रास्वपाका हरिप्रसाद भुसालबाहेक कांग्रेसका विष्णुप्रसाद खनाल, एमालेका पीताम्बर भुसाल र नेकपाका रामबहादुर चौहान पहिलो पटक उम्मेदवार बनेका हुन् ।
What you should know
अर्घाखाँची — जिल्लामा विभिन्न दलका उम्मेदवार गाउँघर पुग्न थालेपछि यहाँ चुनावी पहलपहल बढ्न थालेको छ । अहिले उम्मेदवार र दलका अगुवालेे जिल्ला, पालिका र गाउँ तहका नेतृत्वसँग भेटघाट, छलफल र अन्तरक्रिया गरिरहेका छन् । नेता–कार्यकर्ताको ओहोरदोहोरले गाउँमा रौनक थपिएको छ ।
अर्घाखाँचीमा कांग्रेसका विष्णुप्रसाद खनाल, एमालेका पीताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रामबहादुर चौहान र रास्वपाका हरिप्रसाद भुसाल उम्मेदवार छन् ।
रास्वपाका भुसालबाहेक कांग्रेसका खनाल, एमालेका भुसाल र नेकपाका चौहान पहिलो पटक उम्मेदवार बनेका हुन् । रास्वपाका भुसाल ०७९ मा पनि उम्मेदवार थिए । यिनीहरूसँगै जिल्लामा तीन स्वतन्त्र र १२ जना दलबाट उम्मेदवार छन् ।
०७९ को मतपरिणाम अनुसार कांग्रेस र एमाले अगाडि देखिन्छन् । तर, पछिल्लो समय रास्वपा र नेकपाले पनि जनमत आफ्नो पक्षमा पार्न भरमग्दुर कोसिस गरिरहेका छन् । जिल्लामा एमाले जितलाई निरन्तरता दिने र कांग्रेस पुरानो विरासत फर्काउने कोसिसमा देखिन्छन् । ०५६ मा एमाले र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर जित प्राप्त गरेका थिए । ०७९ मा तत्कालीन माओवादी, एकीकृत समाजवादी, राजमोसहित पाँच दलीय गठबन्धन हुँदा समेत प्रतिनिधि र प्रदेशसभामा एमालेले जित निकालेको थियो । 
२०१५ सालमा कांग्रेसका सुवर्णशमशेर राणा र काशीनाथ गौतम यस क्षेत्रको भूगोलबाट निर्वाचत भएका थिए । उक्त जितपछि राणा नेपालको २० औं प्रधानमन्त्री भएका थिए । ०१६ सालमा बीपी कोइराला नेतृत्वको मन्त्रिमण्डलमा गौतम उद्योग मन्त्री भए । त्यसबेला अर्घाखाँची गुल्मी जिल्ला अन्तर्गत थियो । काठमाडौंका राणा अहिलेको अर्घाखाँचीको भूगोल क्षेत्र र पोखराथोकका गौतम मध्यपूर्वी क्षेत्रबाट निर्वाचित भएका थिए । विसं १८४३ मा नेपाल एकीकरणको सिलसिलामा अहिलेको अर्घाखाँचीको भूगोल तत्कालीन पाल्पा राज्यमा गाभिएको थियो । ०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि मात्रै अर्घाखाँची छुट्टै जिल्ला बनेको थियो ।
अर्घाखाँचीको भूगालेमा पाइला नटेकी राणाले चुनाव जितेका थिए । त्यतिबेला कांग्रेसका नेताले जिल्लाका मतदातालाई काठमाडौंमा रहेका राणाको फोटो देखाएर भोट मागेका थिए । प्रजातन्त्र बहालीपछि ०४८ को चुनावमा दुई निर्वाचन क्षेत्र कायम गरिएको थियो । त्यतिबेला अर्घाखाँची–१ बाट कांग्रेसका रेवतीप्रसाद भुसाल र २ बाट ढुण्डिराज शास्त्रीले चुनाव जितेका थिए । ०५१ मा पनि भुसाल र शास्त्री साबिककै निर्वाचन क्षेत्रबाट निर्वाचित भए । त्यसपछि शास्त्री उद्योग र भुसाल पर्यटन राज्य मन्त्री बनेका थिए । दुवै जना कांग्रेस केन्द्रीय सदस्य पनि बने । ०५६ को चुनावमा शास्त्री र भुसाल दुवैले टिकट पाएनन् । शास्त्रीको केही महिनाअघि निधन भइसकेको छ । 
०५६ मा अर्घाखाँची–१ मा कांग्रेसबाट डा. रामबहादुर बीसी र अर्घाखाँची–२ बाट पुष्पा भुसाल गौतमले टिकट पाए । उक्त चुनावमा एमाले र मसालबीच चुनावी गठबन्धन भयो । अर्घाखाँची–१ बाट मसालका डिलाराम आचार्य र अर्घाखाँची–२ बाट एमालेका डा. डिल्लीराज खनालले चुनाव जिते । ०६४ मा अर्घाखाँची–२ बाट कांग्रेसकी भुसालले चुनाव जितिन् । ०७९ मा तत्कालीन माओवादीसहित पाँच दलीय गठबन्धनको साथ हुँदा पनि समेत पुष्पा भुसाल पराजित भइन् ।
संघीय संरचनापछि एक निर्वाचन क्षेत्र कायम गरिएको अर्घाखाँचीमा ०७४ मा तत्कालीन माओवादी र ०७९ मा एमालेबाट टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । दुई वर्षयता रायमाझी भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि काठमाडौं डिल्लीबजार कारागारामा छन् । त्यसैले यसपटक उनी उम्मेदवार छैनन् । 
लगातार चारपटक चुनाव जितेर कांग्रेसलाई विरासत फर्काउनबाट रायमाझीले रोकेका थिए । अहिले एमालेका उम्मेदवार भुसाल पनि पार्टीको जितलाई निरन्तरता दिने दाबी गर्छन् । ०७४ मा तत्कालीन माओवादी र एमालेको चुनावी गठबन्धन बन्यो । संघमा माओवादीबाट रायमाझी र प्रदेशका दुवै सिट एमालेलाई गरी भागबन्डा भयो । अर्घाखाँची–१ (१) बाट चेतनारायण आचार्य र अर्घाखाँची–१ (२) बाट रामजीप्रसाद घिमिरे निर्वाचित भए । ०७९ मा पनि रायमाझी, आचार्य र घिमिरे निर्वाचित भए । आचार्य अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट केन्द्रीय सदस्य चौहान उम्मेदवार छन् । जिल्लामा लामो समय सामाजिक संघसंस्था, पत्रकारिता र राजनीतिमा सक्रिय चौहान प्रभावशाली नेता मानिन्छन् । एमालेका उम्मेदवार पीताम्बर र चौहान एउटै गाउँका हुन् । केन्द्रमा एमाले विभाजन हुनुअघि चौहान एमाले जिल्ला सचिव थिए ।
