकेको छैन ।

उम्मेदवारहरूले संखुवासभाको जीवनशैली सुधार गर्ने बाचा गरिरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठ पर्यटन क्षेत्रमा मकालु–बरुण राष्ट्रिय निकुञ्ज, धार्मिक स्थलहरू, पदमार्ग र साहसिक पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँछन् । जलविद्युत् आयोजना स्थानीयको हितमा सञ्चालन गरी रोजगारी सिर्जना गर्ने, युवालाई जिल्लामै अवसर प्रदान गर्ने र वैदेशिक पलायन रोक्ने कुरा उम्मेदवारहरूको साझा प्रतिबद्धता बनेको उनले बताए । 

पूर्वाधारतर्फ ग्रामीण सडक स्तरोन्नति, सुरक्षित खानेपानी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने वाचा सबै उम्मेदवारका छन् । दुर्गम बस्तीका नागरिकलाई आधारभूत सेवा सुनिश्चित गर्न संघीय सरकारबाट पर्याप्त बजेट ल्याउने र त्यसको पारदर्शी उपयोग गर्ने आश्वासन पनि उम्मेदवारहरूले दिएका छन् । नेकपा एमालेका उम्मेदवार अर्जुन कार्कीले संखुवासभाको पर्यटनदेखि धार्मिक र जलश्रोतलाई भरपूर उपयोग गर्ने वाचा गरेका छन् । उनले आफूले जितेको खण्डमा संखुवासभाको विकासका लागि कहिल्यै पछि नहट्ने बताए । 

विश्वका हजारमाथिका १४ वटा हिमाल आरोहण गरेर राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङ्मा शेर्पा पर्यटन क्षेत्रलाई विश्वसामु चिनाएर पर्यटक भित्र्याउने बताउँछन् । उनले पर्यटनको यति धेरै संभावना रहेको संखुवासभामा पर्यटक भने न्यून आएको बताए । पर्यटन, जलविद्युत‍्लाई प्रयोग गरेर कोशी प्रदेशमा एक नम्बरको जिल्ला बनाउने उनले बताए । 

सरिता थापा महिला उम्मेदवार हुन् । उनीले कोशी प्रदेशको सांसद पदमा रहेर काम गरिसकेकी छिन् ।  'प्रदेशसभाको मेरो अनुभव छ,' उनले भनिन्, 'त्यही अनुभवलाई प्रयोग गरेर संखुवासभालाई विश्वसामु चिनाउने छु ।' सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली स्थापनामा काम गर्ने उनको भनाइ थियो । भ्रष्टाचार नियन्त्रण, जनताको सिधा पहुँच हुने प्रतिनिधि बन्ने र विकास योजनामा स्थानीयको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता उम्मेदवारले व्यक्त गरिरहेका छन् । 'जनताले दिएको मतको सम्मान गर्दै पाँच वर्ष जिम्मेवार प्रतिनिधिको भूमिका निर्वाह गर्छौं' भन्ने वाचा अधिकांश उम्मेदवारको मुखबाट सुनिन्छ ।

संखुवासभा प्राकृतिक स्रोतसाधनले सम्पन्न जिल्ला हो, खाँदबारीका मतदाता इन्द्रकिसान दाहाल भन्छन्, 'मकालु–बरुण क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान, विशाल जलविद्युत् सम्भावना, धार्मिक तथा सांस्कृतिक सम्पदा जिल्लाको ठूलो पूँजी हुन् । तर विडम्बना, यी सम्भावना दशकौँदेखि चुनावी भाषणमै सीमित हुँदै आएको छ,' उनले भने, 'सडक सञ्जाल अझै कमजोर छ, दुर्गम बस्तीका नागरिक आधारभूत स्वास्थ्य र शिक्षाबाट टाढा छन् र युवा रोजगारीको खोजीमा जिल्ला छोड्न बाध्य छन् ।' उनका अनुसरा यही यथार्थबीच उम्मेदवारले फेरि पनि 'संभावनाको सदुपयोग'को वाचा दोहोर्‍याइरहेका छन् ।

संखुवासभामा हाल १ लाख १९ हजार ६ सय ३० मतदाता छन् । मतदाता नयाँ अनुहारको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा चोकचोक र चियापसलदेखि सामाजिक सञ्जालसम्म छलफलमा जुटिरहेका छन् । धेरै उम्मेदवार र उस्तै उस्तै एजेण्डाबीच कसले व्यवहार, विश्वसनीयता र स्पष्ट योजनामार्फत मतदाताको विश्वास जित्ने हो भन्ने प्रश्नले संखुवासभाको चुनावी माहोललाई थप रोचक बनाएको छ ।

दीपेन्द्र

Link copied successfully