सामाजिक सञ्जालमा देउवा अझै कांग्रेस सभापति

देउवाले गगनलाई अझै पार्टी सभापतिको रुपमा स्वीकार गर्न सकेका छैनन्। उनले चलाउने सामाजिक सञ्जालहरू फेसबुक र ‘एक्स’ को एकाउन्टमा सभापतिको हैसियत मेटाएका पनि छैनन् ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Deuba still the Congress President on social media

काठमाडौँ — अहिले नेपाली कांग्रेसका सभापति गगन थापा छन्। 

गत पुस २७–३० मा भएको विशेष महाधिवेशनले थापा नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेको थियो। यद्यपि, विशेष महाधिवेशनमा पुरानो संस्थापन पक्षको सहभागिता थिएन। 

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले त थापा पक्षलाई पार्टीबाट निस्काशन नै गरेको थियो। तर, निर्वाचन आयोगले भने थापा पक्षलाई नै मान्यता दियो। 

आयोगको निर्णयपछि चुनावमा टिकट पनि थापाले नै बाँडे। तर, देउवाले भने गगनलाई अझै पार्टी सभापतिको रुपमा स्वीकार गर्न सकेका छैनन्। 

उनले चलाउने सामाजिक सञ्जालहरू फेसबुक र ‘एक्स’ को एकाउन्टमा सभापतिको हैसियत मेटाएका पनि छैनन् ।

माघ ५ गते सोनाम ल्होसारको अवसरमा देउवाले सभापतिकै हैसियतमा शुभकामना दिएका थिए ।

हुन त देउवाले थापालाई कांग्रेस सभापतिको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई अदालतमा ‘च्यालेन्ज’ गरेका छन्।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनको पक्षबाट ४ माघमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसमा अदालतले अन्तरिम आदेश नदिई विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ । 

देउवाले आफू निकटका नेता तथा शुभचिन्तकलाई अदालतमा रहेको मुद्दालाई देखाएर कांग्रेसभित्रको अन्योल चाँडै हट्ने भन्दै ढाडस दिइरहेका छन् ।

नेपाली कांग्रेसको सभापतिबाट हट्न परेपछि देउवाको मनस्थितिबारे आजको कान्तिपुर दैनिकमा स्टोरी प्रकाशित छ। विस्तृत स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्।

कान्तिपुर

Link copied successfully