मेरो उम्मेदवारी पुस्तान्तरणका लागि हो, अरू पार्टीका उम्मेदवार 'टेस्टेड' हुन् : बासना थापा
What you should know
सुर्खेत — नेपाली कांग्रेसले कर्णाली प्रदेशको दैलेख–१ मा महिला उम्मेदवार उठाएको छ । प्रदेशमै कांग्रेसबाट ४५ वर्षीया बासना थापा एकमात्र महिला उम्मेदवार हुन् ।
चुनावी राजनीतिका अनुभवीसित उनको यो पहिलो लडाइँ पनि हो । एमालेका रवीन्द्रराज शर्मा र नेकपाका अम्मरबहादुर थापासित उनको प्रतिस्पर्धा छ । शर्मा र थापासित चुनाव लडेको अनुभव छ । बासना यसपटक परीक्षण हुन लागेकी हुन् ।
शर्मा र थापा प्रतिनिधिसभा र प्रदेश सदस्यतर्फ निर्वाचनमा उम्मेदवार बनिसकेका व्यक्ति हुन् । कांग्रेसकी थापा पहिलोपटक उम्मेदवार बनेकी हुन् । एमाले र नेकपा उम्मेदवारद्वयको एउटै वडामा घर छ । दुवैसित यसअघि उम्मेदवार बनेर चुनाव जितेको अनुभव पनि छ ।
कांग्रेसकी थापा महाधिवेशन प्रतिनिधिसँगै सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति हुन् । ‘मेरो उम्मेदवारी पुस्तान्तरणका लागि हो, अरू पार्टीका उम्मेदवार टेस्टेड हुन्,’ उनले भनिन्, ‘पटक–पटक एउटै व्यक्तिले पद लिँदा मतदातामा वितृष्णा फैलिएको छ ।’ आफू युवापुस्ताको रोजाइमा परेको उम्मेदवार भएको उनले बताइन् ।
एमाले उम्मेदवार शर्मा ०४८ देखि संसदीय निर्वाचन लड्दै आएका व्यक्ति हुन् । उनी दुई पटक कांग्रेसका गणेशबहादुर खड्कासँग पराजित भए । ०५४ को स्थानीय निर्वाचनमा शर्मा नारायण नगरपालिकाको प्रमुख निर्वाचित भएका थिए । ०७४ को प्रतिनिधिसभा सदस्यमा यही क्षेत्रबाट जितेका थिए । नेकपाका उम्मेदवार थापा पनि ०७० मा दोस्रो संविधानसभा सदस्य निर्वाचित भएका थिए । ०७४ कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थापा यसपालि पुनः प्रतिनिधिसभा सदस्यमा भिडेका हुन् ।
पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका थापा ०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थिए । उक्त निर्वाचनमा एमालेका शर्मालाई ८ सय ५२ मतान्तरले पराजित गरेका थिए । थापा र शर्मा आफ्नो जितमा ढुक्क छन् । नेकपा उम्मेदवार थापाले यसअघि ०७४ को प्रदेशसभा सदस्यको कार्यकालमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हालेका थिए ।
एमालेका नेता नन्दकिशोर बस्नेत टिकट प्राप्त नगरेपछि यसपटक रास्वपाबाट उम्मेदवार बनेका छन् । त्यसैले शर्मालाई यसपटक आफ्नै पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । नेकपाका उम्मेदवार थापा गाउँघरमा नयाँ–पुराना भन्दा पनि जनताले काम गर्नेलाई भोट दिने बताउँछन् । ‘गाउँमा सुखदुःखमा साथ दिने मानिसको खोजी हुन्छ,’ उनले भने, ‘नयाँ–पुराना मानिसका नारा मात्र हुन् ।’
एमालेका शर्माले जनताले भोट हाल्ने भएकाले अहिले नै आफूले जित–हारको कुरा गरेर नहुने बताउँछन् । ‘जनाताले भोट हाल्ने हो, त्यो हाम्रो हातमा छैन,’ उनले भने, ‘हामीले मिहिनेत गर्ने हो, जिताउने हाराउने जनताको हातमा छ ।’ गठबन्धन भन्दा अलग–अलग चुनाव लड्न पाएकामा खुसी लागेको उनले बताए ।
०७९ को प्रतिनिधिसभाको समानुपातिक तर्फ एमालेले १६ हजार ३ सय १६ मत ल्याउँदा कांग्रेसले १५ हजार ८ सय ३७ मत पाएको थियो । माओवादीले २ हजार ६ सय ४५ र एकीकृत समाजवादीले ३ हजार १ सय ६७ मत ल्याएका थिए । त्यस्तै रास्वपाले ८ सय ८७ मत ल्याएको थियो । यस क्षेत्रका ६ स्थानीय तहमा ९७ हजार ७ सय १ मतदाता रहेका छन् ।
