बैतडीमा विरासत जोगाउने र साख फर्काउने दाउमा उम्मेदवारहरु

यहाँ एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरु चुनावी मैदानमा छन् ।

माघ १७, २०८२

मोहन चन्द

Candidates in Baitadi vow to preserve legacy and restore credibility

What you should know

बैतडी — ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बैतडीमा कोही विरासत जोगाउने ध्यानमा छन् भने काेही विरासत भत्काउने दाउमा छन् ।

यहाँ एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरु चुनावी मैदानमा छन् । 

गत निर्वाचनमा ३३ हजार ६ सय ११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमाले नेता दामोदर भण्डारी चौथोपल्ट प्रतिस्पर्धामा उत्रिएका छन्। भण्डारीले २०७० सालको दोस्रो संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए । उनी एक पटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका छन्।

उनी गत भदाै २३ को जेन–जी आन्दोलनका बेला पनि उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री थिए। ‘बैतडीका माग, मुद्दा, विकास र समृद्धिका लक्ष्य पूरा गर्न स्पष्ट नीतिहरु लिएर फेरि पनि उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘जनताले दिएका केही कार्यभार पूरा गर्न अझै बाँकी छ ।’ उनी आफ्नो विरासत कायम राख्न चाहन्छन् भने अरू उम्मेदवार उनको विरासत भत्काउने गरी चुनावी अभियानमा जोडिएका छन् ।

भण्डारीसँग बैतडीमा अहिले सबै नयाँ अनुहार प्रतिस्पर्धामा छन् । कांग्रेसले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । 

चन्द र भण्डारीबीच पहिलोपल्ट चुनावी प्रतिस्पर्धा हुँदैछ। चन्द  दुई कार्यकाल क्यानको नेतृत्वमा रहेका चन्द शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । २०४७ मा नेविसंघबाट राजनीति सुरु गरेका चन्द शिक्षक संघ बैतडीको अध्यक्ष हुँदै कांग्रेस बैतडीका सभापति भएका हुन् । ‘जिल्लाको समग्र विकासका लागि आफुले उम्मेदवारी दिएको हुँ,’ चन्दले भने, ‘धेरै आश्वासन दिँदैन काम गरेर देखाउँछु ।’ क्यानको नेतृत्व गरेर नेपाली क्रिकेटलाई दिलाएको सफलता जस्तै राजनीतिबाट जिल्लाको समग्र क्षेत्र सफल बनाउने चन्दको दाबी छ । चन्द यसपाली कांग्रेसको पुरानाे साख फर्काउने दाउमा छन्।

त्यस्तै नपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वजिल्ला सभापति समेत रहेका परमानन्द भट्टलाई पहिलोपल्ट उम्मेदवार बनाएको छ। उनी तत्कालीन एकीकृत समाजवादीबाट आएका हुन् । भट्ट एमाले बैतडीका संस्थापक हुन्। उनी एमालेको नेतृत्वमा हुँदा अहिलेका एमाले उम्मेदवार दामोदर भण्डारी विद्यार्थी राजनीतिमा थिए। अहिलेको निर्वाचनमा उनै भट्ट भण्डारीको विरासत तोड्न प्रतिस्पर्धामा उत्रेका छन् । समग्र बैतडीको विकास निर्माणका लागि र जिल्लामा सुशासन कायम गर्न आफुले उम्मेदवारी दिएको भट्टको दाबी छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस परित्याग गरेका दुई पटक प्रदेशसभा सदस्यमा पराजित भएका हरिमोहन भण्डारीलाई उम्मेदवार बनाएको छ। नयाँ भिजन लिएर जिल्लाको समग्र विकासका लागि नयाँ शक्तिको रुपमा आफुले उम्मेदवारी दिएको भण्डारीकाे तर्क छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्दलगायत बैतडीमा ११ जनाले उम्मेदवारी दिएका छन् । 

तर अन्य पार्टीको संगठन खासै नभएकाले मुख्य चार पार्टीका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने नागरिक अगुवा बिरा भट्टले बताए । नेता हुनेले आफुले सक्ने जतिमात्र आश्वासन दिनुपर्ने उनले बताए । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully