रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ : एमाले महासचिव पोखरेल

रास्वपा र कांग्रेसबारे एमाले महासचिव शंकर पोखरेलले चुनावी विश्लेषण गरेका छन् । उनले दुवै दलका शक्ति र सीमाबारे आफ्नो विश्लेषण सुनाएका छन् ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

The initial enthusiasm of the Rashtriya Swayamsevak Sangh (RSS) is now weakening: UML General Secretary Pokharel

What you should know

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले काठमाडौंजस्ता प्रमुख शहरहरूमा रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको दाबी गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले तयार पारिरहेको घोषणापत्र, एमालेको चुनावी आँकलन र अन्य पार्टीहरूको अवस्थाबारे बताउँदै यस्तो टिप्पणी गरेका हुन्।

महासचिव पोखरेलले रास्वपाको जन्म र उदय मुख्यतः शहरी युवा, शिक्षित तथा मध्यम वर्गको असन्तुष्टिबाट भएको तर्क गर्दै बालेन्द्र साहको मेयर जित र रवि लामिछानेको लोकप्रियताले ठूलो प्रभाव पारेको बताए। उनले हाल सहकारी ठगीजस्ता मुद्दा, संगठनात्मक कमजोरी र युवा मत फरक दिशामा जाने सम्भावनाका कारण रास्वपाको शहरी मत घट्ने अनुमान पनि सुनाए। काठमाडौंमा रास्वपा अब प्रतिस्पर्धामा कमजोर छ वा छैन भन्ने विश्लेषण चलिरहेको पनि उनले बताए।

महासचिव पोखरेलले रास्वपाको प्रभाव शहरी क्षेत्रमा घटे पनि ग्रामीण क्षेत्रमा भने बढेको विश्लेषण पनि सुनाए। उनले रास्वपाले गाउँ–गाउँमा संगठन विस्तार गरेको, युवा तथा स्थानीय असन्तुष्टिमा ध्यान दिएको र जागरण फैलाएको बताए। उनले थपे, ‘मत प्रतिशतमा सुधार आउने सम्भावना छ। तर यो प्रभाव चुनाव जित्ने तहसम्म पुगेको छैन।’

यसको कारणबारे उनले संगठनात्मक कमजोरी, पुराना दलहरूको गहिरो जरा, स्थानीय नेटवर्कको अभाव र ग्रामीण मतदाताको परम्परागत बानीका कारण रास्वपालाई निर्णायक जित हासिल गर्न गाह्रो रहेको बताए।

महासचिव पोखरेलले रास्वपाबाहेक प्रतिस्पर्धी दल कांग्रेसबारे पनि आफ्नो धारणा सुनाए। उनले कांग्रेसलाई प्रचार कम भएकै कारण कमजोर ठान्नु नहुने बताउँदै कांग्रेसको तल्लो तहका कमिटीहरूमा बलियो आधार रहेको र ‘साइलेन्ट मतदाता’ (चुपचाप मत दिने, प्रचारमा नदेखिने तर निर्णायक हुने) को ठूलो हिस्सा कांग्रेसकै पक्षमा रहने अनुमान व्यक्त गरे। उनले शहरी क्षेत्रमा रास्वपा कमजोर हुँदा कांग्रेसले त्यसबाट फाइदा लिन सक्ने सम्भावना पनि औंल्याए।

कान्तिपुर

Link copied successfully